PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?



स्वेच्छा राउत

ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?

जय नेपाल सिनेमाघरको माथि अहिले पनि एउटा ठूलो होडिङ बोर्ड छ फिल्म 'मुलान'को।

सन् १९९८ मा डिज्नीले बनाएको एनिमेटेड फिल्मलाई नै एडप्ट गरेर बनेको यो फिल्म नेपालमा पनि रिलिज हुने तयारीमा थियो। त्यसो त यो फिल्म निर्माणको विगत पनि रोचक नै छ। सन् २०१० मा यसको 'लाइभ एक्सन' रिमेक गर्ने तयारी भएको थियो। तर, पूरा नै हुन सकेन। सन् २०१५ मा आएपछि मुलानको अनाउन्स भयो। सन् २०१७ मा निकी कारो यसका निर्देशकमा छानिए। अगस्ट २०१८ बाट फिल्म सुटिङमा गयो। मार्च २०, २०२० रिलिजका लागि मिति तय भयो। त्यही सेरोफेरोमा नेपालमा पनि फिल्म रिलिज हुँदै थियो।

त्यसैका लागि मुलरको होडिङ बोर्ड जय नेपालको छतमै राखिएको थियो। त्यो होडिङ बोर्ड अहिले पनि जय नेपाल सिनेमाघरमा कायमै छ तर फिल्म रिलिज चाहिँ हुन सकेन, कोरोनाका कारण। यो फिल्म अब डिजिटल रिलिजको तयारीमा छ - सेप्टेम्बर ४ मा डिज्नी प्लसबाट।

डिज्नी प्लसका ग्राहकले ३० डलर खर्चेर यो फिल्म हेर्न पाउनेछन्। हलिउड र बलिउडका फिल्म थियटरका पर्दामा रिलिज नहुँद क्रमश: मुलान जस्तै एप् मार्फत् दर्शकबीच पुग्दैछन्। एक हिसाबले सिनेमा वितरण प्रणालीमा प्याराडाइम सिफ्ट हुँदैछ, विश्वभर। ठीक यतिखेर नेपाली फिल्महरु चाहिँ कुन अवस्थामा छन् त? के डिजिटल प्ल्याफर्मबाट नेपाली फिल्म उद्योगले आफूलाई बचाउन सक्छ?

+++

सन् २०१८ को सुरुवातमा फिल्म 'जात्रा' मोबाइल एप ‘सिनेमा घर’मार्फत् रिलिज हुने भयो। व्यवसायिक एवं समीक्षात्मक हिसाबमा सफल ठहरिएको फिल्म थियो- जात्रा। हलमा गएर फिल्म नहेरेका दर्शकका लागि अनलाइनमा रिलिज हुनु खुसीको विषय थियो। त्यसमाथि नयाँ वर्षको उपलक्ष्यमा नि:शुल्क देखाउने तयारी गर्‍यो फिल्म युनिटले।

रवीन्द्रसिंह बानियाँले फेसबुक पोस्ट सेयर गर्दै लेखे - 'फिल्म जात्रा अनलाइनमै हेर्नुस्। नि:शुल्क।'

उक्त पोस्टमा आएका धेरै प्रतिक्रियाहरुमध्ये एक थियो - 'इन्टरनेटको पैसा चाहिँ तेरो बाजेले तिर्छ ?'

+++

नेपाली फिल्मकर्मी र दर्शक दुवैका लागि डिजिटल प्ल्याटफर्म उपयुक्त माध्यम हुनसक्छ भन्ने सोचेका थिए सिंहले। एपमार्फत् फिल्म हेर्ने संस्कारको विकास भइसकेको थिएन। त्यसैले दर्शकले प्रश्न गर्नु स्वभाविक माने उनले।

तर, केही दर्शक छन् जसले राम्रा ‘कन्टेन्ट’ खोज्छन्, पैसा खर्च गरेरै पनि फिल्म हेर्न पछि पर्दैनन् भन्नेमा विश्वास थियो उनलाई। ‘जात्रा’मा विश्वास थियो फिल्म यूनिट र एप संचालकलाई पनि।

सोचेजस्तै भयो दर्शकको प्रतिक्रिया उत्साहजनक रह्यो। जात्रा निर्देशक प्रदीप भट्टराईले भने, 'हलसम्म पहुँच नभएका वा पहुँच भएर पनि मौका नमिलेका थुप्रै दर्शक रहेछन्। सामाजिक सञ्जालदेखि व्यक्तिगत मेसेजसम्म फिल्मबारे गज्जब प्रतिक्रियाहरू आए।'

'सिनेमा घर' एपका निर्देशक एवं डिजाइनर सागर खरेलका अनुसार जात्रालाई नि:शुल्क हेर्न मिल्ने बनाउँदा एप डाउनलोड ह्वात्तै बढ्यो। फिल्म राख्नु फाइदाजनक रह्यो।

दु:खद् पाटो पनि रह्यो यससँगै- फिल्म देखाएकै दिन पाइरेसी भयो। एकाएक फिल्म फेसबुक पेजमा अपलोड भयो।

‘दोषी पक्राउ पनि गर्‍यौं। तर समस्याको समाधान व्यक्ति पक्राउ पर्नुमात्र थिएन। हुन त हामीले फिल्म एपमा राख्नुअघि पनि सुरक्षाबारे छलफल गरेका थियौं तर प्रविधि निकै अगाडि छ। रोक्नै गाह्रो,’ निर्देशक भट्टराईले सुनाए।

जात्रापछि अन्य केही फिल्म रिलिज भए 'सिनेमाघर एप' मा। त्यसपछि भने निष्क्रिय।

'हामी आवश्यक परिमार्जन र नयाँ सुविधाहरूसहित पुन: आउने तयारीमा छौं,' एपका निर्देशक सागरले भने।

+++

कोरोना भाइरस महामारीका कारण सिनेमा घरहरू ठप्प छन्। नयाँ फिल्म निर्माण प्रक्रिया रोकिएका छन्। प्रदर्शनको तयारीमा रहेका फिल्महरूलाई समेत संक्रमण र लकडाउनले निकै असर गरेको छ। 'नीरफूल', 'लक्का जवान', 'प्रेम गीत ३', 'माइकल अधिकारी'जस्ता फिल्मका निर्माता फिल्म हल खुल्ने पर्खाइमा छन्।

तर, बलिउडले भने डिजिटल प्ल्याटफर्मलाई महामारी बीचको विशेष अवसर बनायो। 'गुलाबो सिताबो' लकडाउन यता अनलाइन रिलिज हुने पहिलो फिचर फिल्म बन्यो। विद्या बालन अभिनीत 'शकुंतला देवी', नवाजुद्दीन सिद्दीकी र राधिका आप्टे रहेका 'रात अकेली है' र कुनाल खेमु अभिनीत 'लुटकेस' त एकै दिन रिलिज भए। कोभिड-१९ अघि सिनेमा घरमा हुने बक्सअफिस प्रतिस्पर्धा अनलाइनमार्फत् भयो। त्यसका लागि प्ल्याटफर्म बने अन्तर्राष्ट्रिय स्तरमा चलेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र हटस्टार।

हलिउडमा डिजिटल प्ल्याट्फर्मले सिनेमा हेर्ने शैली फेरिरहेको छ। एक हिसाबले अब प्याराडाइम सिफ्टको संकेत देखिन्छ त्यहाँ। फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको वर्षको सर्वाधिक महँगा कलाकारको सूचीमा परेका शीर्ष १० जनाको कूल कमाईको एक चौथाई हिस्सा नेटफ्लिक्सबाट भएको हो।

नेपाली फिल्मको हकमा भने ती अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्ममा ठाउँ पाउनु हालसम्म कठिन विषय हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको दर्शक संख्या, भाषा र नेपाली फिल्मले उठान गर्ने विषय र प्रस्तुतिको शैलीलाई समस्या मान्छन् फिल्म समीक्षक यज्ञश। भने, 'ठूला प्ल्याटफर्ममा अटाउन कि त बजार ठूलो हुनुपर्‍यो कि त फिल्मको कलात्मक गुणस्तर। नेपालको हकमा निकै कम त्यस्ता फिल्म बनेका छन्।'

लकडाउन यता शिरिष गुरुङ निर्देशित 'लाटो कोशेरो' र विवेक घिमिरेको 'चिनी कम रङ कडा' अमेजन प्राइममा रिलिज हुनुले भने केही सकारात्मक संदेश प्रवाह गरेको छ। नेपाली फिल्मले पनि अन्तर्राष्ट्रिय प्ल्याट्फर्ममा ठाउँ पाउन सक्छ, भाषा बाधक होइन भन्ने भएको छ। निर्माताका लागि हलको पर्दाबाहेक अन्य माध्य म पनि छन् भन्ने हुँदैछ।

सम्भावित माध्यमको खोजीको नतिजा हो – नयाँ अनलाइन एपहरू सञ्चालनमा आउनु।

'नेटको पैसा तेरो बाजेले तिर्छ ?' भन्ने प्रश्नको सामाना गरेका रवीन्द्रसिंह बानियाँ पनि डिजिटल प्ल्याटफर्म तयार गर्दैछन्, फिल्मकर्मी प्रचण्डमान श्रेष्ठसँगको सहकार्यमा। त्यहाँ उनीहरूले ओएसआर डिजिटलले डिजिटल राइट्स खरिद् गरेको फिल्महरू राख्नेछन्।

'तर पसल मात्र राम्रा भएर हुँदैन। सामान राम्रो हुनुपर्‍यो,' रवीन्द्र भन्छन्, 'त्यसैले हामी पैसा कमाउनेभन्दा पनि आफ्नो सामान बेच्ने प्ल्याटफर्मको तयारी गर्दैछौं। राम्रो सामान राख्दा त्यसलाई हेर्ने जमात बिस्तारै विकास हुन्छ भन्ने विश्वास हो।'

त्यसैले फिल्म राख्ने प्ल्याटफर्मसँगै फिल्म हेर्ने उत्साह निर्माण र आम दर्शकको पहुँच हुने खालका 'पेमेन्ट गेटवे'बारे जानकारी दिनु आवश्यक रहेको उनको तर्क छ।

तत्कालका लागि अनलाइन प्ल्याटफर्म विदेशमा रहेका नेपाली दर्शकका लागि उपयुक्त हुने निर्माता एवं वितरक प्रचण्डमान श्रेष्ठको तर्क छ। सबै देशका हलमा सबै फिल्म प्रदर्शनमा ल्याउन र इच्छुक दर्शक समेट्न गाह्रो हुने भएकाले पनि एप्लिकेसन वा अनलाइन साइट राम्रो माध्यम हुनसक्ने बताउँछन् उनी। 'नेपाली संस्कृति, भाषा मिल्दो भएकाले पनि विदेशमा भएका दर्शकले अनलाइन उपलब्ध नयाँ फिल्म हेर्छन्। 'होम नोस्टाल्जिया' कम गर्न पनि नेपाली फिल्म सहयोगी बन्न सक्छ,' प्रचण्डमानले भने।

+++

नेट्फ्लिक्स, अमेजन प्राइम, हट स्टारस्ता ठूला प्ल्याट्फर्महरूले 'लाइब्रेरी' ठूलो बनाउनका लागि पनि फिल्महरू करोडौं लगानी गरेर किनिरहेका छन्। बलिउडले तीनै प्ल्याट्फर्ममार्फत् ठूला बजेटका फिल्महरू समेत प्रदर्शनमा ल्याइरहेका छन्।

हलिउडले यसअघि नै फिल्मसँगै वेब सिरिज निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। बलिउडका चर्चित कलाकारहरू अक्षय कुमारदेखि नवाजुद्दिन सिद्दिकीसमेत वेब सिरिजमा अभिनय गरिरहेका छन्। वेब सिरिजकै कारण स्वतन्त्र फिल्म निर्माताहरूले काम देखाउने ठाउँ पाएका छन्।

नेपालको हकमा व्यवसायिक एवं दर्शकको आकर्षणको हिसाबमा त्यो सबै सम्भव छैन। तर, नेपाली फिल्म हलबाट उत्रिएपछि पनि बेच्ने ठाउँ बन्नु पर्ने तर्क छ प्रचण्डमानको। 'नेपाली फिल्म निर्माताले यूट्यूबमा फिल्मा नि:शुल्क उपलब्ध गराउन नछाडेसम्म चाहिँ डिजिटल प्ल्याट्फर्मलाई गाह्रै छ,' उनको कन्क्लुजन।

दर्शक बनाउन संघर्षरत् नेपाली फिल्म उद्योगका लागि यूट्यूब हिट्सले ठूलो अर्थ राख्छ। कुनै फिल्म सार्वजनिक भएको केही घण्टामै ट्रेन्डिङमा आउँछन्। कुनै फिल्मले केही घण्टामै लाखौं हिट्स बटुलेको समाचार बन्छ। भलै यूट्यूब कमेन्ट एवं सामाजिक सञ्जालमा दर्शक प्रतिक्रिया सन्तोषजनक देखिँदैन।

उक्त 'हिट्स'लाई सम्भावनाको रुपमा व्याख्या गर्छन् 'फोपी' मोबाइल एपका अध्यक्ष प्रशान्तराज कार्की।

'यूट्यूबमा करोडसम्म भ्यूज हुन्छ भने त्यो पक्कै नेपाली फिल्मका दर्शकले हेरेका हुन्। अब हामीले ती दर्शकलाई कसरी मोबाइल एप वा अन्य डिजिटल प्ल्याट्फर्मसम्म तान्ने त ? त्यो हाम्रो चाहना र ल्याकतमा भर पर्छ,' प्रशान्तले भने।

हाल यूट्यूबमा रहेका लाखौंमध्ये १०/१२ लाख मानिसमात्र डिजिटल प्ल्याट्फर्मको प्रयोगमा सक्रिय रहेको उनको अनुमान छ। त्यसैले दर्शकसँग इन्टरनेटको पहुँच र पैसा तिर्ने डिजिटल माध्यमको प्रयोग बढेको खण्डमा मोबाइल एप वा साइट नै फिल्म हेर्ने उचित ठाउँ बन्ने उनको ठम्याइ हो।

त्यसका लागि सुरुवाती चरणमा कुनै पनि एपले सुलभ मूल्यमा फिल्म उपलब्ध गराउनु र दर्शकलाई डिजिटल प्ल्याट्फर्मप्रति आकर्षित गर्नु नै उचित उपाय मान्छन् उनी।

यूट्यूबमा फिल्म हाल्ने संस्कारको विकासकै कारण थिएटर मात्र नभइ डिजिटल प्ल्याट्फर्म पनि पछाडि धकेलिने तर्क छ उनको।

'आखिरमा फिल्म कला र मनोरञ्जनसँगै व्यापारिक उत्पादन पनि हो। त्यसैले निर्माताले व्यापार गर्ने तरिकालाई थोरै बदल्न सके एपहरूको भविष्य छ। त्यो भविष्य वर्तमान बन्न कति समय लाग्छ चाहिँ भन्न सकिन्न,' उनले भने।

एप सञ्चालकहरूले पनि प्ल्याट्फर्म बनाउने र हरेस खाएर छाड्दै गर्न नहुने बताए। 'नेपालको हकमा नयाँ प्रयास हो। रिटर्न तत्काल खोजिहाल्नु गलत हो। धैर्य गर्नुपर्छ,' उनले भने।

कोभिड-१९ महामारी र लकडाउनका कारण फिल्म हेर्नका लागि मोबाइल एप खोज्ने वा खोल्ने दर्शक सक्रिय भएको बुझाइ छ उनको।

'नयाँ दर्शक धेरै आएका होइनन् वा एप धेरै पटक डाउनलोड भएको होइन। तर, जति छन् उनीहरूले एपमा धेरै समय बिताउन, फिल्म हेर्न थालेको पक्कै हो,' उनले भने।

हालसम्म फोपी एप ४ लाख पटक डाउनलोड भएको छ। लकडाउन अवधीमै हो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले 'फोपी एप'बाट परिवारसहित 'बुलबुल' फिल्म हेरेका थिए। उनले त्यसपछि ट्वीट समेत गरेका थिए। उनले फिल्मबारे निक्कै सकारात्मक टिप्पणी गरेका थिए। साथै लकडाउनको समयमा उचित ढंगले समय कटाउने माध्यम बनेको पनि बताएका थिए।

'हाल त्यस्तै खालका प्रचारका कारण पनि मानिसहरूले एप खोज्दैछन्। फिल्म हेर्दैछन्। हामी सकारात्मक हुने ठाउँ छ,' कार्कीले भने, 'सिनेमा हल बन्द भए पनि दर्शकले नयाँ नयाँ माध्यम खोज्दा रहेछन्।'

+++

लकडाउनकै कारण डिजिटल प्ल्याट्फर्ममा सम्भावना देखे 'दामी म्यूजिक एप'का निर्देशक सुदीप पोखरेलले। त्यसैले गीत/संगीत मात्र उपलब्ध गराउँदै आएको दामी एपमा फिल्म नै प्रदर्शन थाले। त्यो पनि 'फ्राइडे रिलिज'को अवधारणासहित।

सिनेमा हल बन्द हुँदा दर्शकले फिल्म हेर्ने ठाउँ र यूट्यूबमा उपलब्ध नभएका फिल्महरू खोज्न थालेको महसुस गरे। त्यसैले उनले म्युजिक एपकै सदुपयोग गर्दै हरेक साता एक फिल्म प्रदर्शनमा राख्ने निर्णय गरे।

'दर्शक पनि छन्। प्राविधिक रूपमा पनि सम्भव छ भने किन नगर्ने ? भन्ने सोचेर थालेका हौं,' उनले भने। दर्शक सहभागिता र एप डाउनलोड संख्यामा फिल्म प्रदर्शनले सकारात्मक प्रभाव पारेको उनले बताए।

तर, सुरक्षा चुनौती चाहिँ छँदैछ। पाइरेसीको जोखिम रोक्नकै लागि दामी म्युजिकले हाललाई मोबाइल र ट्याबका लागि मात्र उक्त फिल्म उपलब्ध गराएको छ।

नेपालमा डिजिटल माध्यम मासिक रूपमा 'सब्स्क्राइब' गर्ने र आफूले रुचाएको फिल्म हेर्ने प्रावधान सुरु भइसकेको छैन। 'पे पर भ्यू'को अवधारणामा एपहरू सञ्चालित छन्। दामी म्यूजिकमा फिल्म हेर्न दर्शकले ७५ रुपैयाँ तिर्नुपर्छ। उक्त एपले आम्दानीको ३० प्रतिशत आफू र पेमेन्ट गेटवेका लागि राखेर बाँकी निर्मातालाई दिने जानकारी सुदीपले दिए।

त्यस्तै, फोपी एपले कुल आम्दानीको ४० प्रतिशत एप र पेमेन्ट गेटवेका लागि र ६० प्रतिशत निर्मातालाई दिने प्रशान्तले बताए।

अभिनेत्री ऋचा शर्माले पनि नेपाली फिल्मका लागि डिजिटल प्ल्याट्फर्म आवश्यक महसुस गरेर ल्याइन् 'चलचित्र टिभी।' उनले नेपाली फिल्मको साँघुरो डायस्पोरालाई केही फराकिलो बनाउन आफ्नो एपले सहयोग पुर्‍याउने विश्वास राखेकी छन्। शर्माले उक्त एप विदेशमा रहेकादेखि सिनेमा घर नभएका विकट ठाउँका दर्शक केन्द्रित रहने बताएकी छन्।

चलचित्र टिभी, फोपी, दामी, आइफ्लिक्स, भिडियो पसल लगायत एपले नेपाली फिल्म प्रदर्शनमा राखेका छन्। साथै, केही नयाँ एपहरू सार्वजनिक हुँदैछन्।

यस्तोमा कस्तो कन्टेन्ट दर्शकले रुचाउँछन् र डिजिटल प्ल्याट्फर्मका लागि उपयुक्त सामाग्री बन्छन् भन्ने बहस समेत सुरु भएको छ। 'राम्रो फिल्म चल्ने/नचल्ने जस्तै एप पनि राम्रै मात्र अन्तिमसम्म रहन्छन्। त्यसैले दीर्घकालीन सोच्नु पर्छ। बजार नबुझी र योजना नबनाइ जोसिएर हुँदैन,' प्रचण्डमानले भने।

एप सञ्चालकबीच स्वस्थ प्रतिस्पर्धा भएको खण्डमा भने डिजिटल प्ल्याट्फर्म परिष्कृत र चुनौतीहरू गौण बन्दै जाने उनको बुझाइ छ। नत्र जय नेपालमा टाँगिएको मुलानको होडिङबोर्डबाट चमक हट्दै गएजस्तो अवस्थामा पुग्नेछ नेपाली फिल्म उद्योग।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell