
जनकपुरधाम : प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण हुँदा उनीहरुमध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
संक्रमण पुष्टि भएकाहरु सामाजिक विकास मन्त्री नवल किशोर साहका सहयोगी कर्मचारीहरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए। संक्रमितहरु तीनैजना मन्त्री साहको निवासमा खाना समेत खाने गरेको उनले बताए।
उता, महोत्तरीको प्रकौलिस्थित नेपाली सेनाको ब्यारेकमा पनि १५ जनाको पीसीआर परिक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ भेटिएको उनले जानकारी दिए।
प्रदेश नम्बर २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५५, महोत्तरीमा ७ सय ७२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय ३८, सप्तरीमा ४ सय ५६, पर्सामा २ सय ७८, सिरहामा २ सय १० र बारामा १ सय ६७ जना गरि ४ हजार ४ सय ८३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
संक्रमितमध्ये सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ५ सय ३३, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय २८, रौतहटका ७ सय ४१, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरी ३ हजार १८ जना व्यक्ति डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् भने पर्सामा ५, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।