जनकपुरधाम : जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य नविन यादवविरुद्ध उजुरी दिएकी किशोरीलाई एक समूहले उजुरी फिर्ता लिन दबाबसँगै धाकधम्की दिएको छ। गत शनिवार राति एक रेस्टुरेन्टमा यादवले कशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।
दुर्व्यवहारपछि आइतवार किशोरीले यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएपछि यादवका साथीहरुले घरसम्म पुगेर आफूलाई धाकधम्की दिइरहेको ती किशोरीले आरोप लगाएकी छन्। उनले आफूलाई यादवका समर्थक युवाहरु पंकज साह, सुरेन्द्र यादव लगायतका एक समूहले घरसम्मै पुगेर उजुरी फिर्ता लिन र आफूले नै गल्ती गरेको स्वीकार गर्न दबाब दिइरहेको बताइन्।
उनले भनिन्, ‘राति राति केटाहरु घर अगाडि पुगेर उजुरी फिर्ता लिन भन्छन्, र भिडियोमा आफूसँग कुनै दुर्व्यवहार नभएको बोल्न भन्छन्। र, उजुरी फिर्ता नलिए ज्यान मार्नेसम्मको धम्की दिइरहेका छन्।’
आफूलाई धाकधम्की दिइरहेकोले घर बाहिर निस्कन समेत गाह्रो भइरहेको उनले बताइन्। आफूले शान्ति सुरक्षाका लागि प्रहरीलाई खबर गरिसकेको जानकारी दिँदै उनले आफूमाथि त्यस्तो कुनै अप्रिय घटना घटे त्यसको सम्पूर्ण जिम्मेवार उनीहरु नै हुने बताइन्।
किशोरीको उजुरीको आधारमा प्रहरीले शनिवार यादवविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो।