PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सीतासँग बिहे भएको रामको अयोध्या भारतमै छ : महन्त रामतपेश्वर दास



सुमित मिश्र

सीतासँग बिहे भएको रामको अयोध्या भारतमै छ : महन्त रामतपेश्वर दास

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालकै भूभाग रहेको टिप्पणी गरेपछि चर्को आलोचनासँगै यसबारे बहस शुरु भएको छ। प्रधानमन्त्री ओलीले अयोध्या वीरगंजभन्दा थोरै पश्चिम ठोरीमा रहेको भनेपछि संस्कृतिविद्का साथै आध्यात्मसम्बन्धी ज्ञान राख्ने व्यक्तिहरूले समेत उक्त भनाइप्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्री ओलीले सोमवार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो। प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिको कुनै आधार नरहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले टिप्पणी गरेका छन्। महन्त दासले त्रेतायुगदेखि नै अयोध्या भारतको उत्तर प्रदेशमा रहेको बताए।

माता सीतासँग बिहे भएको भगवान रामका पिता राजा दशरथको राजमहल युगौंंदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको महन्त दास बताउँछन्।

दास भन्छन्, ‘यो आजको कथा होइन त्रेतायुगको कुरा हो, कोसीदेखि नारायणीसम्मको भूभाग मिथिला रहेको धेरैजसो पुराणमा उल्लेखित छ, मिथिलाको केही भाग भारतमा पनि छ। यसैगरी नारायणी पश्चिमको भागलाई अबध भनिन्छ। र, अबधको केही भाग नेपालमा पनि छ तर वास्तविक अयोध्या भने भारतमै छ।’

‘अयोध्यामा राम जन्मभूमि छ, कनक दरबार पनि त्यहीं छ, सरयुग नदी त्यहीं बगेको छ, वास्तविक अयोध्या त्यही हो,’ महन्त दासले प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले भनेअनुसार वीरगंज पश्चिमको भूभागमा अयोध्या नरहेको महन्त दासले बताए। रामजानकी विवाहोत्सवको अवसरमा हरेक वर्ष अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको उनी बताउँछन्।

दासले भने, ‘रामजानकी विवाहोत्सवमा हरेक वर्ष भारतको अयोध्याबाट जन्ती आउने परम्परा कायम छ। वास्तविक अयोध्या त्यही हो।’

महन्त दास प्रश्न गर्छन्, ‘दुई चार जना पो पागल हुन सक्छन्, वर्षौंदेखि त्यो अयोध्यामा आउने लाखौं मानिस सबै पागल हुन् त? सरयुग नदीको छेउमा अयोध्या अवस्थित रहेको रामायणमा भनिएको छ, सरयुग नदी कसैले खनेर बनेको होइन। वर्षौसम्मको कानुनी लडाइँपछि त्यहाँ राम मन्दिर बनाइँदै छ, यी सब आधारले पनि वास्तविक अयोध्या भारतमै रहेको पुष्टि हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell