
काठमाडौं : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील भट्ट नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिइन्।
बोर्डका सीइओ महाप्रसाद अधिकारी गभर्नर भएपछि यो पद खाली थियो। भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए। उनी योजना आयोगमा रहँदा भौतिक र पूर्वाधार क्षेत्र हेर्ने गर्थे। योजना आयोग छाडेर सीईओमा आउन उनले आवेदन दिएका थिए।
बोर्डको सीईओका लागि अर्थमन्त्री डा युवराज खतिवडाको समितिले भट्ट, डा सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेर पठाएको थियो। यो सिफारिसका आधारमा भट्ट नियुक्त भएका हुन्। भट्टको नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राखेका थिए।
उनको नियुक्ति हुने निश्चितजस्तै भएपछि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली अन्तर्वार्ता दिनै गएनन्। स्रोतका अनुसार ज्ञवालीलाई भट्टको नियुक्ति निश्चित भएकाले पुनर्निर्माणमै काम गर्न आग्रह गरिएको थियो।