PahiloPost

Oct 15, 2024 | २९ असोज २०८१

‘लाटोकोसेरो र हुचील’ संरक्षणका लागि १० वर्षे संरक्षण कार्ययोजना लागू



‘लाटोकोसेरो र हुचील’ संरक्षणका लागि १० वर्षे संरक्षण कार्ययोजना लागू

काठमाडौं : बाघ दिवसको अवसरमा नेपालमा पाइने लाटोकोसेरो र हुचील अध्ययन र संरक्षणका लागि  नेपाल सरकारले ‘१० वर्षे  लाटोकोसेरो संरक्षण कार्य योजना’ स्वीकृति गरेको छ। बुधवार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको परिसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले कार्ययोजनाको लोकार्पण गरे। नेपालमा लाटोकोसेरोसमेत १२ प्रजातिका स्तनधारी, चरा तथा सरीसृपको संरक्षण कार्य योजना स्वीकृत भई लागू भैसकेको छ। चरामा लाटोकोसेरोबाहेक गिद्धहरू, कालिजहरू र  खरमुजुरको संरक्षण कार्य योजना लागू भएका छन्।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवन-पर्सा क्षेत्रको ‘टाइगर इकोलोजिकल क्यारिंग क्यापासिटी’ विश्लेषण प्रतिवेदन शुरुमा लोकर्पण गरेका थिए। सचिव ओलीले लाटोकोसेरो /अर्नाको  संरक्षण कार्ययोजना र कन्चनजङ्गा संरक्षण क्षेत्रको व्यवस्थापन कार्य योजनालगायतको प्रकाशनहरूको अनावरण गरेका थिए। कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक डा. रामचन्द्र कंडेल र  इकोलोजिस्ट हरिभद्र अचार्यले मन्तब्य दिएका थिएl 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकृत विष्णुप्रसाद श्रेष्ठले पछिल्लो समय लाटोकोसेरो तथा हुचिल संरक्षणमा देखा परेका चुनौतीहरूको समाधानको लागि प्रयासको आवश्यकता बताए। उनले भने, 'विशेष गरी चोरी सिकारी अवैध व्यापार र समुदायबाट समेत यिनलाई नोक्सानी पुगेको थियोl त्यसैले यो कार्य योजना तयार गरी लागु गरिएको हो। जैविक विविधताको दिगो संरक्षणको लागि विभिन्न वन्यजन्तुको कार्य योजना बनाएर लागु गर्ने नियमित कार्यक्रमअनुसार नै यो कार्य योजना पनि लागू गर्न लागिएको हो।’

उनले थपे ‘यो कार्ययोजना संयुक्त रूपमा  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू संरक्षण विभागले तयार गरेको हो। यसको कार्यान्वयनको लागि सबै सरकारी तथा गैरसरकारी सरोकारवालाहरू एकबद्ध हुने आशा गरेका छौँ। यसका लागि सबैलाई अनुरोध पनि छ।’

लाटोकोसेरो तथा हुचीलको अनुसन्धान र संरक्षणमा लामो समयदेखि लागिपरेका राजु आचार्य भन्छन्, ‘यो प्रजातिलाई अवैध व्यापार र चोरी  सिकारबाहेक वासस्थान विनाश, सामाजिक कुरीति, कृषिमा विषादीको प्रयोग, घाइते लाटोकोसेरो र हुचिल उद्धारमा समस्या आदि कारणले  यिनलाई चुनौती थियो।केही संरक्षणका  प्रयासहरू भए पनि ती पर्याप्त थिएनन्। अनुसन्धान कम भएको थियो। सरकाले यही कुराहरूलाई मनन गरेर यो कार्ययोजना तयार गरेको हो।’

उनले थपे, ‘अब के गर्ने भन्ने कुराहरू यो कार्य योजनामा प्रस्ट उल्लेख छ। सबैको सहयोगले यो प्रजातिको थप संरक्षण हुन् सक्छ।’

सो कार्ययोजनाले  वासस्थान सुधार, वैज्ञानिक अनुसन्धान, अवैध चोरी सिकार नियन्त्रण, सरोकारवालाको क्षमता अभिवृद्धि र स्थानीय/राष्ट्रिय/अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेको छ।

सन् २०२० देखि २०२९ सम्म लागू हुने सो कार्य योजना ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग’ तथा ‘वन तथा भू संरक्षण विभाग’ द्वारा संयुक्त रूपमा लागू गर्नेछन्। सो अवधिमा करिब ११ करोड आर्थिक श्रोतको व्यवस्थापन गर्नु पर्नेछन्।

यसका लागि सबै सरोकारवालाहरूलाई  सहयोगका लागि अपिल पनि गरिएको छ।उक्त कार्य योजनालाई प्रकृतिका साथीहरू र रुफोर्ड स्मल ग्रयान्डले प्राविधिक तथा आर्थिक सहयोग गरेका थिए।

नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू मध्ये २ प्रजाति लामो समय देखा परेका छैनन्। मानिस र समाजसँग अति नजिक रहेको यो प्रजाति पछिल्लो समय अवैध व्यापार र चोरी  सिकारीको कारणले अप्ठ्यारोमा पर्दै आएका थिए। नेपालमा चराको  खोज हुन थालेको २०० वर्ष पुग्न लाग्यो। नेपालमा पाइने लाटोकोसेरो र हुचील कुन कुन जिल्लामा पाइन्छन् भनेर अभिलेख गरिएका छन्। तर तिनका अनुसन्धान र संरक्षणका कामहरूले गति भने सन् २००८ बाट लिन थालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell