PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुनिललाई शुभकामना दिँदै बुद्धिमानले भने, 'राप्रपा गठन गर्दा कांग्रेसले सूर्यबहादुर र मलाई झन्डै जलाएको'



सुनिललाई शुभकामना दिँदै बुद्धिमानले भने, 'राप्रपा गठन गर्दा कांग्रेसले सूर्यबहादुर र मलाई झन्डै जलाएको'

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले पार्टीका संस्थापक नेता सूर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापालाई कांग्रेस प्रवेश गरेकोमा शुभकामना दिएका छन्।

थापासँग राजनीतिक सम्बन्ध लामो समयदेखि रहेको उल्लेख गर्दै तामाङले थापालाई शुभकामना दिएका हुन्। मंगलबार थापा कांग्रेस प्रवेश गरेपछि तामाङले भने, 'उहाँको पहिलेदेखि नै तयारी थियो जस्तो लाग्छ। किनभने हाम्रो पार्टी एकीकरणमा पनि उहाँ आउनुभएन। राम्रो हुन्छ भनेर नै जानुभएको होला।'

थापाले पार्टी छाड्दा राप्रपालाई केही नोक्सान हुनसक्ने आंकलनसमेत गरेका तामाङले कांग्रेसमा थापालाई ‘पिकअप’ लिन भने गाह्रो हुने बताए।

'कांग्रेसमा पिकअप लिन उहाँलाई धेरै गाह्रो हुने देखिन्छ नै,' उनले भने।

'सूर्यबहादुर र मलाई झन्डै जलाएको'

सुनिलबहादुरले कांग्रेस प्रवेशपछि कांग्रेससँग सूर्यबहादुरको साइनोबारे प्रस्ट पारेका थिए। तर, बहुदल स्थापनापछि पार्टी स्थापनाका लागि देश दौडहामा पुग्दा कांग्रेसले ठाउँठाउँमा अवरोध गरेको बुद्धिमान सम्झन्छन्।

'बहुदल स्थापनापछि सूर्यबहादुर थापा र हामी पार्टी स्थापना गर्नका लागि विभिन्न ठाउँमा पुगेका थियौँ,' तामाङले भने, 'तर बहुदल त कम्युनिस्ट र कांग्रेसलाई मात्र आएको रहेछ। हामीलाई त पार्टीको कार्यक्रममा जताततै अवरोध भयो।'

बनेपामा २०४७ सालमा सूर्यबहादुर थापाको गाडीमा आगो लगाएको उनले बताए। पार्टीकै स्थापनाका लागि वीरगंज पुग्दा कैयौँ कार्यकर्ताको टाउको फुटेको तामाङको भनाई थियो। त्यसैगरी कैलालीमा कांग्रेस नेता टेकबहादुर चोख्यालको नेतृत्वमा आफूहरुलाई जलाउने प्रयास भएको उनले बताए।

'अरू ठाउँमा पार्टीका साथी धेरै पुगे पनि कैलालीमा म र सूर्यबहादुर थापामात्र पुगेका थियौँ। हामीलाई चोख्याल नेतृत्वको कांग्रेसले घरभित्रै पेट्रोल छर्केर आगो लगाए। प्रहरीले पर्खाल भत्काएर हामीलाई बचाए। भारत हुँदै काठमाडौँ ल्याए प्रहरीले,' तामाङले भने।

बहुदल र प्रजातन्त्रवादी दल भए पनि कांग्रेस कम्युनिस्टले त्यतिबेला राप्रपालाई पार्टी खोल्न नदिन अनेक दबाब दिएको उनको दाबी रह्यो।

'मञ्च तोडफोडका घटना धेरै भयो,' उनले भने, 'धेरै ठाउँमा अवरोधको प्रयास भएको थियो।'

यसरी स्थापना भएको पार्टीबाटै सूर्यबहादुर दुई पटक प्रधानमन्त्री भएको तामाङको भनाई थियो।

यसरी ज्यान हत्केलामा राखेर बुवाले खोलेको पार्टी छाडेर कांग्रेस प्रवेश गरेकोमा केही दुःख भने लागेको उनले बताए। तर, जुनसुकै राजनीतिक पार्टीमा लागे पनि देश र जनताको लागि काम गर्नु पर्ने भएकोले कांग्रेसबाट देश र जनताको पक्षमा राम्रो काम गर्न तामाङले थापालाई शुभकामना दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell