
काठमाडौं : आज देशभर थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सरकारले लकडाउन खोलेपछि कोरोना संक्रमितको संख्या शुन्य दशमलव ८ अंकले बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा लकडाउन खोल्नुभन्दा ११ दिनअघि र पछिको तुलना गर्दा शुन्य दशमलव ८ प्रतिशतले संक्रमित बढेको बताएका हुन्। लकडाउन खोल्नु भन्दा ११ दिनअघिसम्म देशभर ४७ हजार ८ सय ७७ जनामा पीसीआर परिक्षण गरिएको थियो। जसमा १ हजार ३ सय ४५ जनामा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिए। जुन संक्रमणदर भने २ दशमलव ८ प्रतिशत हो।
तर, लडकाउन खुलेपछि साउन ७ देखि १७ गतेसम्म ५८ हजार १ सय ७४ जनाको परीक्षण गरियो। पीसीआर परीक्षण दर ११ हजारले बढ्यो। जसमा संक्रमितको संख्या २ हजार ९२ पुग्यो। लकडाउन अघि र पछिको ११ दिनको तुलना गर्दा संक्रमित दर बढेको प्रवक्ता गौतमले बताए।
अहिले देशभर ११ हजार ५ सय ३३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै, संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किसकेका छन्। देशभर संक्रमितको संख्या २० हजार नाघेको छ।