'अब यो घाउ दाग बनेर बस्छ होला है?'
उनले आफ्नै गाला सुम्सुम्याउँदै प्रश्न गरिन्। कसैले जवाफ दिनुअघि नै उनका आँखाबाट आँसु झर्यो। त्यसपछि कोल्टे फेरिन्। एकछिन लगातार सुक्सुकाइन्।
बिहीवार राति एउटा क्रुर अपराधीको निसाना बनिन् उनी। २२ वर्षीया उनीमाथि उनकै पहिलेको साहुले एसिड आक्रमण गरे। टाउको र अनुहारको दायाँपट्टिको भाग, निधार, आँखामाथि एसिडको असर प्रष्टै देखिन्छ। हातमा पनि चोट लागेको छ। तर, छपक्क लगाएको मेहेन्दीले फुट्न बाँकी फोकाहरु नभए झै लाग्छ।
'अस्ति भर्खर लगाएको, पार्लरमा पैसा तिरेर। दिनदिनै भाडा माझ्दा पनि खुइलिएन भनेर खुशी भएको थिएँ,' मेहेन्दी हेर्दै बोलिन्, 'त्यसभन्दा महङ्गो पर्ने छाप बनाइदियो। यो त चाहेर पनि जाँदैन होला।'
यति बोलिसक्दा उनी हातमा एसिडको छिटा परेर बनेका फोकाहरू छुने कोसिस गर्दै थिइन्।
कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरको जनरल वार्ड। जल्नुको फरक कथा बोकेर बसिरहेकाहरूको बीचमा छिन् उनी। औषधीको डोजले दुखाई र जलन त महसुस हुन दिएको छैन। तर, उनलाई थाहा छ घाउ सतही होइन - शरीरमा लागेको, जीवनमा लागेको पनि। त्यसैले घरीघरी मुहारमा हात पुर्याउँछिन्। नजिकै बसेकी दिदी सतर्क बनेर हात पन्छाइदिन्छिन्। भन्छिन् – 'घाउ छुनु हुँदैन क्या।'
त्यसपछि उनी आफ्ना लामा नङहरू खेलाउन थाल्छिन्।
आफैसँग बोल्छिन् – यो पनि काट्न भनेका छन्। पोलिस पनि सबै मेट्न लगाए।
दिदीले पटकपटक नङ काटिदिन खोजिन्। उनले हात पन्छाइरहिन्। केहीबेर टोलाएपछि उठाइदिन आग्रह गरिन्।
अनि आकार दिएर पालेका नङहरूलाई बेपर्वाह काट्न थालिन्।
श्रृङ्गार गर्नु उनको रुची हो। लकडाउन खुकुलो भएपछि मात्र हो कपाल छाँटेर हाइलाइट गरेको। साउन महिनाका लागि नङमा बुट्टा र रङ भरेको। मेहन्दी लगाएको।
'श्रृङ्गार गर्नु गल्ती हो जस्तो लाग्दैन। रहर हो मेरो। तर, उनीहरूलाई मैले मुहार र श्रृङ्गारकै कारण घमण्ड गरेको भ्रम रहेछ। मन नपरेको मानिसलाई मबाट टाढा बस् भन्दा यस्तो बनाइदिए।
अब के नै बाँकी छ र?', उनीसँग प्रश्नैप्रश्न छन्। अनि जिज्ञासाहरूको खात पनि।
डाक्टरले उनको जलन कति गहिरो छ? भनिसकेका छैनन्। ठीक हुन्छ वा हुँदैन? दाग रहन्छ या मेटिन्छ? त्यो पनि थाहा छैन। आफैलाई हेर्न चाहन्छिन् उनी। तर, वरपर भित्तामात्र छन्। नजिकका शैय्याहरूमा शरीरको कुनै अङ्ग वा भाग जलेको घाउ बोकेर बसेकाहरू पनि। उनीहरूमा आफूलाई देख्छिन्। सोच्छिन् – म पनि यस्तै देखिएकी छु होला।
वार्डमा बिरामीलाई पर्दा उठाउने/बसाउने, पानी पिलाउने/खाजा खुवाउनेहरू पनि छन्। उनीहरू चाहिँ आशा बोकेर बसेका छन्।
ती मानिसहरू उनलाई आफ्नै दिदीहरूजस्तै लाग्छ। जो तलमाथि बनेको जिन्दगीको ग्राफ मिलाउन खोज्दैछन्। कति दिन अस्पतालमा राख्न कति ऋण खोज्नुपर्छ? हिसाब गर्दैछन्।
दिदीहरू नै युवतीका काठमाडौंका सहारा हुन्।
+++
ओखलढुङ्गामा ‘प्लस टू’ सम्मको पढाई सकेर काठमाडौं आएकी थिइन् उनी। तर, पढ्ने रहरलाई अन्य बाध्यताहरूका कारण केही वर्ष थाँती राखिन्। दिदीहरूसँगै काममा निस्किइन्। जेठी र साइली दिदीले काम गर्ने गार्मेन्टसम्म उनी पनि धाउन थालिन्।
डल्लुस्थित सोही गार्मेन्टको साहु हुन् पीडक मोहम्मद आलम। त्यहाँ काम गर्दा नै हो उनीहरूको चिनजान भएको। ४७ वर्षीय साहुकी श्रीमती छिन्। छोराछोरी छन्। त्यसैले कहिले काहीँ जिस्काउँदा सामान्य रुपमा लिइन्, युवतीले। केही वर्ष त्यहीँ झोला बनाउने काम गरिन्। त्यसैले पनि नियमित भेट हुनु स्वभाविक थियो।
काम परिवर्तन गरेपछि भने साहुसँगको नियमित भेटघाट टुट्यो। तर, अलामले फोन गर्न छाडेनन्। 'कहिले काहीँ हाल खबर सोध्थे। म जवाफ दिन्थेँ। कहिले जिस्काउँथे। त्यस्तो बेलामा फोन काटिदिन्थेँ,' युवतीले सुनाइन्।
पछिल्लो समय भने फोन गर्ने शिलशिला बढ्यो। फोन गरेर हालखबर मात्र सोध्थेनन्, आफू युवतीलाई निकै माया गर्ने समेत बताउँथे साहु। रक्सी पिएर फोन गर्ने, अश्लिल शब्द बोल्ने, गाली गर्ने, धम्क्याउन पनि थालेका थिए। युवतीले नम्बर ब्लक गर्थिन्। तर, समस्या केही दिनमै बल्झन्थ्यो। उनी नयाँ नम्बरमार्फत् फोन गर्थे।
'मेरो फोन व्यस्त हुँदा उसलाई खोइ के समस्या हुन्थ्यो। यसै मुर्मुरिन्थ्यो। गाली गर्थ्यो,' उनले भनिन्, 'फेरि मैले पटकपटक मसँग सम्पर्क नगर्न भनेकी हुँ। तर, सधैं गाली र धम्की दिन्थ्यो। जे भए पनि साहुजस्तो मान्छे। सहेरै बसेँ।'
युवतीकी दिदीले नङ्ग्रा खियाएर जम्मा गरेको पैसा आलमलाई नै सापटी दिएकी थिइन्, 'साहु हुन्' भन्ने भरोसामा। 'ब्याज आउँदैगरे केही खर्च टर्छ' भन्ने आशा थियो। निहुँ खोजे त्यही पैसा फिर्ता नआउला भन्ने डर पनि उत्तिकै थियो उनीहरूलाई।
+++
बिहीवार करिव ७ बजे दही च्युरा किन्न भनेर निस्किइन् युवती। कोठाबाट केही पर पुगेपछि उनको फोन बज्यो। स्क्रिनमा नाम देखियो - मोहम्मद आलम। फोन उठाइन्। खबर सोधे, जवाफ दिइन्। आफू बाहिर भएको बताउँदा आफू पनि सोही ठाउँमा रहेको बताउँदै भेट्न प्रस्ताव राखे।
'उसैले मलाई कोठासम्म पुर्याइदिने प्रस्ताव राख्यो। सुरुमा मानिनँ तर उसले जिद्दी गरेपछि बाइकमा बसेँ। बाटोमा रोकेर दही र च्युरा किनेँ,' युवतीले सुनाइन्, 'तर एकान्त र अध्यारो ठाउँमा पुगेर उसले रोक्यो। त्यहाँ खाली जग्गा छ। डर लाग्यो। म उसले केही भन्नु अघि ओर्लिएर सरासर कोठातर्फ लागेँ।'
तर, त्यसपछि सबैकुरा बद्लियो। सोही खाली जग्गाको एउटा कुनामा कोही पिसाब फेर्दै थियो। उनलाई अप्ठ्यारो लाग्यो। त्यसैले पाइला केही छिटो चालिन्। तर, त्यही मानिसले उनलाई पच्छ्यायो। उनको घाँटीमा साढे एक तोलाको सिक्री थियो। सोचिन् – त्यही लुट्न पच्छ्यायो। तर, हिँड्दाहिँड्दै उनीमाथि केही तातो छ्यापियो। कसले छ्याप्यो देखिनन्। के छ्याप्यो? त्यसको पनि भेउ पाइनन्।
'त्यतिन्जेल पनि मैले एसिड हो भन्ने सोचिनँ। बरु बेहोस् बनाउने औषधी होला भन्ने लाग्यो। फटाफट हिँडे, चिच्याउँदै कराउँदै। बाटोमै बेहोस् भए पनि कसैले थाहा पाउँछ, उद्दार गर्छ भन्ने ठानेर,' उनले भयावह अवस्था सम्झिइन्।
करिब ३ मिनेट हिँडेर एक तला माथि रहेको कोठामा पुग्दा पनि उनी बेहोस् भइनन्। हिम्मत हारिनन्। बाथरुममा गएर मुखमा पानी छ्याप्दा पनि पोल्न छाडेन। त्यतिन्जेल मानिसहरू जम्मा भइसकेका थिए। भीडबाट आवाज आइरहेको थियो – 'एसिड अट्याक भयो एसिड।'
'पुलिस बोलाउ पुलिस।'
प्रहरी आएर भ्यानमा राखेर शिक्षण अस्पताल महाराजगंज पुर्याए। त्यहाँबाट कीर्तिपुर रेफर गरियो। युवती पूर्ण होसमा थिइन्। जलन सहन गाह्रो भइरहेको थियो तर त्योभन्दा बढी पोल्यो मनमा खेलेका कुराहरूले। प्रहरीको प्रश्नहरूले।
कसैसँग झगडा परेको थियो कि?
प्रेमीसँग?
कसैसँग कुनै किसिमको रिसइवी पो थियो कि?
'मैले कसैमाथि शंका गर्ने कुनै ठाउँ नै थिएन। एसिड अट्याक भयो भन्ने थाहा पाउँदा समेत मलाई यो सबै मेरो सिक्री लुट्नका लागि भयो भन्ने थियो', उनले सुनाइन्, 'मैले कसैको केही बिगारेको छैन त्यसैले मेरो पनि कसैले केही बिगार्दैनन् भन्ने थियो।'
शुक्रवार बिहान थाहा पाइन् – आक्रमणमा संलग्न दुई जना समातिए। आक्रमण गर्नुको कारण खुल्यो- 'रुप'को घमण्ड देखाउँदा असह्य भयो, एसिड हान्ने योजना बन्यो।
'मान्छेले मेहनत गर्ने नै खान, लगाउन होइन? मीठो खाएको कसैले देख्दैन। राम्रो लगाएको देख्छन्। देखेर मन पराउनेको इच्छा अनुरुप प्रस्तुत नहुनु मेरो गल्ती हो? होइन भने उसले मैलेजस्तै पीडा भोगोस् अब योभन्दा बढी केही इच्छा छैन मेरो,' उनले भनिन्।
घटनामा संलग्न आलम नै हुन् भन्ने थाहा पाएपछि भने उनको आक्रोश चुलिएको छ। आलमले केही महिना यता साह्रै दु:ख दिन थालेका थिए।
साउनको अन्तिम साता जीवन बीमाको केही काम फत्ते पार्न निस्किएकी थिइन् उनी। निजी साधन नभएकाले ओखलढुङ्गामा सँगै पढेका साथीसँग सहयोग मागिन्। साथीले पुर्याइदिने भए।
'त्यस दिन आलमले मलाई पच्छ्याएको रहेछ। उसले मलाई फोन गरेर जो पाए त्यही मान्छेसँग किन हिँडेको भनेर प्रश्न गरेको थियो। मैले जवाफ नदिइ फोन काटेँ। सायद् त्यसैको रिस फेर्न यस्तो कर्तुत गर्यो,' उनले लख काटिन्। तर उनीसामु प्रष्ट जवाफ छैन - आफूले गर्दै नगरेको गल्तीको सजाय किन भोग्नु पर्यो?
+++
गाउँमा उमेरले ७६ टेकेका बुबा र ६५ कटेकी आमा छिन्। आफ्नै ठाउँ, छोरीसँग मिल्दो नाम/थर भएकी युवतीमाथि एसिड प्रहार भएको खबर ओखलढुङ्गा पुग्न समय लागेन। पीडित आफ्नै छोरी हो भन्ने थाहा पाए पछि युवतीका दुई भाइले केही मिनेटको अन्तरालमा फोन गरिरहेका थिए।
कहिले खबर लिन्छन् – दिदीलाई कस्तो छ?
कहिले खबर दिन्छन् – आमा बेहोस् नै हुनुहुन्छ।
दुरीले अर्को ठूलो घाउ बनाइदिएको छ, यी दिदी बहिनी र ती आमाबुबा र भाइहरूको हृदयमा।
यता, छोरीहरू उपचारका लागि ऋण जोहो गर्न फोनमा भएको हरेक नम्बर डायल गर्दैछन्। उता आमाबुबा काठमाडौं आउने गाडी रिजर्भ गर्न चाहिने रकम जोहो गर्दैछन्। 'यस्तै अवस्थामा रहेछ आफ्नो मान्छे नजिक हुनुपर्ने,' माइली दिदीले भनिन्।
'आमालाई कहिले हेरुँजस्तो भएको छ। तर, मलाई यो अवस्थामा देख्दा उहाँलाई कस्तो होला?,' युवतीको प्रश्न छ।
नजिकै उभिएकी मुस्कान खातुनले युवतीको हात समाइन्। फोनमा आफ्नो पुराना तस्विर देखाइन् र भनिन्, 'म पहिले यस्तो थिएँ। अब यस्तो कहिल्यै हुँदिन। तर, म अहिले झनै सुन्दर भएकी छु मनैदेखि। झनै बलियो भएकी छु। अब हजुर पनि त्यस्तै हुनुपर्यो। अपराधीविरुद्ध सँगै लड्नुपर्छ दिदी।'