PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुत्केरीलाई ‘ओ’ पोजेटिभको साटो चढाइयो ‘बी’ पोजेटिभ रगत! अस्पतालमै गयो ज्यान



सुमित मिश्र

सुत्केरीलाई ‘ओ’ पोजेटिभको साटो चढाइयो ‘बी’ पोजेटिभ रगत! अस्पतालमै गयो ज्यान

जनकपुरधाम : जनकपुरस्थित राम जानकी अस्पतालको लापरवाहीले एक सुत्केरीको ज्यान गएको छ।

महोत्तरीको गौशाला नगरपालिका वडा ११ की २२ वर्षीया गंगादेवी महतोको शुक्रवार विहान ९ बजे निधन भएको हो।

अस्पताल र रेडक्रसको लापरवाहीले ब्लड ग्रुप चिन्न नसक्दा उनको मृत्यु भएको गंगाका श्रीमान राजकिशोरको आरोप छ।

‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि शुक्रवार गंगादेवीको मृत्यु भएको हो।

परिवारजनले गंगा शव उठाउन मानेका छैनन्। मृतकको शव अहिले रामजानकी हस्पिटलको आइसीयुमा राखिएको छ।

परिवारजनले शव उठाउन नमानेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन र रगतको पोका दिएका रेडक्रसका पदाधिकारीहरुलाई सोधपुछका लागि बोलाएको छ।

अस्पतालको कि रेडक्रसको लापरवाही?

गंगादेवी महतोको सुत्केरी हुने समय नजिकिएपछि श्रीमान राजकिशोर श्रीमतीलाई लिएर महोत्तरीको बर्दिवास्थित स्वस्तिक अस्पतालमा जाँच गराउनका लागि पुगे। त्यहाँ अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकहरुले अपरेसन गरी सुत्केरी गराउन सुझाए। चिकित्सकको सल्लाह अनुसार नै आफूहरु जनकपुरधामस्थित रामजानकी हस्पिटल पुगेको मृतकको देवर रामहरि महतोले बताए।

आफूहरु बिहीवार अपरान्ह ४ बजे अस्पतालमा भाउजुलाई भर्ना गराई सकेको उनले बताए। यहाँ पनि गाइनोकलोजिष्ट चिकित्सक शैलेन्द्र साहले अपरेशनमार्फत सुत्केरी गराउन सल्लाह दिएपछि सोहीअनुरुप अपरेसनको प्रक्रिया अगाडि बढाइएको रामहरिले बताए। शल्यक्रियापछि गंगादेवीले छोरी जन्माइन्।

यसअघि नै गंगादेवीलाई रगतको खाँचो पर्ने भन्दै १ पिन्ट रगतको व्यवस्था गर्न भनेका थिए। रगतको व्यवस्था गर्न श्रीमान राजकिशोर र देवर रामहरि पुगे। चिकित्सकहरुले गंगादेवीको रगतको सैम्पलसहित रगत ल्याउन भनेका थिए। रेडक्रसले गंगादेवीको ब्लड ग्रुप बी पोजिटिभ रहेको र श्रीमान राजकिशोरको पनि ब्लड ग्रुप सोही रहेकोले उनले श्रीमतीका लागि एक पोका रगत दिए।

रेडक्रसले दिएको रगतको पोका चिकित्सकहरुले चढाउँदा सुत्केरी झनै सिकिस्त हुन थालेपछि तत्काल रगत चढाउन आफूहरुले बन्द गरेको अस्पतालको प्रशासन शाखाका प्रमुख विकासचन्द्र गुप्ताले बताए। पछि अस्पतालकै ल्याबमा रगतको जाँच हुँदा गंगाको रगत ओ पोजेटिभ ठहरिएको थियो। पछि रगत लिन जाँदा रेडक्रसले पनि ओ पोजिटिभ रगत नै दिएको गुप्ताले बताए।

उनले भने ‘बी पोजिटिभ ब्लड ग्रुप ठहर गरेको रेडक्रसले सोही रगतलाई फेरी कसरी ओ पोजेटिभ ठहर गर्‍यो हामीलाई थाहा छैन, हामीले ल्याबमा जाँच गरेपछिमात्रै ओ पोजेटिभ रहेको थाहा पाएका थियौँ, यो हाम्रो लापरवाही होइन रेडक्रसको लापरवाही हो।’

गंगादेवीको अर्को ब्लड ग्रुपकै रगत चढाइएको कारण मृत्यु भएपछि परिवारजन आक्रोशित छन्। मृतकका ससुरा अजवलाल महतो आक्रोशित हुँदै भने ‘यिनीहरु डाक्टर हुन् कि ज्यान लिने डाकु।’ उनीहरुलाई कारबाही हुनुपर्ने अजबलालको माग छ।

रेडक्रस धनुषाका सभापति नरेश सिंहले यस विषयमा अनुसन्धान भई रहेको बताए।

जनकपुरधामको प्योथोलोजी रिपोर्ट कति भरपर्दो?

जनकपुरधामको प्याथोलोजी रिपोर्टमाथि पटकपटक प्रश्न उठ्दै आईरहेको छ। प्यथोलोजी रिपोर्ट उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सकहरु बताउँछन्। प्याथोलोजी रिपोर्ट गलत हुँदा उपचार पनि सही हुन नसक्ने चिकित्सकहरुको भनाई छ।

यता गंगादेवी महतोको केसमा समेत प्याथोलोजी रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेको छ। जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अगाडि ब्लड ग्रुप जाँच गराउँदा बी पोजिटिभ ब्लड ग्रुप रहेको भनिएको छ। तर अहिले आएर सोही महिलाको ब्लड ग्रुप जाँच गर्दा ओ पोजेटिभ रहेको पाइएको छ।

यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहसँग प्रश्न गर्दा उनले रेडक्रसले नै गल्ती गरेको हुन सक्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell