जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयरले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
नगरप्रमुख लालकिशोर साहले प्रचलित कानुनविपरीत नगरसभा सम्पन्न गरेको भन्दै उनीविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको वडा नम्बर-९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए।
आफूहरुले जनकपुरधाम उपमहानगरपालिकाको हिसाब पारदर्शी गर्न र कानुनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत मेयर साहले कानुनविपरीत मनोमानी गरेको उनीहरूको आरोप छ। मेयरले रातिको समयमा मूल्य मान्यताविपरीत नगरसभा समपन्न गरेर सम्पूर्ण नगरबासीलाई ठगेको वडाध्यक्ष साहले आरोप लगाए।
वडाध्यक्ष साहले आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषन मुद्दा हालेको जानकारी दिए। वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले मुद्दा दिएको वडाध्यक्ष साहले बताए।
जनकपुरधाम उपमहानगरपालिकाले पाँचौं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका बावजूद पनि असार १० गते राति सम्पन्न गरेको थियो। अधिकांश वडाध्यक्षहरुले मेयर लालकिशोर साहले फर्जी हस्ताक्षर गरी बहुमत पुर्याएको देखाएर गैरकानुनी ढंगबाट नगरसभा सम्पन्न गरेको आरोप लगाएका छन्।
वडा नम्बर-७ का वडाध्यक्ष जानकीराम साहले पहिलोपोस्टसँग भने, ‘हामीले चालु आर्थिक वर्षको खर्च विवरण देखाउनुपर्ने र आगामी वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल भएपछि मात्रै नगरसभामा प्रस्तुत गर्न भनेका थियौँ, तर एकै पटक नगरसभामै वितरण हुन्छ भनेपछि हामीले त्यो कार्यशैलीको विरोध गरेका थियौँ।’
कार्यपालिकाको बैठकबाट पारित भएपछि नीति तथा कार्यक्रम र बजेट पास भएपछि प्रस्तुत गर्नुपर्नेमा मेयर र उपमेयरले मनोमानी किसिमले काम गरेको उनले जिकिर गरे।