जनकपुरधाम : महोत्तरीमा मंगलवार बिहान रातु नदी तर्ने क्रममा बेपत्ता भएका वीरेन्द्र कापरको शव भेटिएको छ। बलवा नगरपालिका-४ उत्तरबारी टोलस्थित रातु नदी कै छेउमा उनको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टले शवको पहिचान भइसकेको र तिनै युवकको शव भएको पुष्टि गरेका छन्।
मंगलवार बिहान नदी तर्ने क्रममा भंगहा नगरपालिका-६ का करिब ३५ वर्षीय वीरेन्द्र बेपत्ता भएका थिए। उनी भंगहा नगरपालिका-१ कविलासा पछियारी टोलस्थित रातु नदीमा साइकल बोकेर तर्न खोज्दा नदीको बहाबसँगै बगेका थिए।
बिहानैदेखि उनको खोजीमा परिवार, स्थानीय र प्रहरी लागेको थियो। साँझ करिब ६ बजे तिर उनको शव भेटिएको हो।