जनकपुरधाम : धनुषामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। धनुषाको शहीदनगर नगरपालिका डुमरिया बस्ने ३८ वर्षीय एक पुरुषको कोरोनाका कारण आइतवार मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट एवं कोभिड-१९ विशेष अस्पतालका प्रमुख जामुन सिंहले जानकारी दिए।
अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता लक्षण देखिएपछि उनलाई शनिवार प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना विशेष अस्पतालस्थित आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान रिफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको सिंहले जानकारी दिए।
सिरहा पुगेपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमित कुनै प्रकारको दीर्घ रोगी नरहेको डा सिंहले बताए।
उनको शवलाई व्यवस्थापनको लागि जनकपुर ल्याउन लागिएको छ। कोरोनाबाट धनुषामा यो पहिलो मृत्यु भएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ।