जनकपुरधाम : जनकपुरधामस्थित प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ६ कर्मचारीसहित ३० जनामा कोभिड १९ संक्रमण देखिएको हो।
जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जना, प्रादेशिक अस्पताल जनकपुरको १४ जना कर्मचारी, कोरोना जाँचका लागि ल्याबमा खटिने कर्मचारी ३ जना, ग्लोबल आइएमई बैंकका तीन जना कर्मचारीसहित धनुषामा ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्।
दुई दिन अगाडि गरिएको स्वाब संकलनको नतिजा आइतवार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको भट्टराईले बताए। संक्रमितहरु चिकित्सकहरुको सल्लाहमा घरमै सेल्फ क्वारेन्टिनमा बसिरहेका छन्। यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कनट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईको भनाई रहेको छ।