PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

‘डाक्टरको लापरवाहीले पेटको नशा काटिएपछि मेरो दिदीको मृत्यु भयो, न्याय माग्दा प्रहरीले कुट्यो’



सुमित मिश्र

‘डाक्टरको लापरवाहीले पेटको नशा काटिएपछि मेरो दिदीको मृत्यु भयो, न्याय माग्दा प्रहरीले कुट्यो’

जनकपुरधाम: अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका छन्।

जनकपुरको नवजीवन हस्पिटलमा बिहीवार साँझ जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाण टोलकी ३५ वर्षीय रुकमणि देवी सदाको मृत्यु भयो। उनको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त र स्थानीयले राती नै अस्पताल भवनमा ढुंगामुडा गर्न खोजे। उनीहरुलाई रोक्न प्रहरीले लाठी चार्ज गर्‍यो।

पेट फुल्ने, दुख्ने तथा वान्ता हुने समस्याको कारण रुकमणि जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलमा भर्ना भएकी थिइन्। उनको चारदिन भर्ना भएर उपचार गराउँदा समेत कुनै सुधार नभएपछि बुधबार अस्पतालका डाक्टर संजय चौधरीले पेटको शल्यक्रिया गरेका थिए। शल्यक्रिया पश्चात २४ घण्टा नबित्दै बिहीबार साँझ ५ बजे बिरामीको मृत्यु भयो।

अस्पतालकै लापरवाहीले रुकमणिको मृत्यु भएको भन्दै आफन्तजन र स्थानीयले अस्पतालमाथि ढुंगामुढा गर्ने प्रयास गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो। प्रहरीको लाठी चार्जबाट मृतक रुकमणिका छोरा रमानन्द सदासहित आधादर्जन बढी घाइते भएका छन्।

प्रहरीले उल्टै पीडित पक्षमाथि लाठीचार्ज गरेर अन्याय गरेको स्थानीय एवं जनकपुर विकास समितका अध्यक्ष जपतेन्द्र पासमानले गुनासो गरे। अस्पतालकै चरम लापरबाहीले मृत्यु भएको मृतक रुकमणिकी भाई इन्दल सदाले बताए।

‘मेरो दिदीलाई पित्त थैलीमा पत्थरीको समस्या थियो। समान्य हुनुहुन्थ्यो। उपचार गराउन आउँदा यहाँ उपचार सम्भव छैन, बाहिर लग्नुस् भन्दा पनि हुन्थ्यो। तर अस्पतालले यहिँ ठीक हुन्छ भन्यो। चार दिनमा ठीक नहुँदा बाहिर लग्नुस् भन्दा पनि भनेन। अप्रेशन गर्नुपर्छ भन्यो। अप्रेशन गर्ने बितिकै यहाँबाट बाहिर लग्न भन्यो। त्यतिबेला हामी कहाँ लग्थ्यौं?,’ भाई इन्दलले पहिलो पोस्टसँग भने, ‘अस्पतालको लापरबाहीले पेटको कुनै नशा काटिएपछि मेरो दिदीको मृत्यु भएको हो।’

भाई इन्दलले उपचारमा लापरबाही गरी दिदीको ज्यान लिने अस्पतालमाथि काडा कारबाही हुनुपर्ने र क्षतिपूर्ति पाउनु पर्ने माग गरे। उनले उल्टै प्रहरी प्रशासनले नै आफूहरुलाई कुटपिट गरी घाइते बनाएकोप्रति दुखेसो पोखे।

यता अस्पताल पक्षले उपचारमा कुनै लापरबाही नभएको दावी गरेको छ। अस्पताल प्रशासनका अखिलेश साहले सुरुमा पेटको समस्या लिएर आएपछि ठीक हुन्छ भन्ने किसिमकै रोगको प्रकृति हेर्दा भर्ना लिएको बताए। ‘बिरामीको अवस्था गम्भीर भएपछि परिवारजनलाई हामीले अप्रेशन गर्नुपर्ने सल्लाह दियौं। तर अवस्था खराब छ भन्ने कुरा पनि हामीले परिवारजनलाई भनेका थियौं’ उनले भने, ‘अप्रेशन गर्दा पेटमा आँत अझरिएको थियो। तीनघण्टा लगाएर अप्रेशन गर्‍यौं। बिहान अवस्था सुधार आएको थियो। तर अन्तमा मृत्यु भयो। उनको समस्या गम्भीर थियो। अप्रेशन नगर्दा पनि बिरामीको मृत्यु हुने सम्भावना बढी थियो।’

पछिल्लो समय जनकपुरको अस्पतालहरुमा चरम लापरबाहीको घटनाहरु भइरहेको छ। गएको शुक्रबार मात्रै जनकपुरको रामजानकी हस्पिटलमा फरक समूहको रगत चढाउँदा सत्केरीको अकालमै मृत्यु भएको थियो। महोत्तरीको गौशाला नगरपालिका भरतपुरकी २३ वर्षीय गंगादेवी महतोको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell