छोरीको हत्यारा जेलबाहिर निस्किएपछि आइतवार हरेराम ढकालको दिन सर्वोच्च अदालतमा बित्यो।
आफ्नी छोरी गीता ढकालको हत्या गरेका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय सर्वोच्चले नै घटाइदिएपछि हरेराम केही दिन यता असमञ्जस्यमा छन्।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीले जेलमा रहेका हत्यारालाई ११ वर्ष अघि नै बाहिर निकालिदिएपछि हरेरामको घाउ बल्झिएको छ। अझ हत्याका दोषी नेताको शैलीमा हात हल्लाउँदै जेलबाट बाहिर निस्कँदा उनकी श्रीमती हरिप्रियालाई झनै असह्य भएको छ। त्यसो त चौतर्फी विरोधपछि सरकारले पूर्व डीआइजी रञ्जन कोइरालाको मुद्दा पुनरावलोनका लगेको छ।
हत्यारालाई पुन: जेल भित्र हुल्ने प्रयासमा हरेरामको यतिखेर ८ वर्ष पहिलेजस्तै गरी लागिपरेका छन्।
+++
आइतवार बिहानैदेखि हेरेराम सर्वोच्च अदालतका कोठा र चोटा चाहारे। वकिलहरूका थरीथरी कुरा सुने। बिहानभर अदालतले छोरीको हत्याको मुद्दा पुनरावलोकन गर्न अनुमति देला कि नदेला भन्ने संशय भइरह्यो। किनकि सर्वोच्चले नै जिल्ला अदालतले तोकिदिएको जन्मकैद (२० वर्ष जेल)को सजाय घटाइदिएको थियो।
सर्वोच्च परिसरमा दिनभर उनलाई कहिले आफन्त त कहिले पत्रकारले फोन गरिरहे। सबैको एउटै प्रश्न थियो – पुनरावलोकनको अनुमति पाइयो? कति बजे आउँछ आदेश?
त्यही कौतुहलताको प्रतीक्षामा थिए उनी पनि। जब न्यायाधीशले आदेश सुनाए उनले थोरै नै सहि राहतको सास फेरे।
न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको कैद सजाय घटाउन नमिल्ने देखिएको भन्दै पुनरावलोकन गर्न अनुमति दियो। त्यसपछि भने हरेराम एकपछि अर्को गर्दै फोनमा जवाफ फर्काउन थाले।
‘मलाई फोन गर्ने सबैलाई जवाफ दिन मन लाग्छ,’ सर्वोच्च अदालतको परिसर बाहिर उभिएर हरेरामले भने, ‘मनमा भन्न मन लागेका कति धेरै कुरा छन्। अनि कता पोख्नुजस्तो हुन्छ। अझ यो अन्यायको घटना त धेरैले सुन्नुपर्छ जस्तो लाग्छ। यो पीडा मेरो हो। तर, जसलाई पनि यस्तो अन्याय पर्न सक्छ।‘
आदेश आएपछि अदालतबाट बाहिर निस्किए उनी। तर तत्कालै अर्को फोन आयो - ‘एक ठाउँमा सही छुटेछ। भित्र आउनुस्।‘
हरेराम हतारिँदै भित्र छिरे।
‘यो न्यायको लडाईँ हो। सानो कुरा पनि छुट्न दिनु भएन। म सहि गरेर आउँछु,‘ अदालत छिर्नुअघि उनले सुनाए।
उनले इङ्गित गरेको लडाईँ सजिलो छैन। यो लडाईँ हेरेरामका लागि छोरीको हत्याराविरुद्ध मात्र होइन, देशको न्याय व्यवस्थाविरुद्ध पनि हो। अनि आफैँले खेलाएर हुर्काएका नातिले लगाइरहेको आरोप विरुद्ध पनि।
नाति आयुषले हरेराममाथि हत्या गरिएकी आमा गीतासँग एक करोडको लेनदेनको कागजात भेटेको आरोप लगाएका छन्। उनले रञ्जन कोइराला निर्दोष रहेको बताएका छन्। अनि आफू साढे ८ वर्ष बुबासँग छुट्टिनु परेको भन्दै पीडा व्यक्त गरेका छन्।
रातोपाटी अनलाइनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् - यो सबै घटना हजुरबुवाले ‘फ्रेम’ गर्नुभएको हो। घटना भएको ५ वर्षपछि त्यस घरमा जाँदा एउटा कागज भेटेँ जसमा ममी र हजुरबुबाबीच एक करोड लेनदेनको कागज भेटेँ। एकतिर आफ्नो बुबा अर्कोतिर हजुरबुबा। तुलोमा बराबर। मैले केही सोच्नै सकिँन।‘
हरेराम भने नातिको आरोपले दुखित छैनन्। बरु नाति पनि घटनामा तानिएर दु:ख पाउला कि भन्ने लागेको छ। ‘ऊ त अबोध छ, ब्रेनवास गर्न सजिलो छ। यदि उसले मलाई आरोप लगाउँथ्यो भने बुबा र हजुरबुबा तुलोमा बराबर भन्दैन थियो,’ हरेरामले भने, ‘भोलि कसैले सिकाएको कुरा बोलेर ऊ पनि झमेलामा नपरोस्। कानून उसका विरुद्ध कारवाही गर्न बाध्य नहोस्।‘
उनले नातिको अन्तर्वाता आफ्नी श्रीमतीलाई पनि सुनाए। उनी प्रतिक्रिया विहीन छिन्। छोरीको हत्यापछि मानसिक अनि शारीरिक रुपमा कमजोर उनी आँशु खसालिरहन्छिन्।
साउन ८ गते जब रञ्जन जेलबाट छुटे त्यसदिन समाचार हेर्दै थिइन् हरिप्रिया। सोचेकी थिइन्, अपराधी ग्लानी बोकेर निस्कनेछ। उसको आँखा लाजले झुक्नेछ। 'तर मन्त्री जसरी हात हल्लाउँदै निस्कियो। अझै इज्जत बाँकी छ भन्ने सोचेको होला,’ उनको आवाज मलिन सुनियो, 'धन्न मेरा आँखा कमजोर छन्। अपराधी छुटेर सानका साथ बाहिर निस्किएको दृश्य प्रष्ट देख्नु परेन।'
तर, पुरानो घाउ फेरि कोट्याइदियो सर्वोच्च अदालतले। उनी त्यही दिन झल्झली सम्झन्छिन् जुन दिन आफ्ना तीन सन्तानसँग एकैसाथ समय बिताउन खोजेकी थिइन्।
२०६८ सालको पुस २७ गते। कान्छी छोरी रीता एक महिना लामो नेपाल बसाइ पछि अमेरिका फर्किँदै थिइन्। छोरा प्रदीप पनि अमेरिकाबाटै नेपाल आएका थिए। करिव १ महिनाको बसाइमा तीन दिदीभाइ निकै घुमघाम गरेका थिए। तर, बहिनी फर्किँने दिन नै गीता माइती आउन मानिनन्।
‘उसको खुट्टा मर्केको थियो। मैले भाइलाई गाडी लिएर लिन पठाउँछु भनेको हुँ। तर, मान्दै मानिन। जिद्दी गरिरही,’ हरिप्रियाले सम्झिइन्।
१२ बजेसम्म आमा र बहिनीसँग पालैपालो फोनमा बोलेकी थिइन् गीता। करिव १ बजेपछि भने उनको फोन उठ्न छाड्यो। त्यसपछि सबै व्यस्त रहे। रीताको सामान प्याकिङ सकिएको थिएन। उनलाई एयरपोर्टसम्म पुर्याउन जानु थियो।
‘राती पनि फोन उठेन। खुट्टाले धेरै नै दु:ख दियो होला भन्ने अनुमान त गर्यौं। तर छोरीको ज्यान नै गइसक्यो भन्ने चाहिँ सोचेनौं। किनकि त्यस समय रञ्जन नेपालमा थिएनन्। सशस्त्र तालिमका लागि चीनमा थिए,’ उनले भनिन्।
भोलिपल्ट हरेराम, हरेप्रिया र उनीहरूका छोरा प्रदीप प्रहरी टोलीसहित चपली, बाँसीकोटस्थित गीताको घरमा पुगे। त्यहाँ पुग्दा अवस्था असामान्य थियो। सामानहरू छरपस्ट। खोलबिनाको सिरानी फालिएको थियो। सशस्त्र प्रहरीमा रहेका ज्वाइँ जो नेपालमा थिएनन्, उनको बुट ढलिरहेको अवस्थामा देख्दा भने हरिप्रियाको मन आत्तियो।
‘रित्तो घर। सामानहरू ठाउँमा थिएन। छोरी पनि थिइन। त्यस पछि मेरो हंशले ठाउँ छाड्यो,’ भनिन्, 'उसको जाने ठाउँ माइतीमात्र त थियो। कसले कहाँ लग्यो अनुमान गर्नै सकेनौं।'
कसैले अपहरण पो गर्यो कि? छोरीको हत्या त कल्पना बाहिरको कुरा थियो।
सोही दिन अर्थात् पुस २८ गते भयावह यथार्थ सार्वजनिक भयो।
+++
पुस २७ गते रञ्जनले श्रीमतीसँग बस्दै आएका कान्छा छोरा आर्यनलाई त्यहाँबाट लिएर गए। कहाँ लगे? थाहा छैन। जेठा छोरा आयुष घरपट्टिको हजुरआमासँग बानेश्वरमा बस्थे। रञ्जन र गीताबीच वैवाहिक सम्बन्ध भए पनि उनीहरु बेग्ला बेग्लै बस्न थालेका थिए।
२०६१ सालमा गीताले रञ्जनको तारा रेग्मीसँग बिहेइतर सम्बन्ध रहेको थाहा पाइन्। सुरुवाती दिनमा रञ्जनले आफूहरू राम्रो साथीमात्र भएको बताए पनि पछि तारासँग प्रेम सम्बन्ध रहेको स्वीकारेका थिए। लगत्तै गीतामाथि मानसिक र शारीरिक हिंसाको श्रृङ्खला सुरु भएको थियो।
हरेक पटक मार्ने धम्की दिँदा छोरीले रुँदै फोन गरेको अझै सम्झन्छिन् हरिप्रिया। हरेकपटक माइती आउँदा बुट र पेटीले शरीरमा पारेको डोब छोप्न उनले गरेको संघर्ष झल्झली हुन्छ उनलाई।
त्यही धम्की र यातना सहनुको नतिजा भारी पर्न सक्ने अनुमान थियो गीताको। त्यसैले सुरक्षाको माग गरेकी थिइन्।
'मारेर तेरो लास गायब पार्छु भन्ने धम्की पटकपटक दिएको हो। त्यसैले छोरीले सशस्त्र प्रहरी, महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोगदेखि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रायसम्म निवेदन दिइ। तर, प्रक्रिया र प्रश्नहरू लामा भए। निवेदनको मतलव भएन। हाम्री छोरी मारिइ,' हरेरामले सुनाए।
रञ्जन चीनमा भएकै कारण छोरी सुरक्षित छिन् भन्ने लागेको थियो गीताका आमाबुबालाई।
रञ्जन पुस २१ गते नै गोप्य रुपमा नेपाल आएको र छोरीको योजनावद्ध रुपमा हत्या गरेको पत्तो पाएनन्। त्यतिखेर उनी प्रेमिका तारा रेग्मीको घरमा बसेका रहेछन्।
हरिप्रियाले भनिन्, 'कसैलाई केही जानकारी नदिइ आएको रहेछ। मारेर सुटुक्क फर्कने भन्ने योजना रहेछ त्यसको।'
तर, रञ्जनको कर्तुत सार्वजनिक हुन समय लागेन। गीतालाई मारेर उनको शरीर टुक्राटुक्रा पारी मकवानपुरको टिस्टुङ पुर्याए। त्यहाँको मेत्राङ्ग भन्ने ठाउँमा पेट्रोल छर्किइ आगो लगाए।
जलेर नसकिएको अस्थिपञ्जरसँगै गाउँलेले रञ्जनलाई पटकपटक देखे। नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउन खोजेका पनि हुन्। तर, उनीसँग सशस्त्रको हाकिम हुनुको प्रमाण थियो। जसका कारण मकवानपुर प्रहरीले समेत उनलाई छाडिदियो।
तर, प्रहरीले रञ्जनलाई काठमाडौं छिर्नु अघि नागढुङ्गाबाट पक्राउ गर्यो।
प्रहरीले गीताको शवको बाँकी अंश बरामद गरी पोस्ट मार्टमका लागि काठमाडौं पठाइसकेको थियो।
रञ्जनले भने हत्याबारे फरकफरक कथा बुनिरहे। प्रहरीसँग आफूहरूबीच पैसाका कारण झगडा परेको, हात हालाहाल हुँदा गीता ठोक्किएर लडेको र ज्यान गुमाएको दावी गरे। घरी कसैले आफ्नी श्रीमतीको अपहरण गरेको र आफू लिन जाँदाजाँदै बाटोमा गाउँलेले रोकेको बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंमा ससुरा हरेराम ढकालले आफ्नो श्रीमतीको हत्या गरेको भन्दै निवेदन दिन पनि पछि परेनन् उनी।
जिल्ला र तत्कालीन पुनरावेदन अदालतले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए।
'त्यस समय सत्यको जीत भयो। अदालतले सही फैसला गर्यो। रोएर कराएर छोरी फर्किन्न थिइ। अपराधीले सजाय पाउँछ भन्नु नै चित्त बुझाउने बाटो थियो तर सबैभन्दा माथि पुगेर…,' हरेराम बोल्दाबोल्दै रोकिए।
कारण – सर्वोच्च अदालतको पछिल्लो आदेश। जसले उनीहरूको छोरीको हत्याराको साढे ११ वर्ष कैद मिनाहा गरिदियो।
गीता नभएकै कारण हरेक दिन जीवन अपुरो मान्दै बाँचिरहेका हरेराम र हरिप्रियाका लागि सर्वोच्च अदालतको उक्त निर्णयभन्दा खराब खबर अरु के हुन सक्ला?
'खबर पाएदेखि आरामको सास फेर्न सकेका छैनौं। एक पटक लडेको त्यो कठिन लडाईँका लागि फेरिफेरि तयार हुनुपर्छ भन्ने त सोचेकै थिएनौं नि,' हरेरामले भने। अन्यायको विरुद्ध लडाईँको सिंगो पहाड छ। अनि ७२ वर्ष कटेका यी वृद्धवृद्धाको ज्यानको सुरक्षा अर्को चुनौती।
'जेलबाट छुटेपछि मैले जानेको छु?' जस्तो धम्कीपूर्ण भाषा रञ्जनले बोलेका थिए। त्यसैले अदालतको प्रक्रियाका लागि यताउता कुदिरहेका हरेराम हिँड्डुल गर्न समेत बल्लतल्ल सक्ने श्रीमती हरिप्रियालाई सम्झिँदै झस्कन्थे।
किन त?
'हामी सुरक्षित छैनौं,' उनले भने, 'सुरक्षाका लागि सिडिओ कार्यालय पुग्दा – तपाईंका लागि प्रहरी खटाउन सक्दैनौं भन्ने जवाफ पाएको थिएँ। त्यस पछि चुपचाप डरैडरमा बस्न बाध्य छौं।'
सर्वोच्चको फैसलामाथि पुनरावलोकन हुने कुराले भने न्यायको आशा देखाएको छ। आशाका अघिल्तिर डर गौण बनेको छ।
+++
२० वर्षकीमात्र थिइन् गीता ढकाल। आफन्तले प्रहरीको इन्स्पेक्टर केटोसँग विवाहको कुरा ल्याए। परिवारिक पृष्ठभूमि चित्त बुझ्दो थियो। त्यस समय हरेरामको एउटै शर्त –सम्बन्ध जोड्न हामीलाई समस्या छैन तर विवाह पछि पनि मेरी छोरीलाई पढ्न चाहिँ दिनुपर्छ।
गीताले पनि विवाहको प्रस्ताव स्वीकारिन्।
भनेजस्तै भयो – उनले पढाईलाई निरन्तरता दिन पाइन्। परिवार सम्हाल्दा सम्हाल्दै हरेक परीक्षा राम्रो अङ्कसहित उतीर्ण गर्दै गइन्। बीए पास गरिन्।
दुई सन्तान जन्माइन्। त्यस पछि एमए पनि पूरा गरिन्।
'आमा छोराहरू हुर्किएर आफ्नो बाटो लाग्छन्। मैले पनि पढेर आफ्नो लागि केही गर्नुपर्यो नि भन्थी सधैं,' हरिप्रियाले सम्झिइन्, 'निकै मेहनती अनि बलियो पनि हो।'
हरिप्रियालाई लाग्छ घटना भएको दिन गीताको खुट्टा टेक्न हुने अवस्थामा हुन्थ्यो भने उनी पौठेजोरी खेलेरै भए पनि भाग्न सक्थिन्। दूर्भाग्य उनको खुट्टा मर्किएको थियो। मर्किएकै कारण वर्षौका लागि टाढा जान लागेकी बहिनीलाई बिदा गर्न पनि पुगिनन्।
'बहिनीलाई बिदा गर्न आइदिएको भए हामीले उसलाई बिदा गर्नुपर्दैन थियो होला, सायद,' हरिप्रिया थकथक मान्छिन्। यति बोलिसक्दा उनी चैतको त्यो गर्मी सम्झन्छिन् जब उनीहरूले छोरीको शरीरका बाँकी रहेका अंग अस्पतालबाट पशुपति आर्यघाट पुर्याएर अन्तिम संस्कार पूरा गरेका थिए।
'छोरीको शरीर पटकपटक जल्यो। अहिले न्याय प्रणालीले हाम्रो मुटु उस्तैगरी पटकपटक जलाइ रहेको छ,' उनले भनिन्।
उनलाई सन्त्वना दिन्छन् हरेराम।
'चिन्ता गरेर हुँदैन। अब फेरि छलफल हुन्छ। बहस हुन्छ। हामीले न्याय पाउँछौं। किनकि हामी पीडित हौं,' हरेराम केही आशावादी सुनिए।