रामबहादुर राईको घर इलाममा पर्छ। फिक्कलदेखि पारी नयाँ बजार भन्ने ठाउँमा। ५६ वर्षीय उनी अहिले भक्तपुरमा भेटिन्छन्। मानव सेवा आश्रममा। त्यहाँ ५५ जना आफूजस्तै बाटोबाट उद्धार भएर आएका साथीहरू छन् उनका। ती साथीहरू कोही शारीरिक रुपमा फरक छन्, कोही मानसिक रुपमा।
रामबहादुर स्वयंलाई पनि प्यारालाइसिस भएको छ। उनलाई उच्च रक्तचाप पनि छ।
रामबहादुरको ठूलो सपना थियो – गायक बन्ने। बाल्यकालमा रेडियो सुन्दा उनलाई लाग्थ्यो – आफूमा पनि नारायण गोपालको जस्तै प्रतिभा छ। दूर्भाग्य - गीत गुन्गुनाइ रहने उनले सानै उमेरदेखि अपाङ्गता भोग्नु पर्यो। १० वर्षका थिए, एक्कासी मुख बाङ्गो हुँदै गयो। कारण थाहा छैन। धामी झाँक्री लगाउँदा ठीक नभए पछि अवस्था स्वीकारे।
कक्षा ७ मा पढ्दै गर्दा फेरि अर्को दुर्घटना भोग्नु पर्यो। स्याउला काट्न गएका उनी पहिरोमा परे। खुट्टा भाँच्चियो। उपचारका लागि भारत जानु पर्यो। उतै ६ महिना बित्यो। त्यस पछि पढाई पनि छुट्यो।
एकपछि अर्को गर्दै आएका समस्याहरू उनको रहरको बाधा भने बनेन। उनले गीत गाउन छाडेनन्। चाहे त्यो सुखका गीत होस् या दु:खका।
मजदुरीका लागि बुवाआमासँगै १० वर्ष भुटानमा बसे। ८ वर्ष भारतमा। भारतमा रहँदा गरेको काम उनलाई रमाइलो लाग्यो - फिल्म हलमा टिकट काट्ने। त्यहीं काम गर्दा हो उनी बलिउड र हिन्दी गीतहरूको नजिक भएको। नेपालीसँगै हिन्दी गीतहरू पनि सुन्न गाउन थालेको।
'पर्दामा देखिने अमिताभ बच्चन,धर्मेन्द्र र हिमा मालिनीलाई त नजिकबाट देख्न पनि पाएँ', उनले केही उत्साहित हुँदै सुनाए।
हाल आश्रमको साँघुरो कम्पाउन्ड नै उनका लागि गायकी देखाउने फराकिलो मञ्च बनेको छ। त्यहाँ उनी आफ्ना साथीहरूलाई वरपर राख्छन् र आफ्नो गाउने रहर पूरा गर्छन्। अन्य आश्रितहरू उनको कुशल दर्शक/श्रोता हुन्। ताली बजाएर साथ दिन्छन्। कुनै गीत दोहोर्याएर गाउन हौस्याउँछन्। कुनै गीत मन परेन भने बीचमै रोकेर अर्को गाउन सुझाव दिनसमेत पछि पर्दैनन्।
प्यारालाइसिससँगै रामबहादुरको रहरको भाका : जिन्दगीले यसरी धोका दियो...
Posted by PahiloPost on Monday, July 20, 2020
'गायक बन्ने भनेको, भाग्यले धोका दियो', रामबहादुरको गुनासो छ,'तर, सुन्ने मान्छे भए पछि जता गाउँदा पनि हुन्छ नि।'
उनको परिवार छैन। विवाह गरेर गएकी बहिनीले ६ वर्ष अघि काठमाडौं ल्याइन्। तर, अपाङ्ग दाइलाई सधैंसँगै राख्न सकिनन्। पाँच महिना यता उनी आश्रममा भेटिनुको कारण त्यही हो। उनको बौद्ध स्तुपा अगाडि माग्दैगरेको अवस्थामा उद्धार भएको हो।
बुवालाई १७ वर्ष अगाडिनै गुमाए। उनकी आमाको पनि १ वर्ष अघि काठमाडौंमा निधन भयो। त्यस पछि उनी बेसहारा बने। उनको दु:खको श्रृङ्खला टुटेन। आमा बितेको केही महिनामै उनको दुवै हात चल्न छाड्यो। उक्त रक्तचापका कारण। उनी धन्य एउटै कुरामा छन्-आवाज गुमेको छैन। गाउन छाड्नु परेको छैन।
रामबहादुरलाई हिन्दी गायनमा लता मङ्गेष्कर, आशा भोषले र किशोर कुमार सबैभन्दा धेरै मन पर्छन्। नेपालीमा भने नारायण गोपाल, सञ्जिव प्रधान, रामकृष्ण ढकाल, राजेशपायल राई उनका मनपर्ने गायक भएको उनले सुनाए।