PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

जयशंकरले बुद्धलाई 'महान भारतीय' भनेपछि नेपालले भन्यो, 'गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने तथ्य बारे विश्व परिचित छ'



जयशंकरले बुद्धलाई 'महान भारतीय' भनेपछि नेपालले भन्यो, 'गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने तथ्य बारे विश्व परिचित छ'

काठमाडौं : परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थलबारेमा विवाद गरिरहनु नपर्ने बताएको छ। भारतका विदेश मन्त्री एस जयशंकरले गौतम बुद्धलाई 'भारतका महान नागरिक' भन्दै अभिव्यक्ति दिएपछि परराष्ट्रले त्यस अभिव्यक्तिको‍ कुनै आधार नभएको बताएको हो।

मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुष्टि भइ युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत समेत रहेको उल्लेख गरेको छ। मन्त्रालयले बुद्धको जन्म नेपालमा भइ बुद्धिजम अन्य देशमा फैलिएको तथ्यमा कुनै प्रकारको शंका र विवाद गर्नु नपर्ने प्रस्ट गरेको छ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसदमा सम्बोधन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएको स्वीकार गरिसकेको भन्दै मन्त्रालयले विश्व नै गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भन्ने बारे परिचित भएको उल्लेख गरेको छ।   

जयशंकरले एक भर्चुअल कार्यक्रममा भगवान गौतम बुद्ध र गान्धी भारतका दुई महान नागरिक रहेको बताएपछि त्यसको विरोध भएको हो। सत्तारुढ र प्रतिपक्ष दलले जयशंकरको अभिव्यक्तिको विरोध गर्दै सरकारलाई आफ्नो धारणा प्रस्ट गर्न माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell