PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गोलकिपिङबाट क्रिकेटमा उदाएका 'माही', 'विश्वले मिस गर्नेछ हेलिकप्टर सट'



गोलकिपिङबाट क्रिकेटमा उदाएका 'माही', 'विश्वले मिस गर्नेछ हेलिकप्टर सट'
Illustration: Arnica Kala / The Quint

'मलाई जीवनमा केही पछुतो छैन। जसले तपाईँलाई मार्दैन त्यसले बलियो बनाउँछ। कयौँ राम्रो कुरा भए, जहाँ एउटालाई छान्न कठिन थियो। आरोह अवरोहको यो मेरो यात्रा हो।'

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले छोटो फर्म्याटको कप्तानी पाएपछि भनेका थिए। उनै धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

+++

एउटा सानो बच्चा जसले आफ्नो गोलकिपिङको कौशल देखाएर क्रिकेटमा आएको थियो त्यही बच्चा महेन्द्रसिंह धोनी 'माही' पछि आएर आफ्नो गृहनगर राँची र देशकै गौरव बन्न सफल भयो। त्यतिमात्र होइन धोनी आफ्नो करिअरमा विश्वको शीर्ष क्रिकेटरमध्येमा पर्न सफल पनि भए।

३९ वर्षीय धोनीले सन्यास लिँदै गर्दा उनको खेल करिअरलाई सम्झनुपर्ने हुन्छ।

१८ वर्षमा रणजी ट्रफीमा ड्रेब्यू

धोनीको क्रिकेट करिअर तब सुरु भयो जब उनले बिहारको तर्फबाट सन् १९९९/२००० मा रणजी ट्रफीमा डेब्यू गरे। त्यतिबेला उनको उमेर थियो १८ वर्ष। ५ म्याचमा २८३ रन जोड्दै उनले उक्त सिजन सकेका थिए। अर्को सिजनमा उनले बिहारबाट बंगालविरुद्ध मेडन फस्टक्लास सेञ्चुरी हाने।

अर्को सिजनबाट उनी खडकपुर रेल्वे स्टेसनमा ट्राभलर टिकट एक्जामिनर (टीटीई) को जागिर खान थाले। त्यहाँ उनले सन् २००३ सम्म काम गरे।

जब दादाको ध्यान खिचे

टीटीईको काम गर्दै धोनीले क्रिकेटलाई निरन्तरता दिए। उनले नयाँ राज्य झारखण्डबाट खेल्न थाले। सन् २००२/२००३ सिजनमा रणजी ट्रफीमा तीन हाफ सेञ्चुरी प्रहार गरे। देवधर ट्रफीको प्रदर्शनले धोनी 'हार्ड हिटिङ लोअर अर्डर' ब्याट्सम्यानका रुपमा चिनिन थाले।

सन् २००३/२००४ मा इस्ट जोनले सेन्ट्रल जोनलाई हराउँदै देवधर ट्रफी हात पार्दा धोनी टिमका महत्वपूर्ण सदस्य थिए। जहाँ उनले ४ म्याचमा एक सेञ्चुरी (११४) रनसहित उत्कृष्ट प्रदर्शन गरेका थिए।

घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनलाई इन्डिया 'ए' मा बोलाइयो। जहाँ उनले ६ पारीमा ३६२ रन जोडे। जसमा पाकिस्तान 'ए' विरुद्धको दुई शतक पनि थियो। उनको प्रदर्शनले तत्कालीन भारतीय टिमका कप्तान सौरभ गांगुली (दादा) र जोन राइटको ध्यान खिच्न सफल भयो।

निलो क्याप

डिसेम्बर २३, २००४ मा पहिलोपटक भारतीय राष्ट्रिय टिममा डेब्यू गरे धोनीले। चित्तागोङ्गमा बंगलादेशविरुद्धको खेलमा उनी एक बल फेस गर्दै डक आउट भएका थिए। यद्यपि उक्त खेल भारतले ११ रनले जितेको थियो।

सुरुका ४ खेलमा धोनीको प्रदर्शन राम्रो रहन सकेन। सुरुवाती चार खेलमा ०, १२, ७*र ३ रन जोडेका उनले पाँचौँ खेलमा भने शतक प्रहार गरे। तीन नम्बरमा आएर धोनीले विशाखापटनमा भएको पाकिस्तानविरुद्धको खेलमा १२३ बलमा १४८ रन बनाए। जसका लागि उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए। धोनीको शतक कुनै पनि भारतीय विकेट किपरले एक दिवसीयमा प्रहार गरेको पहिलो शतक थियो।

टेस्ट स्पेसल

एक दिवसीयमा स्थान सुरक्षित गरेसँगै धोनी क्रिकेटको सबैभन्दा लामो फर्म्याट टेस्टमा पनि अघि बढे। फैसलाबादमा पाकिस्तानविरुद्धको खेलमा १५३ बलमा १४८ रन जोड्दै टिमलाई उकासेका थिए। जबकी पाकिस्तानले ५८८ रन बनाउँदा भारतले २८१ रनमा ५ विकेट गुमाइसकेको थियो। उक्त टेस्ट बराबरीमा रोकियो तर धोनीले भने टेस्टमा आफ्नो स्थानलाई निरन्तरता दिन सफल भए।

विश्वकप...

वेस्ट इन्डिजमा भएको सन् २००७ को विश्वकपमा भारत लाजमर्दो नतिजा निकाल्दै समूह चरणबाटै बाहिरियो। दक्षिण अफ्रिकामा भएको टी-२० विश्वकपमा धोनीलाई कप्तानीको जिम्मेवारी दिइयो। जसमा उनी खरो उत्रिए। भारतले माहीको कप्तानीमा सन् २००७ को पहिलो टी-२० विश्वकप उपाधि उचाल्यो।  

सन् २००८ मा अनिल कुम्बलेको अनुपस्थितिमा धोनीले पहिलोपटक टेस्टमा भारतीय टोलीको नेतृत्व गरे। कानपुरमा भएको उक्त टेस्टमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो। त्यस्तै कप्तानको रुपमा दोस्रो खेलमा उनी प्लेयर अफ दि म्याच भए। जसमा भारतले अस्ट्रेलियालाई १३० रनले हराएको थियो।

शीर्ष स्थानमा रहँदा

सन् २००९ मा ४१ वर्षपछि भारतले धोनीको कप्तानीमा न्युजील्याण्डमा टेस्ट सिरिज जित्यो। त्यही वर्ष श्रीलंकाविरुद्ध पनि २-० ले टेस्ट सिरिज हात पार्‍यो। भारत टेस्टमा एक नम्बर वरीयतामा आयो। धोनीका लागि यो कोसेढुङ्गा थियो। भारत पहिलोपटक टेस्ट वरीयतामा उनको कप्तानीमा शीर्ष स्थानमा आएको थियो।

आइपिएलको ट्रफी ल्याउँदा

अघिल्ला दुई सिजन फाइनल र सेमिफाइनल खेलेपछि धोनीले पहिलोपटक चेन्नाइ सुपर किंग्सलाई आइपिएलको उपाधि जिताउन सफल भए। सन् २०१० मा मुम्बइ इन्डियन्सलाई हराउँदै चेन्नाइ सुपर किंग्सलाई उपाधि जिताएका थिए। त्यसयता सन् २०११ र २०१८ मा पनि चेन्नाइले आइपिएल उपाधि जितिसकेको छ।

सन् २०१० मै भारतले एसिया कपको उपाधि पनि जितेको थियो। श्रीलंकालाई हराउँदै भारतले १५ वर्षको ग्यापपछि एसिया कपको उपाधि उचालेको थियो। सन् २०१० मा धोनीले प्रेमिका साक्षी सिंह रावतसँग विवाह गरेका थिए।

त्यो रात...

सम्भवतः धोनीको करिअरको सबैभन्दा ठूलो उपलब्धि हुनुपर्छ:  सन् २०११ को विश्वकप। मुम्बइको वानखेडेमा घरेलु टोलीले विश्वकप जितेको थियो। फाइनलमा आफ्नो अर्डरलाई अगाडि ल्याउँदै धोनीले पारी सम्हाले। उनले ७९ बलमा ९१ रन प्रहार गर्दै भारतलाई विश्वकप दिलाए।  

सीमित ओभरको कप्तानीमा ४ वर्ष धोनीका लागि कठिन पनि रह्यो। अस्ट्रेलियासँगको सिरिजमा पराजय, पाकिस्तानसँगको सिरिजमा पराजय भोग्नु परेको थियो भारतले।

तर उनले 'दादा'को रेकर्डलाई तोड्दै सर्वाधिक सफल भारतीय कप्तान बने।

सन् २०१३ को च्याम्पियन्स ट्रफीमा भारतले इङ्ग्ल्याण्डलाई फाइनलमा ५ विकेटले हराउँदा धोनी आईसीसी ट्रफीमा क्लिनस्वीप गर्ने पहिलो भारतीय कप्तान बने।        

टेस्टबाट सन्यास, बिराटलाई बाटो

सन् २०१४ डिसेम्बर ३० मा टेस्ट क्रिकेटबाट सन्यास लिँदै उनले सबैलाई चकित बनाए।

सधैंझै सबैलाई अचम्मित पार्दै धोनीले सन् २०१७ जनवरी ४ मा सीमित ओभरको कप्तानीबाट पछि हट्दै बिराट कोहलीलाई कप्तानीका लागि बाटो खोलिदिएका थिए।

र, सन्यास

सन् २०१९ विश्वकपको सेमिफाइनलबाट भारत बाहिरिएसँगै धोनी फिल्डमा देखिएनन्। उनी केही समय आर्मीमा रहे भने केहिलेकाहीँ प्रोमोसनल इभेन्टहरुमा देखा परे। समर्थकहरुले उनलाई मैदानमा देख्न नपाएको एक वर्ष पुगिसकेको थियो। आइपिएलपछि धोनीले राष्ट्रिय टिममा पुनरागमन गर्छन् भन्ने अनुमान चलिरहेको थियो।

यही हप्ता उनलाई चेन्नाइ सुपर किंग्सको क्याम्पका लागि सहभागी हुने टिमका सदस्यहरुसँग देखिएको थियो। जसले समर्थक खुसी बनेका थिए। शनिबार एकाएक आएको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणाले भारतीय क्रिकेटमा तरंग पैदा गरेको छ। यद्यपि उनी आइपिएलमा सहभागी हुनेछन्।

अनुवाद र तस्विरहरु : THE QUINT



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell