PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एकता महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष ओली नै : सुवास नेम्वाङ



एकता महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष ओली नै : सुवास नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र चर्किन थालेको विवादले असार १० गते यता चरम रुप लियो। पार्टीभित्र प्रधानमन्त्री केपी ओलीलाई कारवाही गरेर भए पनि हटाउनुपर्ने माग चर्को गरी उठ्यो। केही समय यता पार्टीभित्रको बहस नदेखिए पनि विवादले भुसको आगोको रुप लिन भने छाडेको छैन। 

यसपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल वारपारको मनस्थितिमा छन्। यद्यपि नेकपाका केही नेताहरु भने नेकपाभित्रको विवाद थामिएको आँकलन गर्न थालेका छन्। कार्यकर्ता तहमा जारी बहसले भने त्यस्तो संकेत गर्दैन।

दुई पार्टीको एकीकरणदेखि सक्रिय रहेका नेता सुवास नेम्वाङ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली निकट हुन्। सरकारलाई अप्ठेरो पर्दा ओली समूहमा काँध थाप्ने नेताका रुपमा चिनिन्छन् उनी। कानुनका जानकार तथा सभामुखको जिम्मेवारीसमेत सम्हालिसकेका उनी अहिले पनि पार्टीभित्रको समस्या समाधानका लागि सक्रिय रुपमा लागेका छन्। नेकपा संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङसँग यही सेरोफेरोमा रहेर प्रकाश भण्डारीकुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

स्थायी कमिटी एकाएक स्थगित भयो, नेकपाको विवाद अब समाधानोन्मुख हो?

स्थायी कमिटी बैठक बोलाइएको थियो। बैठकमा हामीले एजेण्डाहरु पनि तय गरेका थियौं। तर, पारित गरिएको र तय गरिएको कार्यसूचीबाट हटेर नयाँ छलफलले प्रवेश पायो। त्यसमा फेरि नयाँ ढंगले छलफल सुरु भए। त्यो छलफल हेर्दा, सुन्दा अलिक नयाँ कोणबाट विवादहरु उठेको देखियो।

ती छलफलले पार्टीमा विवाद रहेको र त्यो विवादलाई सम्बोधन गर्नुपर्छ र त्यसलाई  सम्बोधन गर्नुपर्छ भन्ने ढंगले विषयहरु उठे।

तर, त्यो छलफल पनि टुंगोमा नपुगी कनै फेरि स्थायी कमिटी स्थगन गर्नुपर्ने अवस्था उत्पन्न भयो। बैठक सहमतिमै स्थगन भएको छ। यसबीचमा यो समयलाई सदुपयोग गर्दै पार्टीलाई एक ढिक्का बनाऔं, देखा परेका समस्याहरु सम्बोधन गरौं भनेर दुई अध्यक्ष लाग्नुभएको छ। हामी सबै लागेका छौं।

अहिले त्यसबारेमा अलिकति सकारात्मक स्थिति देखा परेको छ। छलफलबाट एउटा टुंगोमा पुर्‍याउने उद्देश्यका साथ प्रयासहरु भइरहेका छन्।

तर, विवादले पार्टी नै विभाजनकै स्थितिमा पुगेको थियो नि?

पार्टी एकताको घोषणा गर्‍यौं। कसैले पनि विश्वास गरेको थिएन। पार्टीलाई एकताबद्ध बनाउनेतर्फ हामी धेरै अघि बढेका हौं। तर यस बीचमा अहिले जुन अवस्था देखापर्‍यो, जे प्रश्नहरु उठे त्यसबाट साँच्चिकै पार्टीको एकीकरण नै भत्किने हो कि? यो प्रक्रिया नै भत्कने हो कि? भन्ने प्रश्न उठेकै हो। यतिमात्र होइन पार्टीको एकतामा टुटफुट आउँदा यसले देशमा जुन प्रणाली र प्रक्रिया स्थापित गर्‍यौं। त्यसैमा पनि प्रश्न उठ्न जान्छ, त्यसलाई अप्ठेरोमा पार्छ भन्ने कोणबाटसम्म पनि प्रश्नहरु उठे। त्यसैले स्थिति त गम्भीर र जटिल भएकै हो। स्थिति जटिल भयो भनेर धेरैले भन्नुभयो। तर, अहिले यस कुरामा विवाद छ भन्ने मलाई लाग्दैन।

पार्टीभित्रको विवादलाई निकासमा पुर्‍याउन पार्टीभित्र अहिले पनि छलफल जारी छ त?

अहिले पनि हामी छलफलमा छौं। विभिन्न तहको औपचारिक अनौपचारिक छलफल भइरहेका छन्। एक पटक त राम्रोसँग छलफल पनि हुन नसक्ने स्थिति थियो। त्यो अवस्थामा अहिले छलफललाई गम्भीरतापू्र्वक अघि बढाऔं भनेरै स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्था छ। बाढी पहिरोको कारण केही लामो समय बैठक स्थगन भयो। त्यो समयलाई पनि पार्टीमा देखिएको समस्यालाई समाधान गर्न सदुपयोग गरौं भनेर हामी सबै लागिरहेका छौं। सकारात्मक टिप्पणी बाहिर आइरहेका छन्। अहिलेको अवस्था पहिलेभन्दा विकास भएकै हो। मैले पनि संकेतहरु सकारात्मक नै देखेको छु। सबैले प्रयास गर्दा टुंगोमा पुर्‍याउन सकिन्छ भन्ने विश्वास लागेको छ।

यसलाई फुटबाट जोगिएको हो भन्ने कि थामथुममात्रै पारिएको हो?

पहिलेभन्दा अवस्था राम्रो छ। सबैले यही भन्नुभएको छ। दुवै अध्यक्षले भनिराख्नु भएको छ। मेचीदेखि महाकालीसम्म छरिएका कार्यकर्ताले भनिराखेका छन्। कतिसम्म भने प्रतिपक्षीसम्मले पनि हामीलाई समस्या समाधान होस् नेकपा एकतावद्ध होस भनेर शुभकामना दिइरहेको अवस्था छ। त्यसले गर्दा अहिले माहोल सकारात्मक हुन पुगेको अवस्था हो। यसलाई सदुपयोग गर्दै हामीले सकारात्मक टुंगोमा पुर्‍याउनुपर्छ। पुर्‍याउन सकिन्छ भन्ने आधारहरु देखिन थालेका छन्।

पदकै लागि यस्तो मारमुङ्ग्री किन त?

हाम्रा धेरै नेताहरु पटकपटक प्रधानमन्त्री भइसक्नुभएको छ। पार्टीतर्फको कुरा गर्ने हो भने लामो समय अध्यक्ष, महासचिव भइसकेको नेताहरु हुनुहुन्छ। त्यसैले त्यही पदका लागि पार्टी फुट्ला कि भन्ने आशंका उत्पन्न हुने गरी विवाद गर्नुभयो होला भन्ने कुरामा मलाई विश्वास छैन। जे जस्ता किसिमका प्रश्नहरु उठेका छन्। त्यसलाई हामी सुल्झाउन सक्छौ भन्ने विश्वास छ। अहिले हामी सबै लागेका छौं। यसलाई सुल्झाउँछौं।

पार्टीभित्र विवाद चर्किँदा तपाईंले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्नुभयो। सत्ता टिकाउन विपक्षी दलको साथ चाहियो भन्ने सन्देश लिएर जानुभएको हो?

प्रतिपक्षीका नेता शेरबहादुर देउवाजीलाई मिनेन्द्र रिजालसमेतको उपस्थितिमा बुढानिलकण्ठ निवासमा गएर भेट गरेँ। त्यसलाई लिएर विभिन्न कोणबाट प्रश्न उठाइयो। यसबाट हामीभित्र स्वस्थ र सहज अवस्था रहेनछ। देशमा स्वस्थ र सहज वातावरण रहेनछ भन्ने बुझ्नुपर्छ। सत्तापक्षले प्रतिपक्षलाई भेट्ने भनेको त राम्रो कुरा हो नि हैन र? किन भेट्दैनन् भने‍र प्रश्न उठानुपर्नेमा किन भेटे भनेर प्रश्न उठ्यो। मेरा लागि आश्चर्यको विषय हो।

दुवै अध्यक्षहरुले दिएको जिम्मेवारीअनुसार नै म आफ्नो भूमिका निर्वाह गरिरहेको छु। टीआरसीदेखि थुप्रै विषयहरु छन्। प्रतिपक्षीका नेता  संवैधानिक परिषद्को सदस्य हुनुहुन्छ। थुप्रै नियुक्तिहरु उहाँहरुको सहभागिता बेगर हुँदैन। संवैधानिक परिषद्मा उहाँहरुलाई सदस्य राखेको छ। राज्यले प्रतिपक्षीलाई सम्मान गर्दै कतिपय कुरामा उहाँहरुसँग छलफल गर्नुपर्छ भन्ने मान्यता नै छ। यस्तो अवस्थामा जिम्मेवारी लिएको मैले कांग्रेससँग भेट्नु आश्चर्यको कुरा होइन। मैले निरन्तर भेटघाट गरिरहेको छु। अहिले पनि म भेटघाट र संवादमै छु। त्यसैभित्र टेलिफोनमा पटकपटक कुरा भएको छ। अरु नेताहरुसँग पनि भेटघाट भइरहेको छ। 

सत्ता समीकरणका कुरा पनि भयो होला नि? बाहिर त्यस्तै चर्चा छ।

नेकपाको एउटा टुक्रा नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन लागेको भन्ने चर्चा भयो। त्यो भन्दा अलिक अघि फेरि कार्यदल बनाउने प्रयास भइरहेको छ भन्ने चर्चा मैले सुनेको थिएँ। कुनै पनि कुरामा मेरो विश्वास छैन। किनभने नेकपाको एउटा टुक्राले कांग्रेससँग मिलेर सरकार बनाउनलाई त सबैभन्दा पहिले नेकपा दुई टुक्रा हुनुपर्‍यो। अहिले त्यसको कुनै सम्भावना छैन र हुँदैन। कुनै पनि हालतमा पार्टी विभाजनमा आउनु हुँदैन। कानुनबमोजिम नेकपाले यो रुपमा अरु कसैसँग सरकार बनाउन सक्ने कुनै पनि हालतमा त्यो सम्भव नै छैन। यस्तो किसिमको चर्चा, टिप्पणी हुनु दूर्भाग्यपूर्ण हो।

प्रधानमन्त्रीले त दुवै पद छाड्दिन भन्नुभएको छ तर पार्टीमा दुवै पदबाट हटनुपर्ने भनेर यति चर्को माग उठेको छ नि!

हाम्रा दुई अध्यक्षले थुप्रै कुरा भन्नु भएको छ। मिलेर जानुको विकल्प छैन भन्ने दुई अध्यक्षको भनाइ हो। दुई अध्यक्षले नै पार्टीको घोषणा गरेका हुन्। कुनै पार्टीमा दुई अध्यक्ष हुन्छ? हामीले कल्पना नगरेको कुरा हो। तर दुई अध्यक्षले अब महाधिवेशनसम्म यसरी जान्छौ है भनेर उहाँहरुले घोषणा गर्नुभएको हो।

अहिले पार्टीका एउटा अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले म दोहोर्‍याएर कक्षा पढ्दिन भन्नुभएको छ। उहाँले पटकपटक हामीसँग त्यही भन्नुहुन्छ। यस्तो अवस्थामा मिल्न नसकिने कुनै कुरा छ र?

हाम्रोमा अलिक बढी चर्चा परिचर्चा भ्रम हुने गर्छ। हामी के निश्कर्षमा पुगेका छौं भने जसरी दुई अध्यक्षले पार्टी एकीकणको घोषणा गर्नुभयो। सहमतिको महाधिवेशन गर्छौं भनेर भन्नुभयो। त्यसको अर्थ अहिले पार्टीले विधि प्रक्रिया र मान्यता भनेको सहमति हो भनेर घोषणा गरेको छ भने। सहमतिबाहेक अर्को विकल्प के छ र?

यो बिचमा खुमलटारमा अर्को अध्यक्षलाई भेट्यौं। यता अर्का अध्यक्ष र प्रधानमन्त्रीलाई बारम्बार भेटेर दुई अध्यक्षले नै टुंगोमा पुर्‍याउनुपर्छ भनेका छौं। छलफल गर्नुस्, वार्ता र छलफलको अर्को विकल्प छैन। तपाइहरुलाई कसको सहयोग चाहिन्छ भन्नुस् हामी सहयोग गर्छौं  भनेका छौं।

हामीले प्रचण्ड  कमरेडलाई बिहीवार भेटेर त्यही भन्यौं। उहाँले जसरी तपाइहरु लाग्नुभएको छ त्यसरी नै लाग्नुस्। यसलाई सकारात्क टुंगोमा पुर्‍याउन हामी पनि लाग्छौं भन्नुभएको छ।

पार्टी एकजुट हुनुको विकल्प छैन। म आशावादी छु बाटो निस्किन्छ। कथम् कदाचित यताउती भयो भन्ने त्यसले पार्टीलाई त अफ्ठ्यारो पार्छ नै। यी पार्टीहरु मिलेर जुन प्रणाली स्थापित गर्नका लागि लडेका हौं। संविधानसभामार्फत् जस्तो संविधान बनाएर यसलाई स्थापित गर्ने प्रयास गरेका छौं। त्यसमा पनि अफ्ठ्यारो उत्पन्न हुन्छ भन्ने विज्ञहरुको भनाइ छ। मलाई पनि त्यस्तै लाग्छ।

सरकार ढाल्ने र पार्टी फुटाउनेसम्मका चर्चा तपाईँको पार्टीका नेताले चलाए। अबको वारपार के हुन्छ?

समस्यालाई पालिराखेर हुँदैन।  हाम्रो बारेमा देशभित्र मात्रै होइन। देशबाहिर पनि हामीप्रति गम्भीर चासो र सरोकार रहेको देखिन्छ।  छिमेकीको सञ्चार माध्यमहरु हामी बारेमा प्रस्तुत भएका छन्। त्यसबारेमा पछिल्लो समय देखिएका घटनाक्रमले कतिसम्मको चासो र सरोकार हो भन्ने कुरा प्रस्टै देखिएको छ। एक हिसाबले त खुशीको कुरा हो। यसले गर्दा हामी सबै बढी चनाखो र जिम्मेवार बन्नुपर्ने अवस्था छ। त्यसैले यो समस्यालाई समाधान गर्नै पर्छ। समस्या सुल्झाउनै पर्छ। यसलाई पालेर पन्छाएर हुँदैन।

छिमेकी देशका राजदूत पनि पार्टी मिलाउन खुला रुपमै पहल गर्दै हिँडेको देखियो नि!

मैले एउटा कुरा बेलाबेलामा भन्ने गरेको छु। हाम्रो गाउँ घरका बुढापाकाले पनि भन्ने गरेका छन्। घर झगडा नगर्नु, घर झगडा गर्‍यो भने छिमेकीले झ्यालबाट उपदेश दिन्छन्। अहिलेको प्रसंगमा भएको यही हो।

हामी झन् बढी एक ढिक्का हुनुपर्ने अवस्था देखिएको छ। हाम्रा गाउँ घरका बुढापाकाले अर्को एउटा कुरा पनि भन्ने गरेका छन्। आफ्नो थैली बलियो बनाउनु अरुलाई चोरीको आरोप नलाउनु। त्यसको अर्थ हामी एकजुट हुने हो।

अहिले झन् कोरोनाले आक्रान्त भएको छ। सीमाको समस्याको सन्दर्भ छ। हामीप्रतिको सरोकार यस रुपमा देखिरहेका बेला हामी त सिंगो देश एक ठाउँमा उभिनुपर्छ भनिरहेका छौं।  यस्तो बेला आफ्नै पार्टीभित्र विवाद गर्न ठीक होला त?  

हामीले हिजो जनतासँग के भनेका थियौं। छ महिना, आठ महिनामा सरकार फेर्ने खेल रोक्छौं भनेर चुनावमा गएर भोट मागेको होइन। यो स्थिरताको खेल हामीले रोक्छौं, सक्छौं भनेका होइनौं? चुनावमा गठबन्धन गरेका हामीलाई जनताले झण्डै दुई तिहाइ बहुमत दिए। चुनाव चिन्हको विवाद नभएको भए दुई तिहाइ नै पुग्थ्यो। हामीले त गठबन्धन मात्रै होइन। आश्चार्यजनक रुपमा पार्टी मिलाएर देखायौं।  जनताले पनि त्यहि अनुसारको आशिर्वाद दिएका थिए। अब पार्टी नमिलाएर जनतामा गएउँ भने जनताले के भन्छन्। हामीले के तपाइहरुलाई पार्टी फुटाउनु भनेर मत दिएका हौं र? भनेर प्रश्न गरे भने के भन्ने।

अब हामीले तिमीहरुलाई के भनेर मत दिने भनेर जनताले भने के भन्ने। कुन मुख लिएर भोट माग्न आएको भन्ने। हाम्रा शुभचिन्तक नागरिक समाजले पार्टी मिलेको देख्न चाहन्छन , कार्यकर्ता र जनताले मिलेको देख्न चाहन्छन्। त्यसोभने के हाम्रा दुई अध्यक्षलाई यो कुरा थाहा छैन्? के पार्टीलाई थाहा छैन्? राम्रो सँग थाहा छ। यस्तो (पार्टी फुटाउने र सरकार ढाल्ने) स्थितिमा उहाँहरु आउनु हुन्न। उहाँहरुले पार्टी मिलाउनुहुन्छ।  केही कमीकमजोरी देखिएका हुन हामीले तिनलाई यसरी मिलाएउ अब हामी तपाहरुको आशिर्वाद लिएर अगाडी बढछौं भन्ने आधार हाम्रा नेताहरुले पार्टीले तयार गर्ने छ। यहि विश्वाका साथ  पार्टी मिलाउनुको विकल्प छैन।

प्रचण्डले जेठ २ र मंसिर ४ को सहमतिमा आफू लचिलो भएर गल्ती गरेको भन्दै आत्मालोचना गरिसकेका छन्। अनि ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्छ भन्ने माग त चर्कै उठेको साचो हो नि?

अलि कुरा उठेका छन्।  तर त्यो ढंगले आएका होइनन्। आएका छैनन् भन्ने प्रसंग पनि आइरहेको छ। हाम्रा अगाडि पार्टी एक बनाउनको विकल्प छैन। त्यसैले त्यसभित्र म धेरै जान चाहन्न। अहिलेको मुल कुरा भनेको पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो। प्राथमिकता पनि यही हो।

त्यसो भए प्रधानमन्त्री र अध्यक्ष केपी ओली नै रहिरहनुहुन्छ?

पार्टी एकीकरणको प्रक्रिया अगाडि बढेको छ। अध्यक्ष केपी ओली र अध्यक्ष प्रचण्ड दुई जनाले यो घोषणा गरेका हुन्। पार्टीको आउने महाधिवेशन एकताको महाधिवेश हुने छ। त्यसैले धेरै कुराको टुंगो लगाउने छ। त्यतिन्जेलसम्म यो एकीकरणको प्रक्रिया पूरा गरेर जानुपर्छ भनेर उहाँहरुले एकीकरणको घोषणा गर्नु भएको हो। त्यसैले अहिलेको जुन जिम्मेवारीमा हुनुहुन्छ त्यसमा अरु हुने कुरा भएन। बाँकी महाधिवेशनले टुंग्याउने छ। एकताका प्रक्रिया त अझै पनि टुंगिएको छैन। एकताको प्रक्रिया टुंगिनसकेको अवस्थामा दुई जनमध्येले कुनै एक जनाले अध्यक्ष हुन्छु भन्नुभयो होला भन्ने मलाई विश्वास छैन। कुनै कोणमा कुनै प्रसंगमा उठ्यो होला।  म त्यसतर्फ धेरै छलफल गर्न चाहन्न। त्यसैले  हामीले यो विषयलाई राम्रोसँग एउटा  ठाउँमा पुर्‍याउछौं भन्ने विश्वास छ।

तपाईँलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने अफर आयो भन्ने पनि सुनिन्छ?

एकता प्रक्रिया नसकिएसम्म यो कुराबारे छलफल गर्नु नै सान्दर्भिक भएन। तपाईँले र भन्नेहरुले शुभेच्छा प्रकट गर्नु भएकोमा धेरै धेरै धन्यवाद। एकता महाधिवेशनका बेलामा बेस्सरी यसबारे छलफल गरौंला। अहिलेलाई को अध्यक्ष हुने भन्दा पनि पार्टी एकतालाई कसरी बलियो बनाउने भन्ने कुरा पहिलो प्राथमिकता हो। प्रधानमन्त्रीको जहाँसम्म कुरा छ त्यो पनि अहिले को हुने भन्नेबारेको छलफल नै होइन जस्तो मलाई लाग्छ। त्यसैले अहिलेकै सरकारलाई बलियो र पार्टी एकतालाई मजबुद बनाउनतर्फ ध्यान दिनुपर्छ सबैले।

अबको स्थायी कमिटी बैठकले समाधान निकाल्ल त?

धेरै कुराहरु समाचारमा पनि आएका छन्। हामी एक बेला यस्तो स्थितिमा पनि पुगेका थियौं, दुई अध्यक्षबीचमा संवादसमेत बन्द भएको थियो। अहिले त्यो अवस्था छैन। बैठक पनि सहमतिमै सारिएको हो। दुई अध्यक्ष संवादमै हुनुहुन्छ। जुन हिसाबले छलफल भइरहेका छन्। एकदमै सकारात्मक छन्। आसा छ हामी स्थायी कमिटी बैठकसम्म सबै समस्या समाधान गर्छौ। त्यसैको लागि पनि यति समय स्थगित गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell