PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सडकमा गुड्न थाले तीन पांग्रे टेम्पो, तर ब्रेक लाग्यो धेरै सपनाहरूमा



स्वेच्छा राउत

सडकमा गुड्न थाले तीन पांग्रे टेम्पो, तर ब्रेक लाग्यो धेरै सपनाहरूमा

'दिदी स्यानिटाइजर राख्नु भएको छ?'

कसैले झ्यालैमा आएर सोध्दा सुरुमा त झस्किइन् पार्वती सिनल। किनकि त्यसरी आउनेले 'दिदी यो टेम्पु कहाँ जान्छ?' भनेको सुन्ने बानी थियो उनलाई।

स्यानिटाइजर शब्द कोरोना भाइरसको चर्चासँगै चल्नचल्तीमा आयो। नेपालमा पनि कोरोनाको खबरहरु सुनिन हुन थालेपछि मात्रै उनले स्यानिटाइजरबारे थाहा पाइन्। भाइरस रोकथामको लागि धेरै आवश्यक छ भने बुझेकी थिइन्। त्यसैले लकडाउनपछि करिब ४ महिना पछि टेम्पो धोएर सडकमा निकाल्दा स्टेरिङ नजिकै राखेकी थिइन् स्यानिटाइजरको बट्टा पनि।

इशाराले देखाइन्। ती मानिस ढोका खोलेर बसे र दुई हात थापे।

आफ्नो टेम्पोमा चढ्ने अन्य यात्रीलाई पनि त्यसैगरी स्यानिटाइजर दिन्छिन् पार्वती।

'धेरैले चाहिँ आफै बोक्नु भएको हुन्छ। नबोक्नेलाई दिन्छु', उनले सुनाइन्।

यात्रुका लागि मास्क चाहिँ अनिवार्य। सरकारले पनि मास्क बिना यात्रा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने भनेको छ। त्यसैले पनि सतर्क छिन्। आफू र आफ्नो सेवागाह्रीको सुरक्षालाई लिएर।

गएको साता मन्त्रिपरिषद् बैठकले उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दियो। महिनौं देखि थन्किएको आफ्नो टेम्पो निकाल्न पाइने भयो भन्ने कुराले पार्वती दङ्ग थिइन्। तर, शहरमा मानिसको चहलपहल न्यून। त्यस्तोमा यात्रु सहजै पाइँदैन भन्ने पनि बुझेकी थिइन्। त्यसमाथि कोरोना भाइरस संक्रमणको जोखिम उत्तिकै।

उनी अन्यौलतामा थिइन् – टेम्पो निकाल्ने कि नाइ? किनकि आम्दानी नभए पनि खर्च हुने त निश्चित हुन्छ। दैनिक खाजा र ब्याट्री चार्जको खर्च। समय र उर्जा लगानीको पाटो बेग्लै।

लकडाउनभर टेम्पोको ब्याट्री बिग्रिने डरले पिरोलेको थियो उनलाई। जसको मूल्य १२ लाख नेपाली रुपैयाँ पर्छ। बिग्रिहाले फेरि ब्याट्री किन्न कसरी? घर चलाउने कसरी? घरभित्र थुनिँदा यस्तै प्रश्न उनको मनमा आइरहन्थ्यो।

सरकारले सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएपछि भने उनमा आशा जाग्यो। पहिला झै यात्रा सहज नहुने बुझेर पनि साधन निकालिन्। ब्याट्रीको मायाले।

+++

सरकारले सफा टेम्पोले ६ जनासम्म यात्रु बोक्न मिल्ने बताएको छ। तर, बुधवारबाट जब पार्वतीको टेम्पोमा चल्यो त्यसयता एकपटक पनि ६ जना यात्रु एकसाथ चढेका छैनन्। पर्खदा पनि मानिस नआउने अवस्था छ। केही चढ्छन् केही भने सार्वजनिक सवारी साधनबाटै कोरोना भाइरस सर्ला भन्ने डरले पनि नचढ्ने उनको अनुमान छ।

'तर कहिलेसम्म अवस्था सामान्य होला भनेर कुर्नु? बरु नियमित टेम्पो चलेको थाहा पाए पछि त मानिस निस्किन थाल्लान् नि भनेर सेवा सुरु गरेको। हिजोभन्दा आज प्यासेन्जर बढेका पनि छन्। अब आजभन्दा भोलि अझै बढ्लान् नि', उनले आशासहित अनुभव सुनाइन्।

यात्रु कम भए पनि भाडादर ५० प्रतिशत बढी लिन सरकारले सहुलियत दिएको छ। त्यसबाट भए पनि केही राहत होला भन्ने आशा थियो उनलाई। तर, यात्रुका लागि १५ रुपैयाँको साटो २२ रुपैयाँ दिनु गाह्रो रहेको उनको ठम्याइ छ।

'राम्रो कमाइ गर्ने मान्छे आफ्नै गाडी, मोटरसाइकल चढिहाल्छन्। आफ्नो साधन नभएकाहरुलाई गाह्रो। लकडाउनमा कमाइ ठप्प अब आउजाउ गर्दैगर्दा उनीहरुलाई पनि डबल भाडा तिर्न गाह्रो होला नि?', उनी चिन्तित सुनिन्छिन्।

 

९ वर्ष भयो पार्वतीले तीनचुलीदेखि सुन्धारा रुटमा टेम्पो चलाएको। यो अवधिमा पहिलो पटक यति लामो छुट्टी बसिन्। लकडाउनको सुरुवाती दिनमा त उनलाई लागेको थियो – छोराछोरीसँग वर्षौ पछि यति लामो समय बिताउने अवसर जुर्‍यो। तर लकडाउ थपिँदै गयो।

'त्यसपछि त दिक्क लाग्यो। आफ्नै मिहेनतले कमाउने बानी लागेको। पछि थुनिएर बस्न र श्रीमानमा भर पर्न मन नलाग्ने रहेछ', उनले हाँस्दै सुनाइन्। उनका श्रीमान सर्जन नेपाल नेपाली सेनामा कार्यरत् छन्। आफूलाई टेम्पो चलाउन, आत्मनिर्भर बन्न उनैले हौस्याएको बताउँछिन् उनी।

+++

'मास्क अनिवार्य लगाऔं, आफ्नो सुरक्षा आफै गरौं'

३५ वर्षीय जीवन वाइबाको टेम्पोको भित्तामा टाँसिएको सूचना हो यो। उनको साधनमा यात्रुबाट उठेको भाडा राख्ने ठाउँमा पनि स्यानिटाइजर छ। अनि टेम्पोको पछिल्लो भागमा ६ वटा सिट छुट्ट्याइएको छ, सेतो रङले कोरेर।

सिटतर्फ देखाउँदै भन्छन्, 'यति नगरे आफूलाई नि जोखिम, चढ्नेलाई नि डर।’

वाइबालाई पनि पार्वतीलाई जस्तै लकडाउनको अवधिभर टेम्पोको पीर ब्याट्री बिग्रिएला कि? टेम्पो खिया लाग्ला कि। कोरोना संक्रमणको त्रासबीच भविष्यको चिन्ता पनि थपिँदै गए।

सरकारले सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएपछि भने खिया लाग्ला भन्ने डरैले पनि निकाले टेम्पो।

१८ वर्ष भयो उनले काठमाडौंका सडकमा तीन पांग्रे टेम्पो चलाएको। ४ जनाको परिवारको आम्दानीको मुख्य स्रोत नै टेम्पो थियो। जीवनको जटिलतालाई सफा टेम्पोको कमाइले सरल बनाउन केही सफल भए जीवन वाइबा। छोराछोरीलाई बोर्डिङ स्कूल पढाए। धरखर्च धाने। दु:ख त अझै थियो। तर, पहिला भन्दा राहत पनि। यसैबीच कोरोना कहरले लकडाउन भयो।

लकडाउनको सुरुवाती तीन महिना धेरथोर जम्मा गरेको पैसाले दैनिकी चल्यो। त्यस पछि के? खान, लगाउन त पर्‍यो। ऋण गरेरै राशन पानी थपे। अवस्था सामान्य भए पछि कमाएर ऋण तिरौंला भन्ने सोचे। तर, टेम्पो निकालेको पहिलो दिन ८ सय रुपैयाँमात्र लिएर घर जाँदा उनको मन खिन्न भयो। किनकि त्यो त खर्चभन्दा कम थियो।

सामान्यता एकदिनमा ३५ सय देखि ४ हजारसम्म कमाउथे उनले। सोचेका थिएनन्, दोब्बर भाडा लिँदा समेत टेम्पोको ब्याट्री चार्ज गर्न समेत नपुग्ने रकम उठ्नेछ भनेर।

'टेम्पु सजिलो र छिटो हुन्छ भनेर पनि मान्छेले चढ्छन्। तर अब त मान्छे नै छैनन्। कतिबेर चाहिँ कुर्नु?', उनले गुनासो पोखे।

भोक र ऋणको भार एकातिर। टेम्पो थन्किदै गए बिग्रिने डर अर्कोतिर। त्यसैले यसै बस्नुभन्दा कोरोनासँग जुँध्नु ठीक भन्ने सोचेर निस्किएको बताउँछन् उनी।

निस्किन त निस्किए। तर, उनलाई आफूले वर्षौदेखि टेम्पो हाँकेको रुट नौलो लाग्यो। जुन चोकमा टेम्पो कुर्नेहरुको भिड हुन्थ्यो त्यस ठाउँ शून्य देख्दा अनौठो लाग्छ उनलाई। मान्छे नअट्दा साधन अलि ठूलो हुनुपर्थ्यो भन्ने सोच्थे उनी, ट्राफिकको आँखा छलिछलि मान्छे कुर्नु यी सबै कुराहरु सपनाजस्तै लागेको छ उनलाई।

भन्छन्, 'टेम्पो त गुडाउन थाल्यौं अब जिन्दगीको गाडी चाहिँ कहिलेसम्म रोकिने हो पत्तो छैन।'

+++

गोल्फुटारदेखि सुन्धरासम्म ४ जना यात्रु बोकेर आए हरेराम क्षेत्री। जम्मा भएको पैसा गने, ८० रुपैयाँ भएको रहेछ। उनी अन्यौलतामा थिए – त्यो पैसा गोजीमा हाल्नु कि? खाजा खानु कि? साहुलाई लगेर दिनु?

उनका साहुले निर्देशन दिएका थिए – एक टिप गरी हेर्नु। मान्छे नभए गाडी ग्यारेजमा पुर्‍याउनु।

यात्रु आश गरे अनुरुप भएनन्। गाडी ग्यारेज लानुको विकल्प छैन। फेरि ग्वार्को बस्ने उनी गाडी पुर्‍याउन चाबहिलदेखि झण्डै तीन किलोमिटर पर तीनचुली पुग्नु पर्ने। त्यहाँबाट फर्कनु पो कसरी?

'गरेर खानेलाई साह्रै गाह्रो छ। नगरौं भने राशन पानीका लागि कहिलेसम्म ऋण लिने?,' उनले भने।

गाउँ छाडेर शहर पसेका हुन् उनी। केही वर्ष खटिएर काम गर्छु। पैसा जम्मा गर्छु। सेकेन्ड ह्यान्ड नै भए पनि आफ्नै टेम्पो किन्छु भन्ने योजना बनाएका थिए हरेरामले। तर उनका सपनामा कोरोना भाइरस र लकडाउनले ब्रेक लगाइदिएको छ।

सिरहाका स्थानीय उनी भन्छन्, 'बरु गाउँमा खेती किसानी गरेर बसेको भए आज रोग लागे लागोस् भोक मेट्नु पर्छ भन्दै निस्किनु पर्दैन थियो कि?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell