PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि



सुमित मिश्र

जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि
फोटो : जलेश्वर नगरपालिका/फेसबुक।

जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाका ५० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाका ४८ जना कर्मचारीमध्ये २४ जना कर्मचारीमा कोराना पोजिटिभ देखिएको हो।

नगरपालिकाभित्र ५३ जनाको पीसीआर परीक्षण गर्दा ४८ मध्ये २४ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए।

झाले भने, ‘नगरपालिका भित्रका कर्मचारीमध्ये एक जना कर्मचारी बिदामा घर जाँदा उनको स्वास्थ्यमा समस्या आएपछि विराटनगरमा चिकित्सकको सल्लाह अनुसार उनले पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो। उनको रिपोर्ट पोजिटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङको अधारमा ५३ जनाको जलेश्वर नगरपालिका परिषर भित्रै स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएको थियो, जसमध्ये ४८ जना नगरपालिकाका कर्मचारीहरु थिए।’

त्यसपछि सोमवार ५३ मध्ये ३० जनाको रिपोर्ट आयो जसमा १ जना नेपाली सेनाका र ३ जना सर्वसाधारणको रिपोर्ट नेगेटिभ आयो। अन्य २६ जनाको रिपोर्ट पोजिटिभ आएको छ। जसमा २४ जना नगरपालिकाका कर्मचारी, १ जना भंगहा नगरपालिकाका स्थानीय, १ जना लोहारपटि नगरपालिकाका स्थानीयको रिपोर्ट पोजेटिभ आएको झाले बताए।

यता जलेश्वरनाथ नगरपालिकाका मेयर राम शंकर मिश्रले नगरको अवस्था भयावह बन्दै गएको बताएका छन्।

मेयर मिश्रले भने, ‘अहिले हामी विभिन्न व्यवस्थापनहरु मिलाइरहेका छौं। संक्रमित कर्मचारीहरुको ट्रेसिङ गरिरहेका छौं र छिट्टै नै सबैको टेस्ट गराउँछौं। कोरोना संक्रमण देखिएका कर्मचारीहरुको कुनै ट्राभल हिस्ट्री छैन। तैपनि कसरी संक्रमित हुन पुगे भन्ने कुराको अनुसन्धान गर्दैछौं। यसबाट कोरोना भाइरस जलेश्वर नगरपालिकामा समुदायस्तरमा प्रवेश गर्‍यो कि भन्ने शंका लागेको छ। हामीले जारी गरेको निषेधाज्ञा पुनः लम्ब्याउनुपर्ने अवस्था देखिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell