PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मेलम्चीले बगायो गोइत परिवारको सपना,  बिदामा बसेका सतीश किन पुगेका थिए मुहान निरीक्षणमा?



सुमित मिश्र

मेलम्चीले बगायो गोइत परिवारको सपना,  बिदामा बसेका सतीश किन पुगेका थिए मुहान निरीक्षणमा?

जनकपुरधाम: भर्खरै २५ औँ वसन्त पूरा गरेका थिए सतीश गोइतले। तर, सबल इन्जिनियर बन्न आफूलाई तयार गरिसकेका  थिए। जब मेलम्ची खानेपानी आयोजनामा काम मिल्यो। तब  गाउँघरतिर उनको कामको प्रशंसा सबैले गर्ने गर्थे। सिनियर पनि सतीशलाई विश्वास गर्थे।

असार ३० गते, मंगलबार। सतीश आयोजनाका केही साथीहरूसँग मेलम्ची खानेपानीको मुहान निरीक्षण गर्न पुगेका थिए। एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि त्यसको निरीक्षण गर्नका लागि सतीशकै नेतृत्वमा टोली पठाइएको थियो।

मंगलबार मध्याह्न १२ बजे मेलम्चीको ड्याम निरीक्षण गर्न टोलीसहित मुहान क्षेत्रमा पुगेका थिए उनी। तर उनी त्यहाँबाट फर्कन सकेनन्।

सुरुङको १७ नम्बर गेट फुस्केर पानी फर्कँदा जिपमा गएका इन्जिनियर गोइतसहितको टोलीलाई बगायो। सतीश र चालक राधाकृष्ण थापा पानीको भेलसँगै बगे। उनीहरूसँगै गएका अन्य दुई कामदार बाँच्न सफल भए। सतीशको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै फेला परेको थियो। चालकको शव अझै पत्ता लाग्न सकेको छैन ।

सतीशको मृत्युको खबर लगत्तै जनकपुरधामस्थित कदम चोकमा रहेको उनको घरमा शोकको डुबेको छ।  बिहीबार सतीशको अन्त्येष्टि गरेर फर्केकी आमा मञ्जु अहिले पनि छोरा वियोगमा छिन् छिनमै रुन्छिन्। हाल उनी त बोल्न सक्ने स्थितिमा छैनन्। पिता अमरकिशोर गोइतको पनि यही अवस्था छ।

सतीशका दाजु आतीश भाइको मृत्युमा आक्रोशित छन्।

परिवारका अनुसार घटना भएको दिन सतीश बिदामा थिए। तर उनैलाई बिदाको दिन काममा खटाउनुको कारणबारे कसैले चित्तबुझ्दो उत्तर दिन सकेका छैनन्।

आतीशको प्रश्न छ ‘सतीश घरको सहारा थियो। मेरो भाइको ज्यान गलत व्यवस्थापनले लिएको छ। ऊ अफ ड्युटीमा थियो। किन फेरि उसलाई नै त्यहाँ पठाइयो? सिनियर इन्जिनियरहरूलाई पठाउन सकिन्थ्यो तर त्यस्तो गरिएन किन?’

++

बाल्यकालदेखि नै पढाइमा अब्बल रहेका सतीशको सपना घरको सम्पूर्ण आवश्यकता पूरा गर्नु थियो। बुवा आमाका साथै घरको सबै सदस्यको आगामी जीवन सुखमय बनाउनु नै उनको धोको थियो। तर मेलम्चीमा भएको अप्रत्याशित घटनाले उनीसँगै उनको सपना पनि बगाएर लग्यो। सँगै बग्यो आतीशको परिश्रम पनि।

जनकपुरधामको मोनास्टिक स्कुलबाट २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सतीशले। जनकपुरधामकै मीट क्याम्पसमा कक्षा १२ उत्तीर्ण गरे। त्यसपछि इन्जिनियरिङको तयारीका लागि काठमाडौँमा पुगे। पछि भारतको चण्डिगढको इण्डो ग्लोबल कलेजबाट सिभिल इन्जिनियरिङ पास गरेका थिए उनले।

सतीश दुई सेमेस्टर पास मात्रै गरेको बखत घर तथा जग्गा बैंकमा धरौटीमा राख्नु परेको थियो। सतीशलाई पढाउन नसक्ने स्थिति आएपछि दाई आतीशले उनलाई इन्जिनियरिङ पढाउने बिरा उठाएका थिए। अनि उडेका थिए दुबई। आतीशले दुःख गरी पढाएको कुरो सतीशलाई हरेक क्षण मनमा हुन्थ्यो।

आफू वैदेशिक रोजगारमा गएर सतीशलाई इन्जिनियर बनाउन परिश्रम गरेका थिए आतीशले। भाइलाई नै पढाउन भन्दै  सन् २०१६ मा वैदेशिक रोजगारका लागि दुबई पुगेका थिए उनी।

सतीशले इन्जिनियरिङ पास गरेर जनकपुरधामकै रमण कन्स्ट्रक्सनबाट आफ्नो क्यारियरको सुरुवात गरेका थिए। रमण कन्स्ट्रक्सनमा केही महिना काम गरिसकेपछि इन्टरनेट प्रदायक सुविसुमा पनि काम गरे। अन्ततः ९ महिना अगाडि मात्रै उनी मेलम्ची खानेपानी आयोजनामा काम सुरु गरेका थिए।

सतीश सरकारी इन्जिनियर भएर काम गर्न चाहन्थे। उनी यसका लागि तयारी पनि गरिरहेका थिए। तर, सपना पूरा गर्न पाएनन्। 

आफैँले छोरा सरह पढाएको भाइको मृत्युको खबर सुनेर उनलाई केही क्षणका लागि विश्वासै भएन। पछि सतीशसँगै बस्ने साथी विजय यादवले फोन गरेपछि उनको होस रहेन।

आतीशका अनुसार सतीश प्रत्येक दिन आफ्नो आमा बुवासँग भिडियो कल गरेर कुरा गर्ने गर्थे। घटना भएको एकदिन अगाडि पनि घरको सबै सदस्यसँग लामो कुराकानी गरेका थिए। त्यही नै सतीशको परिवारसँग अन्तिम कुराकानी भयो।

बुधबार शव भेटिएपछि आतीश शव लिनका लागि पुग्दा खानेपानी मन्त्री बिना मगरले फोनमा कुरा गरेकी थिइन। मन्त्री मगरले कुनै आवश्यकता परे सम्पर्क गर्न आतीशलाई भनेकी थिइन्।

घटना छानबिन गर्न माग

सतीशको मृत्युको कारण मेलम्चीमा पानीको बहाव बढेर ड्याम फुट्नुलाई बताइएको छ। तर परिवारका सदस्य भने मृत्युबारे छानबिन हुनुपर्ने माग गरिरहेका छन्। बिदाको दिन सतीशलाई काममा पठाइएको बारे परिवार उत्तर खोज्दैछ।

त्यसैले सतीशको घरका सदस्यहरूका साथै साथीभाइहरू सरकारी अव्यवस्थापनकै कारण उनको मृत्यु भएको आरोप लगाइरहेका छन्।

सतीशसँगै बाल्यकालदेखि नै पढ्दै आएका साथी दीपक यादवका अनुसार मेलम्चीमा काम गर्न सुरु गरेपछि सतीश निकै तनावमा थिए।

‘कामको प्रेसरले हरेक क्षण तनावमा हुन्थे’ साथी दीपकले भने, ‘उनलाई नै किन बढी काममा लगाइन्थ्यो? के कारणले सतीश तनावमा रहन्थे यो विषयमा छानबिन हुनु आवश्यक छ।’

यता इन्जिनियर एसोसिएसन प्रदेश दुईका सहसचिव भवेश मिश्रले घटना लापरबाहीकै कारण भएकोले यसको निष्पक्ष रूपमा छानबिन हुनुपर्ने माग गरेका छन्। उनले मेलम्ची आयोजना देशकै ठूलो परियोजनामध्ये एक रहेको र यसमा अर्बौको बजेट लगाइए पनि एउटा गेटले पानीको बहाव किन थेग्न किन सकेन भन्दै प्रश्न गरे।

भने ‘यो दुर्घटनाले देशमा भइरहेको भ्रष्टाचारलाई उजागर गरेको छ।’

यता जनकपुरधामको चोक-चोकमा सतीशको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना गरिँदै आएको छ। युवा उमेरमा नै छोरा गुमाएका बुवा अमरकिशोर गोइत ती सभाहरूमा पुग्ने गर्छन्। र माग गरिरहेका छन् छोराको मृत्युको कारण।

घटना छानबिनको माग गर्दै शुक्रबार पनि राजनीतिक दल आबद्ध विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell