PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सरकारले गुरुयोजना अघि बढाए स्थानीयले संघर्ष गर्ने : 'पशुपतिनाथले सत्ताको होइन भक्तको साथ दिनेछन्'



सरकारले गुरुयोजना अघि बढाए स्थानीयले संघर्ष गर्ने : 'पशुपतिनाथले सत्ताको होइन भक्तको साथ दिनेछन्'

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै ल्याएको गुरुयोजनाको स्थानीयहरुले विरोध गरेका छन्।

पशुपति क्षेत्र 'ग्वल' सभ्यता नै समाप्त हुने भन्दै स्थानीयले प्रस्तावित गुरु योजना स्वीकार नगर्ने बताएका हुन्।

कोषले १०० वर्षको गुरुयोजना बनाइ पशुपतिदेखि सिफलसम्मको बस्ती खाली गराउने योजना प्रस्ताव गरेको छ। यस्तै कोषले चावहिल- गौशालासम्मको चक्रपथलाई सार्ने, पशुपति विश्वविद्यालय, अस्पताल, यज्ञशाला, पुस्तकालय, सभा कक्ष,होटल, शवदाह गृह, संग्रहालय निर्माण गर्न योजना बनाएको छ।

तर, स्थानीय सहित जनप्रतिनिधिहरुले समेत उक्त गुरु योजनाको विरोध गरेका छन्। विश्वभरको हिन्दुहरुको पवित्र धार्मिक स्थललाई व्यवसायिकरण गर्न कोष उद्दत रहेको उनीहरुले आरोप लगाएका छन्।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले आज पत्रकार सम्मेलन गर्दै १०० वर्षको गुरुयोजनाबाट 'ग्वल' को प्रचिन बस्ती र त्यहाँको संस्कृति र सभ्यता नै विस्थापित हुने भन्दै गुरुयोजना विरुद्ध संघर्ष गर्ने बताएको छ।

समितिका संयोजक कृष्णमान श्रेष्ठले भने 'ग्वल सभ्यता नै विनाश गर्दै यहाँका मौलिका संस्कृति, मूर्त अमूर्त सम्पदाको महत्व विपरीत कोषले आधुनिक र काल्पनिक शहर निर्माण गर्न लागेको छ। यस्तो विनाशकारी र अदुरदर्शी गुरुयोजना खारेज हुनुपर्छ।'

उक्त क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गगन थापाले कोषले प्रस्ताव गरेको गुरुयोजनालाई आफूहरुले गुरुयोजनाको रुपमा नमान्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग आज नै छलफल गरेको बताउँदै थापाले भने, 'कसैको मनको कुरा होला तर हाम्रो इच्छाले यो गुरुयोजना आएको होइन। मन्त्रीज्यूलाई सभ्य तरिकाले स्थानीयको भावना प्रस्ट रुपमा भनेर आएको छु। हामी यस गुरुयोजनालाई स्वीकार गर्दैनौं, सरकारले यसलाई तत्काल बन्द गर्न माग गरेका छौं।'

भट्टराईले कोषलाई स्थानीयसँग वार्ता गर्न भनेको भनेपछि आफूहरुले अब कोषसँग वार्ता नगर्ने भनेर बताएको गगनले सुनाए।

'कोषसँग हाम्रो सरोकार छैन। गुरुयोजना बनाएर दादागिरी देखाएपछि उहाँहरुसँग हाम्रो कुरा हुँदैन। अब सीधा सरकारले यसबारेमा निर्णय गर्नुपर्‍यो। सरकारले यो गुरुयोजना फिर्ता लियो भने सबै पहिला जस्तै सामान्य हुन्छ। तर, होइन गुरुयोजना कार्यान्वयन गर्ने भन्यो भने हामी संघर्ष गर्छौं। भगवान् पशुपतिनाथको साथ सत्तासँग होइन भक्तसँग हुन्छ भन्ने हामी देखाउँछौं'

कोषले पशुपतिको धार्मिक महत्वलाई नै घट्ने गरी गुरुयोजना बनाएको स्थानीयले बताएका छन्। २०५३ सालमा पनि १० वर्षे गुरुयोजना ल्याएर पशुपतिका ३०० घरपरिवारलाई विस्थापित गरिएको भन्दै १०० वर्षे गुरुयोजनाले यस क्षेत्रको विनाशबाहेक केही नगर्ने उनीहरुको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell