PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

रिहा भए सशस्त्रका पूर्वडिआइजी रञ्जन, जन्मकैदको सजाय घटाएको थियो सर्वोच्चले



रिहा भए सशस्त्रका पूर्वडिआइजी रञ्जन, जन्मकैदको सजाय घटाएको थियो सर्वोच्चले

काठमाडौं : श्रीमतीको हत्या गरेका पूर्वडिआइजी रञ्जन कोइराला छुटेका छन्। काठमाडौं जिल्ला र उच्च अदालत पाटनको जन्मकैद ठहरको सजाय उल्टाउँदै सर्वोच्च अदालतले कैद सजाय घटाएपछि कोइराला छुट्का हुन्।

सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। बिहीवार कोइराला सर्वोच्चले तोकेको कैद सजाय भुक्तान गरेर डिल्लीबजार सदरखोर जेल मुक्त भएका हुन्।

कोइरालालाई श्रीमती गीता ढकाल (कोइराला)लाई हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा. ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा नियन्त्रणमा लिएको थियो। घटनाको प्रकृति, प्राप्त प्रमाणलगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन( तत्कालीन पुनरावेदन) पुगे। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सही भएको भन्दै सदर गर्‍यो।

त्यसपछि उनको अन्तिम सहारा सार्वोच्च अदालत बन्यो। सर्वोच्चले पनि उच्च र जिल्लाकै निर्णय सदर गरेको भए कोइरालाले २० वर्ष जेल सजाय भुक्तान गर्नुपर्थ्यो। तर अदालतले कोइरालाको साढे ११ वर्ष कैद मिनहा गरिदियो।

सर्वोच्चले किन मिनाह गर्‍यो ११ वर्ष?

सर्वोच्च अदालतले कोइरालालाई साढे ११ वर्ष सफाइ दिनुको कारण यस्तो देखायो,'मृतक गीता ढकाल र पुरावेदन प्रतिवादी रञ्जनप्रसाद कोइरालाकाबीच मिति २०६८।९।२७ गतेदेखि विवाद, झै-झगडा भई हात हालाहाल धकेलाधकेल हुँदा टाउको भित्तमा ठोकिइ गीता ढकालको मृत्यु हुन पुगेको वारदात पुनरावेक रन्जनप्रसाद कोइरालालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको सुरु काठमाडौं जिल्ला अदालतको मिति २०७१/१/१७ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।८।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहरे पनि मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्वसहित जन्मकैदको कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७ (२) मा ज्यान मार्ने कसूर गर्ने गराउने व्यवक्तिलाई जन्मकैदको सजाय मात्र हुने भनी कानूनी व्यवस्था रहे भएको देखिएकाले  पुनरावेदक प्रतिवादी रन्जनप्रसाद कोइरालालाई जन्मकैदको मात्र सजाय हुने ठहर्छ। अभियोग दाबी सफाई पाउँ भन्ने प्रतिवादी रन्जनप्रसाद कोइरालाको पुनरावेदन जिकिर समेत पुग्न सक्दैन।'

त्यस्तै अदालतले अर्को कारणमा भनेको छ 'पुनरावेदक प्रतिवादी रन्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हो कि भन्ने सम्बन्धमा विचार गर्दा मृतक गीता ढकाल (कोइराला) र पुनरावेदक प्रतिवादी रन्जनप्रसाद कोइरालाबीच २०५० सालमा विवाह भै निजहरुबाट १४ वर्षका आयूष कोइराला र ११ वर्षका आर्यन कोइराला गरी दुई छोराहरुको जायजन्म भएपश्चात् निज छोराहरुको आमा गीता ढकाल (कोइराला) को मिति २०६८।९।२७ मा पुनरावेदक प्रतिवादीको कर्तब्यबाट मृत्यु भएको देखियो। मिसिल संलग्न प्रमाण कागजहरुबाट मृतक र पुनरावेदक प्रतिवादीबाट दुई छोराहरुको जायजन्म भएपछि निजहरु बीचको दाम्पत्य जीवन सुमधुर हुन नसकी दुवै जना एक अर्काबाट लामो समयदेखि अलग अलग घरमा बस्दै आएको अवस्थामा मिति २०६८।९।२७ गतेका दिन मृतक बस्ने घरमा प्रतिवादी रन्जनप्रसाद कोइराला जाँदा मृतक श्रीमती गीता ढकालले व्यापारको लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुवै जना बीच झै-झगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई पुनरावेदक प्रतिवादी रन्जनप्रसाद कोइरालाले गीता ढकाल कोइरालालाई धकेल्दा टाउको भित्तामा ठोकिई मृत्यु भएको, वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखिनुको साथै निजको मृत्युपश्चात् नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षादिक्षा लगायतका कार्यहरु अभिभावक विहिनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पुरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रन्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ। अरुमा तपसिल बमोजिम गर्ने।'

यसरी भएको थियो हत्या

कोइराला र ढकालबीच २०५० सालमा मागी बिहे भएको थियो। केही वर्षपछि उनीहरुबीच विवाद उत्पन्न भयो। त्यसपछि रञ्जनले सम्बन्ध विच्छेदको गर्न चाहेका थिए। यही विषय अदालतमा समेत पुगेको थियो। २०६८ पुस २७ गते गीता घरबाट एकाएक हराइन्। परिवारले प्रहरीमा उजुरीसमेत दिए।

माघ ७ गते गीताको हत्या गरी जलाएर फालिएको ठाउँमा रञ्जनलाई स्थानीयले भेटेका थिए। त्यसपछि नै रञ्जनको हत्याको रहस्य बाहिरिएको थियो। प्रहरीको अनुसन्धानमा रञ्जनले पुस ७ गते नै श्रीमतीको हत्या गरी सशस्त्र प्रहरीको गाडीमा राखेर टिष्टुङमा लगि पेट्रोल खनाइ शवको व्यवस्थापन गर्न खोजेको देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell