सञ्जय काफ्लेलाई कथा मनपर्छ, पढ्न अनि लेख्न पनि। त्यसैले आम मानिसको जीवनमा कथा र कथामा जीवन खोज्दै हिँड्छन् उनी। मानिसको सुख, दु:ख, संघर्ष र सफलताका कुराहरू सुन्ने र शब्दमा उन्ने हुटहुटीले उनलाई पुर्यायो लम्जुङको दोर्दी गाउँ।
दोर्दीकै स्थानीयसँग राम्रै दोस्ती जमेको थियो उनको। लम्जुङ, सुन्दर बजारस्थित इन्स्टिच्युट अफ एग्रिकल्चर एण्ड एनिमल साइन्समा तिनै साथीहरूले उनलाई आफ्नो जातीय/सामुदायिक पेशाबारे सुनाए। संस्कृति, परम्परा र आम्दानीसँग जोडिएको रोचक पेशा – हनी हन्टिङ।
नेशनल जिओग्राफी र अन्य विदेशी च्यानलमा‘एड्भेन्चर’का रुपमा देखाइएको ‘हनी हन्टिङ’आफू बसे नजिकै हुन्छ भन्ने थाहा पाउँदा दङ्ग परे। सञ्जय जाने भए - पहाड छेडेर बाटो बनाउनेहरू भेट्न। ती बाटोमा उनीहरूसँगै जोखिम मोलेर हिँड्न तयार भए। जंगली फूलहरूको रसमा रमाएका माहुरीको मह काड्न पहरामा झुण्डनेहरूको अनुभव र भोगाइलाई कैद गर्न - क्यामेरा र शब्दमा पनि।
उनी पुग्दा दोर्दीमा स्थानीयहरू जुट काटेर घुम बनाउँदै, लौरो तिखार्दै, चोया काट्ने,बाट्नेदेखि अरु तयारी गर्दै थिए। रासन पानीको जोहो पनि।
गाउँको माहोल नै बेग्लै थियो। मानिसहरू कुनै चाड मनाउने तयारी गर्दै छन् जस्तो लाग्ने। हर्ष र उर्जा देखिन्थ्यो उनीहरुमा।
त्यही समूहमा मिसिए सञ्जय पनि।
पहिलो दिन पहाड उक्लन निंगालो र बाबियोले भर्याङ बनाए। उनलाई अचम्म लाग्यो - त्यति पातलो निंगालोहरू अजङ्गका पहाड उक्लने भर्याङ अनि दुईवटा भीर जोड्ने पुल कसरी बन्ला? चुँडियो भने? त्यहाँबाट कोही लड्यो भने?
जवाफ दोस्रो दिन भेटे। जब उनी पनि ‘हन्टर’हरूको पछिपछि त्यही निङ्गालोको बाटो भएर हिँडे। मह काड्नेहरूभन्दा करिव दुई सय मिटर परको पहरामा उक्लिए, निङ्गालोकै खुड्किलो भएर। कथा लेख्न पात्र खोज्दै हिँडेका उनी आफै एउटा पात्र बनिरहेका थिए।
सुरक्षाका लागि झुल च्यातेर दिइएको थियो। टाउकोदेखि घप्लक्क ओढे। घाँटीमा क्यामेरा भिरे र कैद गर्न थाले दृश्यहरू जहाँ सँगै गएका समूहका सदस्यहरु आ-आफ्नो जिम्मेवारी निभाउँदै थिए निकै सतर्क भएर। किनकि भीर सामान्य थिएन। चुनौती र जोखिम साना थिएनन्। कोही डोरी बाँध्ने, लुठा र टाँगा बनाउनमा व्यस्त। मह हाल्न डालो/टोकरी तयार पार्नेहरूको बेग्लै समूह। सुरक्षाका लागि आवश्यक झुल, टोपी, पञ्जाहरूको पनि तयारी हुँदै थियो।
मह शिकारीहरू माहुरीको गोला भएको पहराको शिरमा पुगे। वन देउताको पूजा गरे।
भीरको शिरमै गाडेको खम्बामा बाँधेको भर्याङ/लुठाबाट गोला भएतर्फ ओर्लन तयार भए शिकारीहरू। त्यसपछि सहयोगीहरूले आगो सल्काए। चिसो स्याउलामा। बल्लबल्ल सल्केको आगो निभ्यो र धुँवा पुत्पुताउन थाल्यो। अनि, पहरामा भएका दर्जनौ गोलाहरूबाट एक पछि अर्को गर्दै माहुरीहरू भुन्भुनाउँदै निस्किए।
शिकारी र सहयोगीलाई केही होला कि भन्ने चिन्ता नलागेको होइन सञ्जयलाई। तर, उनी ती दृश्यहरू क्यामरा र दिमागमा कैद गर्नमा व्यस्त रहे।
‘पहरामा अडिएर फोटो खिच्न त थालेँ।मह काड्ने प्रक्रिया सुरु भएपछि फोटोहरू राम्रो आए। म खुशी भएँ। तर एक्कासी मलाई वरपरबाट ठूला ठूला माहुरीहरूले घेरे। म आत्तिएँ। डर लाग्यो,’ सञ्जयले त्यो दिन सम्झिए।
आफ्नो फोटो खिच्ने प्यासनले उनलाई त्यो पहरामा उकालेको थियो जहाँ उनलाई भीर महुरीहरूले घेरे। चिले। तर, उनले रोक्न, छेक्न सकेनन्।
'४० वटाभन्दा बढीले चिले होलान् मलाई। ३२ वटासम्म त गनेको थिएँ। त्यसपछि साध्य लागेन,’ उनले सुनाए।
उनलाई छक्क त के कुराले तुल्यायो भने – गोलाबाट दुई सय मिटर परको पहरामा भएका उनलाई त्यत्रो माहुरीले चिल्यो। गोलाकै छेउमा झुण्डिएका हन्टरहरू ‘यो पटक त ३-३ वटाले टोके’ भन्दै ओर्लिए।
कसरी त्यस्तो भयो? उनीसँग जिज्ञासा थियो। जवाफ निकै सरल पाए। स्थानीयले भने – माहुरीले हामीलाई चिन्छ बाबु। यिनीहरूसँग हाम्रो बाजे बराजुको पालादेखिको सम्बन्ध छ।
+++
दोर्दीका गुरुङ जातिका लागि भीरमौरीको मह शिकार गर्नु परम्परा हो। कहिलेदेखि सुरु भयो थाहा छैन तर अहिले पनि त्यो पुस्ता छ जो भीरमा उक्लन डराउँदैन। जसले बाजे, बुबाले उस्तैगरी बाबियोको बाटो हुँदै मह काडेको देखे। सिके। गरे। अनि, आजसम्मै आयको स्रोत बनाए।
‘जहाँ म पुगेँ। मह शिकारीहरू भेटेँ त्यहाँ महको ठूलो बजार त रहेनछ। तर, केही मात्रा बिके पनि धेरै चाहिँ सट्टापट्टा गर्ने चलन रहेछ। कसैले चामलको सट्टा मह दिने कसैले भाडाकुडाको सट्टा,’ सञ्जयले सुनाए।
मह काड्दाको दु:ख देखेका उनलाई भने अचम्म लाग्यो। त्यत्रो जोखिम मोलेर, मिहेनत गरेर काडेको मह किन गाउँघर र वरपरको बजारले मात्र चाख्न पाउँछन्? त्यो पनि अति कम मूल्यमा?
शिकारी समूहले सुनाए – बजारसम्म सहज पहुँच नहुनु। बजार पुगे पनि दु:ख गरे अनुरुप मूल्य नपाउनुका कथा।
त्यहीँ पुगेका सञ्जयले भने आफूसँग भएको पैसा गने। सँगै गएका साथीहरूसँग केही रकम सापटी लिए र आफ्नै आँखा अगाडि निकालिएको मह किने, ३० किलो।
‘भीर मौरीको महको थुप्रै फाइदा छ भन्ने सुनेको, पढेको थिएँ। त्यसैले किनेँ रुची भएका साथी भाइ र आफन्तलाई दिन,’ उनले सुनाए।
दोर्दीबाट सुन्दर बजार फर्किए। उनी उत्साहित थिए, फरक अनि रोचक कथा लेखेर सेयर गर्न, फोटोसहित। तर, कथा सँगै ल्याएको मह त उनले सोचेभन्दा धेरै रहेछ। के गर्ने त?
उनले फेसबुकमा लेखे : ‘मसँग भीरमौरीको मह छ। किन्न इच्छुकले सम्पर्क गर्नुस्।’
त्यसपछि महलाई लिएर जिज्ञासा राख्ने, प्रश्न सोध्ने र ‘अर्डर’ नै गर्नेहरूको संख्या उत्साहजनक देखियो। त्यो जमात उनले सोचेभन्दा धेरै थियो। धेरै सोचेनन्, स-साना प्लास्टिकको बट्टा किने। ती बट्टामा मह हाले र मगाउनेको ढोकासम्म पुर्याउन आफै पुगे। यतिन्जेल उनले भीरमौरीको मह खाँदा हुने फाइदा बेफाइदा, मिलाउनु पर्ने मात्रा आदिबारे अध्ययन गरिसकेका थिए। महसँगै आवश्यक सुझाव पनि दिए।
‘धेरैले चाहिँ भीर मौरीको मह खाँदा रक्सी जसरी लाग्छ भन्ने सुन्नु भएको रहेछ। मैले यस्तै भ्रमहरू हटाउन कोसिस पनि गरेँ। किनकि हामी कहाँ भीर मौरीको महसँग मानिस डराइराख्दा विदेशमा यही महको बजार व्यापक बनेको छ। त्यो पक्कै पनि महको उपयोगिता र फाइदाका कारण हो,’ उनले भने।
सन् २०१८ मा लम्जुङबाट ल्याएको ३० किलो मह सक्किन समय लागेन। तर, ल्याउँदादेखि मह सक्किँदासम्मको प्रक्रिया उनका लागि ठूलो सिकाइ बन्यो।
व्यवसायिक पृष्ठभूमि नभएका उनले आफू भित्रको व्यापारीलाई चिने। महको बजार देखे। मूल्य थाहा पाए। ती शिकारीहरूका छोरा या नाति पुस्ताले पनि मह काड्ने परम्परा त्याग्नु नपर्ने कारण भेटे। जुन परम्परा र उत्सवसँग उनी भावनात्मक रुपमा जोडेर फर्किएका थिए। उनलाई लाग्यो - यो रोमाञ्चक पेशा त जोगिनु पर्छ।
'अचानक मह बेच्ने योजना बन्यो। ३० किलो मह बेचिसक्दा थाहा भयो - भीरमौरीको बजार छ। रहनेछ त शिकारीको बजारसम्म पहुँच र उनीहरूको मिहेनत अनुरुप मूल्य। मैले शिकारी र भीर मौरीको मह खोज्ने ग्राहकबीच बस्ने निधो गरेँ,' उनले सुनाए, 'केही नभए पनि कोसिस हुन्छ। अनुभव हुन्छ भन्ने सोचेँ।'
उनी चाहन्थे सम्भावना रहेको यस पेशा परम्पराकै रुपमा मात्र नलिइयोस्। युवा पुस्ताले पनि चासो देखाउन्, अवसरका रुपमा।
सञ्जय प्रस्ताव लिएर पुगे शिकारीहरूसम्म। उनीहरूले 'नाई' भन्नु पर्ने कारण नै थिएन।
वर्षमा दुई पटक वैशाख - जेठ र असोज- कार्तिक गरी दुई पटक हुन्छ मह शिकार। हरेक पटक काडिएको मह उपयुक्त बजारसम्म पुग्छ, पैसा आउँछ भन्ने कुरा शिकारीहरुले सहर्ष स्वीकारे।
सञ्जयका दोर्दीमा रहेका स्थानीय साथीहरूले सहकार्य गर्ने भए। मह काड्न जानुअघि जानकारी दिने, सञ्जयले काठमाडौंबाट उनीहरूका लागि सुरक्षा सामाग्री, रासन पानीको व्यवस्थापन गरिदिने। त्यसबाहेक मह शिकारका लागि वन कार्यालयको स्वीकृति लिने, कर तिर्ने पनि सञ्जय र मह बेच्न उनीसँगै जोडिएका सुशान्त चापागाईंले गरे। यसअघि शिकारीहरूले कहिल्यै यी प्रक्रिया पूरा गरेका थिएनन्।
सन् २०१८ यता हरेक पटक ५ सय किलो मह ल्याए। प्याक गरे र माग अनुरुप बेच्न थाले। नाम दिए -‘बेस्ट म्याड हनी।’
'भीरमौरीको मह म्याड हनीको रुपमा विश्वभर प्रयोग गरिन्छ। हामीले दिने मह चाहिँ कसरी अरुभन्दा फरक त?,' उनले आफ्नो ब्रान्डको नाम दिनुको कथा भने। बजारमा उपलब्ध अन्यभन्दा गुणस्तरीय मह दिन सक्ने विश्वास थियो उनमा। त्यसैले 'बेस्ट म्याड हनी' नाम राखे।
'माया बाहेक केही पनि नमिसाएको शुद्ध मह बारे बुझाउँदा नबुझ्ने कुरै भएन। पहिले डराउनेहरू नै अहिले त नियमित ग्राहक बन्नु भएको छ,' उनले भने।
उनले भीरमौरीको मह, त्यसको शिकारको इतिहासदेखि स्वास्थ्यका लागि हुने फाइदाहरू, विश्वमा म्याड हनीको बजार आदिबारे जानकारीमूलक पुस्तिका नै प्रकाशन गरे। त्यसमार्फत् आफ्नो रुची पूरा गरे उनले। कथा भन्ने रुची। आफूले पहरामा झुण्डिएर खिचेका ती तस्विर र आफ्नो अध्ययन र अनुभवले मह र माहुरीबारे अर्जेको जानकारी पुस्तिकामा समेटेका छन्।
'पुस्तकले अहिले निकै सहयोग पुर्याएको छ बजार विस्तारमा। किनकि त्यसमा मैले मह शिकार के हो, कसरी हुन्छ? र त्यो जोखिम मोलेर निकालिएको मह किन आवश्यक? भन्ने कुरा प्रष्टसँग बुझाएको छु,' उनले भने।
हाल 'बेस्ट म्याड हनी'को ग्राहक नेपालमा मात्र सीमित छैनन्। १२ सय न्यूनतम मूल्य रहेको मह निर्यात पनि हुन्छ। केही समयमै यसको बजार बिस्तार गर्ने योजनामा छन् उनी।
कृषिलाई औपचारिक अध्ययनको विषय बनाएर पढिरहेका उनका लागि मह शिकार हालसम्म पढेको सबैभन्दा ठूलो पाठ बनेको छ। यसले उनलाई कृषकहरूसँग नजिक बनायो। उनीहरूको समस्या बुझे, आवश्यकता निर्क्यौल गरे। कृषिमा निर्भर भएर पनि सहज जीवन जिउन संघर्ष गर्नुपर्ने ती किसानहरूले नै उनलाई कृषि क्षेत्रमै केही गर्न प्रेरित गरे। 'सोचेको थिइँन म यस्तै यस्तैमा रमाउँछु भन्ने,' उनले भने।
+++
सञ्जयले कृषि विज्ञान पढ्नुको कारण पनि उस्तै रोचक छ।
किशोरावस्था देखि नै घुम्नु उनको सोख बन्यो। तर, घुम्नका लागि स्कूलबाट लामो बिदा पाउनु पर्ने। दशैंमा वा हिउँदे बिदा। त्यो बेला पनि होमवर्कका ठेली बोकेर जाने कहाँ? उत्तर - मामाघर।
मास्टर्स गरिरहेका मामा भने प्राय सधैं घरमै हुन्थे। कलेज पनि जान नपर्ने, उनका अघिल्तिर कहिल्यै किताब कापी देखेनन् सञ्जयले। उनी सधैं कल्पन्थे – मामाको जस्तो फुर्सद भए कति घुम्थेँ होला।
एकदिन उनले मामालाई सोधे : यसरी खाली समय बिताउन पाइने कुन विषय पढ्नु हुन्छ?
'एग्रिकल्चर साइन्स।'
मामाले पढिरहेको विषयबारे थप सोधपुछ गरेनन्। सोचे : मामाले पढेकै विषय पढ्छु। किनकि उनलाई मामाले कलेजमा हुने राजनीति, राजनीतिले पार्ने प्रभाव, हुने बन्द र बिदाबारे सुनाएका थिए। अझ कलेजबाटै देशको पूर्व - पश्चिम घुम्न पाइने। भारत समेत जान पाइने बताए पछि सञ्जयले तय गरे – 'एग्रिकल्चर साइन्स नै पढ्ने हो।'
त्यस समय उनका साथीहरू अमेरिका वा अस्ट्रेलिया जाँदै थिए। तर, उनलाई विदेशी पढाईको सपनाले आकर्षित गरेन। किनकि उनलाई विदेशभन्दा अगाडि देश घुम्नु थियो। देश घुम्न धेरै बिदा हुने कलेजमा भर्ना पाउनु थियो। त्यसका लागि उनी, साथीहरू आइएलटीएस र टोफेल गर्न शहरका इन्टिच्युटतिर धाइराख्दा साउथ वेस्टर्न कलेजबाट प्लस टु सकेका सञ्जय चितवन गए। एग्रिकल्चर साइन्स सम्बन्धी किताबहरू पढे। ६ महिना त्यहीँ बसेर एन्ट्रान्स परीक्षाको तयारी गरे।
अन्तत: नाम निस्कियो – इन्स्टिच्युट अफ एग्रिकल्चर एण्ड एनिमल साइन्स, लम्जुङ।
+++
लम्जुङ क्याम्पस पुगेपछि भनेजस्तै भयो। घुम्नका लागि बिदा वा बन्द समेत पर्खन परेन। राजनीतिकै कारण क्याम्पस बन्द हुनुलाई पनि सहजै लिन सकेनन्। त्यहाँको राजनीति मन परेन उनलाई। तर, एक्लैले त्यो सबै रोक्न सक्ने कुरा भएन। त्यसैले बन्द र बिदाको मौकामा 'सोलो ट्राभल' गरे। पात्रहरूसँग भेटे। कथा लेखे। कलेज जीवनमै हो उनले देशभरका ५५ जिल्ला घुमेको। करिब ३ सय वटा कथाहरू आफ्नो ब्लगमार्फत् सार्वजनिक गरे। त्यसैगरी घुम्ने, कथा र पात्रसँग भेट्ने क्रममा हो मह शिकारीहरूसँग सम्बन्ध बनाएको।
ब्याचलर्स सकिएपछि भने उनी गाउँ पर्वत गए, कृषिमा फरक आयाम ल्याउने हुटहुटी बोकेर। फार्म हाउसको अवधारणा साथमा थियो। गाउँमा खाली रहेका जग्गाहरूको सदूपयोग गर्दै खोले – दुई दैले फार्म।
विभिन्न तरकारी, फलफूल खेतीसँगै होमस्टे पनि। होमस्टेमा योगा रुमदेखि लाइब्रेरीसम्म।
छोटो समयमै फार्ममा उत्पादनहरू राम्रो भयो। स्थानीयहरू उनीसँग जोडिए, काम गरे।
'तर मैले आफूलाई जे जति सोचेको थिएँ त्यति होइन रहेछु। गाउँमै खेती किसानी त राम्रै भइरहेको थियो तर मैले सिक्न, खोज्न र बुझ्न सक्ने नयाँ विषयहरू भने ठप्प,' उनले अनुभव सुनाए, 'त्यसैले केही सिकेर फर्किन्छु भन्ने सोच बनाएर काठमाडौं आएँ।'
त्यसपछि उनी फुल टाइम विद्यार्थी बने। कृषिमै मास्टर्स भर्ना भए, पार्ट टाइम मह व्यापारी।
+++
महलाई शिकारीहरूसँग किनेर ल्याउने, खाद्य संस्थानको अनुमति लिने, प्याक गर्ने, बजारसम्म पुर्याउने प्रकियाबीच रुमल्लिँदा उनले नयाँनयाँ सम्भावनाहरू देखे। अन्य ठाउँका कृषिजन्य उत्पादनहरूलाई पनि उस्तै बजार खोज्ने। पहुँच नभएका किसानहरूका लागि माध्यम बनिदिने। किनकि शहरी क्षेत्रमा माग धेरै भएका तरकारी, फलफूल गाउँगाउँमा खेर गइरहेको उनले घुम्नेक्रममा देखेका थिए। गाउँमा भएका निर्भर जनसंख्यालाई उत्पादनमूलक केहीमा सक्रिय बनाउनु थियो उनलाई।
'मलाई सधैं लाग्थ्यो - गाउँगाउँमा फरकफरक उत्पादनहरूको ब्रान्ड बनोस्। किसानहरूले बजार आफै बनाउन्। बेचुन्। कृषिले नै जीवन सहज बनाइदेओस्।'
आफ्नो अवधारणा कलेजमा हुँदा गठन गरेको समूह– युथ फर एग्रो वेलफेयरका साथीहरूसँग साटे। कृषिमा युवा सक्रियता र कृषिजन्य सम्भावनाको खोजीका लागि जम्मा भएका साथीहरू उनको उद्देश्यसँग जोडिए।
फलस्वरुप, उनीहरूको अवधारणालाई यूएसएडले करिब ४० लाख बराबरको फण्ड उपलब्ध गरायो।
उक्त 'प्रोजेक्ट'ले गाउँका किसानहरूलाई बजार केन्द्रित बनाउन प्रेरित गर्ने बताउँछन् उनी। कृषिका लागि आवश्यक तालिम, आर्थिक सहायता (ऋण) उपलब्ध गराउने, उत्पादनको महत्व कसरी बढाउने र त्यसलाई बजारसम्म कसरी पुर्याउने भन्ने बुझाउन र गराउन केन्द्रित रहने उनले बताए।
यस कामको सुरुवात भीरमौरीको महबाटै गर्ने उनको योजना छ। 'भइरहेको मह शिकारलाई अझै व्यवस्थित बनाउने योजना हो। शिकारीहरूको सुरक्षा र बीमा योजनाबारे सोचिरहेका छौं। साथै हनी हन्टिङ हुने ठाउँहरूलाई एड्भेन्चर टुरिजम डेस्टिनेसनका रुपमा कसरी स्थापित गर्न सक्छौ? त्यस बारे पनि सोचिरहेका छौं,' उनले सुनाए।
अब उनी चाहन्छन् मह शिकारीहरू नै मह बोकेर काठमाडौं आउन्, महसँगै ब्रान्ड बोकेर। अनि, उनीहरू आफैले देश विदेशमा बेचुन् आफूले काडेको मह। मूल्य तोकुन्, आफ्नो मेहनतको।'म त सिर्फ किसान र बजारबीचको पुल बन्न चाहन्छु। भीरमौरीको महलाई शिकारी आफैले ब्रान्ड बनाएपछि त म अर्को कथा खोज्छु, अर्को पात्र खोज्छु,' उनले भने, 'देशभर थुप्रै पात्र छन् जो बजार नपाएर आफैले फलाएको तरकारी फलफूललाई मल बनाउन बाध्य छन्।'