PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउन खुल्यो, कोरोना भुल्यो [सम्पादकीय]



लकडाउन खुल्यो, कोरोना भुल्यो [सम्पादकीय]

अर्थतन्त्रमा लकडाउनको चरम असर परेपछि सोमवार मन्त्रिपरिषदले लकडाउन पूर्ण रुपमा खोल्ने निर्णय लियो। अपरिपक्व तरिकाले निर्णयमा पुग्ने सरकारी शैलीको फेरि पुनरावृत्ति भयो। सरकारले जसरी कुनै तयारीविना लकडाउन सुरु गरेको थियो, त्यसरी नै खुला पनि गर्‍यो। लकडाउन क्रमश: खुकुलो हुँदै जाँदा जनजीवन सहज बन्दै गइरहेको थियो।

त्यसैबीच सरकारले कर तिर्न सूचना जारी गरेको थियो। जसको व्यापक विरोध भएपछि सरकार पछि हट्यो र सर्वोच्च सम्म पुग्यो। सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनसम्म कर असुलीको समय दिन आदेश दिएको छ। त्यसैले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा नआउँदै हतारमा लकडाउन अन्त्य भएको घोषणालाई कतिपयले कर असुलीसँग जोडेका छन्।

सर्वोच्चको वृहत पूर्ण इजलासले लकडाउन पूर्ण खुलेको अवस्था सार्वजनिक यातायता पूर्ण रुपमा सञ्चालनलाई पनि मानिएको छ। त्यसैले सरकारले लकडाउनलाई थप खुकुलो बनाउँदै सार्वजनिक सवारी चल्न अनुमति दिइसकेको थियो। निजी सवारीलाई जोरविजोरमा चल्न दिनेबाहेक अधिकांश गतिविधि सुरु भइसकेका थिए, शैक्षिक संस्था, सिनेमाघर र धार्मिक स्थलका गतिविधि बाहेक। मन्त्रिपरिषदको लकडाउन पूरा खुला गर्ने निर्णयले जोरविजोर प्रणालीमा यात्रा गर्नेलाई सम्बोधन गर्ने र लकडाउन खुला भएको कागजी प्रकृया पूरा गर्ने रणनीति जस्तै बनेको छ।

सम्बन्धित निकायसँग सल्लाहबिना लकडाउन खुला हुँदा ट्राफिक व्यवस्थापन कसरी हुन्छ? लामो दुरीमा चल्ने सार्वजनिक यातायात भदौ १ गतेबाट मात्र खुला हुने भनिरहँदा निजी सवारीलाई एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ गर्न लगाइएको रोक के हुने? लकडाउनका अवधिमा एम्बुलेन्सलाई समेत सार्वजनिक यातायात झैं भाडामा प्रयोग गर्नेहरु सक्रिय थिए। एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारी निषेध हुँदा निजी गाडीले मानिस ओसारपसार गर्न पाउँदैनन्। यदि निजी सवारी पनि एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्ने हो भने ट्रेकिङ खुला गर्नुको औचित्य कसरी पुष्टि गर्न सकिन्छ? सरकारी संयन्त्रले प्रस्ट पार्न आवश्यक छ।

राजधानीका प्रमुख चोकहरुमा आज सवारीको जाम जसरी देखियो त्यसले मानिसहरु खुम्चिएर बस्न सक्दैनन् भन्ने देखाएको छ। बजार खुला हुन थालेको त केही अघिदेखि नै हो। भौतिक दुरी कायम राखेर बजार संचालनमा छन् कि छैनन् कसले अनुगमन गर्ने? सार्वजनिक सवारीमा सामाजिक दुरी कसरी तय हुन्छ? ट्राफिक प्रहरीले सडकको जाम व्यवस्थापन गर्ने कि सवारीभित्र रहेका मानिसको अवस्थाको निगरानी राख्ने? के यही अवस्था र संयन्त्रले भौतिक दुरी कायम भए नभएको मूल्याङ्कन गर्न सक्छ? प्रश्न किन पनि आवश्यक छ भने, लकडाउन खुल्नु भनेको कोरोना भुल्नुजस्तो हुने सम्भावना देखिएको छ। त्यस्ता सार्वजनिक सवारी साधन पनि चलेका छन् जसमा सामाजिक दुरी कुनै हालतमा पनि कायम राख्न सकिन्न। अहिले संचालनमा रहेका सवारी साधनले सुरक्षा सर्तकर्ता अपनाएका छैनन् पनि। 

कोरोना संक्रमण सुरु भएपछि मानिसको जीवनशैलीमा केही परिवर्तनहरु देखिएको छ। मानिसका मुखमा मास्क देखिन थालेको छ। सरकारले पनि मास्क लगाउन अनिवार्य गरेको छ। अझै पनि मिलेसम्म मानिसहरुले भौतिक दुरी पनि कायम गरेको देखिन्छ यसलाई सकारात्मक रुपमा नै लिन सकिए पनि त्यसबाहेकका अन्य तयारी जुन रुपमा हुनुपर्थ्यो, त्यतातिर ध्यान पुगेको छैन। मानिसहरुको धेरै भिड हुने बजारहरुको अवस्था हेर्ने हो भने कोरोना भाइरस पनि थियो र! भन्नेखालका दृष्य देखिन थालेका छन्। सरकारले लकडाउन खुला गरे पनि कोरोनाको जोखिम टरेको छैन। त्यसकारण सर्वसाधारणले परिपक्वता देखाउन आवश्यक छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell