PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

यसपटक पाँचपोखरीमा मेला नभर्न गाउँपालिकाको आग्रह



यसपटक पाँचपोखरीमा मेला नभर्न गाउँपालिकाको आग्रह

काठमाडौं : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनै पूर्णिमामा धार्मिकस्थल पाँचपोखरीमा मेला नभर्न आग्रह गरेको छ।

गाँउपालिकाले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को असमान्य परिस्थितिलाई मध्यनजर गरी पाँचपोखरी क्षेत्रलगायतका धार्मिक स्थलमा जात्रा नभर्न आग्रह गरेको हो।

'यस गाउँपालिकाको प्रसिद्ध पाँचपोखरी क्षेत्रलगायत अन्य धार्मिक, साँस्कृतिक क्षेत्रमा जनै पूर्णिमाको अवसरमा वर्षेनी लाग्ने जात्रा, मेला यस वर्ष कोरोना भाइरस-कोभिड १९ को कारण उत्पन्न असामान्य र असहज परिस्थितिको कारण नगर्न /नगराउनहुन सम्पूर्ण महानुभावहरु अनुरोध गर्ने भनि मिति २०७७/०४/०५ गते बसेको गाउँकार्यपालिका बैठक बाट निर्णय भएको हुदाँ मिति २०७७/०४/१९ गते पर्ने जनै पूर्णिमाको अवसरमा गाउँपालिकाको पाँचपोखरी लगायत अन्य क्षेत्रमा लाग्ने जात्रा पर्व मेला नगर्न/नगराउनहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।

यस वर्ष जनै पूर्णिमा १९ गते परेको छ। पाँचपोखरीमा जनै पूर्णिमामा मेला लाग्ने लाग्दै आएको छ। समूद्री सतहदेखि ४२,०० मिटर उचाईंमा रहेको पाँचपोखरी उपत्यका पर्यटनका लागि आकर्षक गन्तव्य हो।

सानो उपत्यकामा पाँचवटा पोखरी रहेका छन् भने त्यसको केही पर शिवपार्वतीको मन्दिर रहेको छ। पाँचवटा पोखरीलाई तामाङहरुले जेठी, माइली, साइँली, काइँली र कान्छीको रुपमा वर्गीकरण गरेका छन् भने हिन्दुधर्मावालम्बीले भैरव, सरस्वती, गणेश, सूर्य र नागकुण्ड नामाकरण गरेका छन्।

पाँचपोखरी मन्दिर किसानको आस्थाको मन्दिर हो। खेतीपाती असम्भव हुने ठाउँमासमेत धान खेती हुने भनेर एउटा सुन्दर कल्पना किसानहरुलाई दिइएको देखिएको छ। किसानहरु ताजा मकै, काक्रो, दुध लिएर पाँचपोखरीमा चढाउन जान्छन् र खेतीपातीमा उन्नतिको आर्शीवाद माग्छन। गाईवस्तु दुहुनो होस्, गोठमा गाइवस्तु बढोस् भनेर महादेवसँग वर माग्छन्। सन्तान प्राप्ति नभएकाहरु पनि उक्त मन्दिर पुग्छन्। एकादशीदेखि जनैपूर्णिमासम्म जुनसुकै बेला पुगेर पनि वर मागेमा पुग्ने विश्वास रहदै आएको छ।

पाँचपोखरी मन्दिरको स्थापना

पाँचपोखरी मन्दिरको स्थापना २३३६ वर्षअघि सिकारी बुम्बा रुवा वाइबाले स्थापना गरेको पाँचपोखरीमा रहेको शिलालेखमा उल्लेख गरिएको छ । सिकारी बुम्वा सिकार खेल्न जाने क्रममा हिउँ पर्ने ठाउँमा धान रोप्दै गरेको दृश्य देखेपछि उनी नजिक पुग्दा महादेव नै देखिएको र उनले देख्ने वित्तिकै महादेवसहित सम्पूर्ण खेताला त्यहीबाट अलाप भएको उल्लेख गरिएको छ। त्यसपछि ती बुम्बाले सिकारको साथमा ल्याएको कुकुरको घाँटीमा लगाएको घन्टी फुकालेर त्यहाँ मन्दिर स्थापना गरेको बताइएको छ। हालसालै सिकारी बुम्बाले उक्त स्थान देखेको डाँडामा स्तुपासमेत निर्माण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell