PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

युरोपका ‘अन्तिम तानाशाह’ लाई पराजित गर्ने सपना अधुरै रहयो, बेलारुस छाड्न बाध्य बनिन् स्भेतलाना



युरोपका ‘अन्तिम तानाशाह’ लाई पराजित गर्ने सपना अधुरै रहयो, बेलारुस छाड्न बाध्य बनिन् स्भेतलाना
Photo : Getty Images/AFP

सपना- फेरि सबै परिवारसँगै बस्ने, उनीहरुका लागि खाना बनाउने र देशलाई 'तानाशाह'बाट मुक्ति दिलाउने। यही सोचका साथ बेलारुसकी स्भेतलाना तिखानोभ्सकाया राष्ट्रपति निर्वाचनमा होमिएकी थिइन्।

छैठौंपटक बेलारुसको राष्ट्रपति बन्ने होडमा रहेका एलेक्सजेन्डर लुकास्हेनकोका लागि ‘हेभिवेट’ प्रतिस्पर्धी बनेकी थिइन् उनी। ‘युरोपका अन्तिम तानाशाह’ का रुपमा परिचित एलेक्सजेन्डरका लागि आफ्नो २६ भन्दा लामो सत्ता जोगाउन शिक्षिका स्भेतलानालाई पराजित गर्नुपर्ने चुनौती थियो।

आइतबार भएको निर्वाचनमा राष्ट्रपति नतिजा सार्वजनिक भयो। तर त्यसले ‘तानाशाही’ लाई नै निरन्तरता दियो।  एलेक्सजेन्डरले ८० प्रतिशत मत ल्याएको परिणाम घोषणा भएपछि स्भेतलानाले उक्त परिणाम अस्वीकार गरेको घोषणा गरिन्।

‘मैले नै निर्वाचन जितेकी छु’, उनले भनेकी थिइन्।

आफैले आफैलाई विजेता घोषित गर्दै संघर्ष गर्ने बताएकी स्भेतलाना अन्तत: पछि हट्न बाध्य बनिन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि बेलारुसमा वर्तमान सत्ताप्रतिको आक्रोश सडकमा देखियो। जताततै प्रदर्शन र दंगा, प्रहरीसँग झडप र गिरफ्तारी। बेलारुस राजनीतिक अनिश्चितता तर्फ अघि बढ्दै गर्दा स्भेतलानाको सपना पनि अधुरै रह्यो। बरु बाध्य भएर उनले आफ्नै देश छाड्न पर्‍यो।

प्रहरी दमन चर्किएसँगै स्भेतलाना छिमेकी देश लिथुआनियामा शरण लिन पुगेकी छिन्, आफ्ना सन्तानका साथ।

++

स्भेतलाना बेलारुसको राजनीतिमा लागि नयाँ अनुहार थिइन्। तर छोटो समयमा नै उनले आफूलाई बेलारुसमा ‘पपुलर’ बनाउन सफल भइन्।  खासमा उनले यसपटक निर्वाचनमा प्रतिस्पर्धामा उत्रने तयारी गरेकी थिइनन्। उनका श्रीमान् ४१ वर्षीय भिडियो ब्ल्गर सर्जी तिखानोभ्सकीले राष्ट्रपति लुकास्हेनविरुद्ध लड्न चुनावी मैदानमा उत्रेका थिए। तर, निर्वाचन प्रचारप्रसारको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लियो। उनीमाथि यो वर्षको सुरुवातमा अनुमति बिना प्रदर्शनमा सहभागि भएको आरोप लगाइयो।

श्रीमानलाई निर्वाचनमा लड्न अयोग्य ठहर गर्दै हटाइएपछि स्भेतलानाले राष्ट्रपति निर्वाचनमा लड्ने निर्णय गरेकी थिइन्। उनले आफ्नो चुनावी क्याम्पेनमा आफ्नो सपनाहरु दोहोर्‍याइरहिन्। सुनाइरहिन्, ‘आफ्नो परिवारसँग पुनर्मिलन र उनीहरुलाई खाना बनाएर खुवाउने’ सपना।

स्भेतलानाको श्रीमानलाई निर्वाचनको केही समयअघि रिहा गरिएको थियो। उनले पनि आफ्ना श्रीमतीका लागि निर्वाचनमा प्रचारप्रसार गरे पनि । तर उनलाई प्रहरीले फेरि पक्राउ गर्‍यो। हाल तिखानओभ्सकीलाई नजरबन्दमा राखिएको छ र प्रहरीविरुद्ध हिंसा फैलाएको आरोप लगाइएको छ।

स्भेतलानाको राजनीतिक उदयको बारेमा चर्चा भइरहँदा उनी भने आफूलाई 'राजनीतिज्ञ' भनेर परिचित गराउन चाहँदिनन्। तर विश्लेषकहरुले ३७ वर्षीय स्भेतलानालाई वर्तमान राष्ट्रपतिको लागि 'मुख्य चुनौती' का रुपमा प्रस्तुत गरिरहेका थिए। जहाँ सबैलाई थाहा थियो, ‘तानाशाही’मा यो यात्रा र विश्वासले जित्न सहज छैन।

भयो त्यस्तै, निर्वाचनमा उनी पराजित भएको घोषणा गरियो।

बेलारुसको ‘तानाशाह सरकार’ संचालन भएको वर्षौपछि निर्वाचन इतिहासमा पहिलोपटक कोही 'आउटसाइडर' राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी बनेकी थिइन्। त्यो पनि महिला। जसको न कुनै राजनीतिक पृष्ठभूमि थियो  न सत्ताको मोह नै। आफूलाई जुनसुकै बेलापनि राष्ट्रपति निर्वाचनको दौडबाट हटाउन सक्ने बुझ्दाबुझ्दै ‘ब्यालेट युद्ध’ मा होमिएकी उनी बेलारुसमा उनी 'फेभरेट' बन्दै गएकी छिन्। तर लिथुआनियामा पुगेपछि बेलारुसमामात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा नै उनको चर्चा चुलिएको छ।

उनी बेलारुसको राजनीतिक इतिहासका लागि अप्रत्यासित उम्मेदवार बनिन्। सुरुवातमा अन्यौलताबीच प्रतिस्पर्धी बनेकी उनमा विस्तारैआत्मबल बढ्दै गएको थियो। आफूसँग जनताको सबै उत्तर नभएको र परराष्ट्र नीति र आर्थिक उन्नतीको बारेमा आफू विज्ञ नभएको बताएकी थिइन् उनले। जहाँ उनको निर्वाचन क्याम्पेनमा दुई ठूला राजनीतिक हेभिवेटहरु, पूर्व बैंकर भिकटर बाबारिको र पूर्व कुटनीतिज्ञ भलेरी सेपकालोले समर्थन जनाएका थिए। उनीहरु दुवैजनालाई पनि राजष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकिएको थियो।

उनको निर्वाचन र्‍यालीमामा ‘रेकर्ड बेक्र’ गर्दै लाखौं मानिस सहभागि भइरहेका थिए। जसले पक्कै वर्षौंदेखि सत्तामा बसेकाहरुलाई तर्साएको थियो। यसअघि बेलारुसमा राजनीतिमा संलग्न हुन हतोत्साहित गरिन्थ्यो।

आफू निर्वाचित भए देशमा ६ महिना भित्र स्वतन्त्र निर्वाचन गराउने उनले वाचा गरेकी थिइन्। यसबाट हाल निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकिएका व्यक्तिहरुले फेरि निर्वाचन लड्न पाउने उनको विश्वास थियो । त्यसपछि उनी फेरि आफ्नो पारिवारिक काममा होमिन चाहन्छिन्।

तर न त उनको बेलारुसलाई स्वतन्त्रा दिलाउने उद्देश्य पूरा भयो न त आफ्ना श्रीमान् सहित राजनीतिक कैदीहरुलाई रिहा गर्ने सपना नै।  

निर्वाचन प्रचारप्रसारको क्रममा विवादित विषयबाट टाढा नै रहेकी उनले राष्ट्रपति लुकास्हेनलाई भने जवाफ फर्काएपछि चर्चामा आएकी थिइन्। जब लुकास्हेनकोले सेनामा काम नगरेको व्यक्ति राष्ट्र प्रमुख बन्न सक्दैन भनेर भने तब स्भेतलानाले उत्तर दिँदै भनेकी थिइन्, 'आमाहरुलाई मात्र निर्वाचनमा प्रतिस्पर्धा गर्न दिइनुपर्छ।'

हाल दुई सन्तानकी आमा लिथुआनियामा शरण लिन बाध्य बनाइएकी छिन्। श्रीमानलाई राजनीतिक बन्दी बनाउँदा निर्वाचनमा होमिएकी उनी अहिलेको ‘तानाशाह’ विरुद्धको आन्दोलनको ‘आइकन’ बनेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell