PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना, भेटेका थिए प्रधानमन्त्रीदेखि आइजीलाई



सुमित मिश्र

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना, भेटेका थिए प्रधानमन्त्रीदेखि आइजीलाई
साउन १६ गते प्रधानमन्त्री कार्यालयमा प्रदेशमन्त्री यादव।

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले बताए।

आइतवार काठमाडौंबाट फर्केर सोमवार स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए। साथै उनले आफूमा संक्रमण पुष्टि भए पनि डराउन पर्ने आवश्यकता नरहेको बताए। उनले भने, ‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ। तर, यससँग डराउनु पर्ने आवश्यकता छैन। सर्तकता अपनाई यससँग अहिले लड्नु पर्ने आवश्यकता छ।’

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सबैसँग अपिल गरे। उनी अहिले होम आइसोलेसनमा बसेका छन्।

काठमाडौंमा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म भेट

आइतवार काठमाडौंबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटेर आएका थिए। मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए। हालसम्म प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको मृत्युसमेत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell