काठमाडौं : नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन्।
नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी उक्त नक्सा स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो।
विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो।
अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरु, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन्।