
जनकपुरधाम : कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकोले सावधानी अपनाउन प्रदेश २ को रौतहटमा पनि साउन २४ गतेदेखि ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै रौतहटमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो। साउन २४ गते शनिवार बिहान ६ बजेदेखि लागू हुने गरी साउन ३२ गते आइतवारसम्मका लागि निषेधाज्ञा जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।
प्रजिअ घिमिरेले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने गतिविधिमा रोक लगाइने बताए। उनले नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु साउन ३२ गते राति १२ बजे सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रौतहट जिल्लाभरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए।
प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप सञ्चालनमा रहने बताएको छ।
प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ। यसअघि प्रदेश २ का ८ वटा जिल्लामध्ये बारा, पर्सा, सर्लाही र सप्तरीमा निषेधाज्ञा जारी गरिएको थियो भने शनिवारदेखि रौतहट समेत बन्द गर्ने निर्णय गरिएको हो।
अहिलेसम्म प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु समेत भइसकेको छ।