PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शल्यक्रियापछि मृत्यु भएकी रुक्मिणीका भाइले अस्पताल सञ्चालकसहित ४ जनाविरुद्ध दिए जाहेरी



सुमित मिश्र

शल्यक्रियापछि मृत्यु भएकी रुक्मिणीका भाइले अस्पताल सञ्चालकसहित ४ जनाविरुद्ध दिए जाहेरी

जनकपुरधाम : चिकित्सकको लापर्बाहीका कारण आफ्नी दिदी रुक्मिणी सदाको मृत्यु भएको भन्दै भाइ इन्दल सदाले नवजीवन अस्पतालका सञ्चालकसहित ४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्। नवजीवन अस्पतालमा उपचारको क्रममा ३५ वर्षीया रुक्मिणीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै इन्दलले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका हुन्।

इन्दलले नवजीवन अस्पतालका सञ्चालक महेश महासेठसहित चिकित्सकहरु संजय चौधरी, मनोज साह र शम्भु साहविरुद्ध जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी लिएपनि अहिले दर्ता नभएको बताएको छ। जाहेरी दर्ता प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ११ भगवतीपुरकी रुक्मिणीलाई पेट दुख्ने, वान्ता आउने लगायतका समस्याहरु देखिएर पेटको शल्यक्रिया गरेपछि बिहीवार मृत्यु भएको थियो। उनको मृत्यु भएलगत्तै आक्रोशित परिवारजनले चिकित्सकहरुको लापर्बाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका छन्।

यता अस्पताल प्रशासनले उपचारमा कुनै किसिमको लापर्बाही नगरिएको स्पष्ट गरिसकेको छ।

पीडित पक्षले भने जनकपुर युवा विकास समितिका अध्यक्ष जितेन्द्र पासवानको नेतृत्वमा संघर्ष समिति समेत गठन गरेको छ। समितिले ६ बुँदे मागसहित आन्दोलन शुरु गरेको छ। समितिले मृतकको परिवारका बालबच्चालाई पालनपोषणको जिम्मा लिनुपर्ने, चिकित्सकको लाइसेन्स खारेज हुनुपर्ने, अस्पताल सञ्चालकमाथि कारबाही हुनुपर्ने, अंगभंग र घाइते भएकाहरुको उपचार खर्च तिर्नुपर्ने लगायतका मागहरु अगाडि सारेको छ।

अस्पतालले निकाल्यो विज्ञप्ति

नवजीवन अस्पताल प्रालिले उपचारको लागि भर्ना भएकी रुक्मिणी सदालाई चिकित्सकहरुको प्रयासका बाबजुद बचाउन नसकिएको बताएको छ।

अस्पतालले एक विज्ञप्तिमार्फत मृतक सदाप्रति हार्दिक समवेदना प्रकट गर्दै चिकित्सकको अन्तिम समयसम्मको प्रयास विफल भएको बताएको छ।

विज्ञप्तिमा घटनाक्रमको विश्लेषण गर्दै लेखिएको छ, ‘बिरामी २५ साउनमा तीन/चार दिनदेखि पेट फुल्ने, दिशा नहुने तथा बान्ता हुने जस्ता समस्या लिएर यस अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी थिइन्। उनलाई सर्जरी विभागका वरिष्ठ सर्जन तथा जानकी मेडिकल कलेजका पूर्व मेसु डा सञ्जय चौधरीको निगरानीमा उपचार गरिएको थियो। विभिन्न जाँचहरुको क्रममा बिरामीको आन्द्रा बटारिएको कारणले यस्ता समस्या देखा परेको थियो।’

उपचारको क्रममा ७२ घण्टासम्म पनि केही सुधार नभएपछि बिरामी पक्षका अभिभावकहरुलाई बिरामीको अवस्था बताएर शल्यक्रिया गर्नुपर्ने जानकारी गराएको अस्पतालले स्पष्ट पारेको छ। बिरामीको अवस्था तथा शल्यक्रिया पछिको हुन सक्ने बिरामीको अवस्थाको बारेमा पनि जानकारी गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सल्यक्रियाको क्रममा बिरामीको ठूलो आन्द्रा पित्तथैली मुनी टाँसिएको र खुम्चिएको तथा सानो आन्द्रा विभिन्न ठाउँहरुमा टाँसिएको कुरा बिरामी पक्षका अभिभावकहरुलाई जानकारी गराई करिब ४ घण्टाको शल्यक्रिया पश्चात बिरामीलाई पोस्ट अप वार्डमा सारियो र करिब २० घण्टा पछि उपचारको क्रममा बिरामीको मृत्यु भएको सबैमा जानकारी गराउन चाहान्छौँ।’

नवजीवन अस्पताल जनकपुरका प्रशासन शाखा प्रमुख अखिलेश कुमार साहद्वारा जारी विज्ञप्ति अनुसार बिरामीको आफन्तकै आग्रहमा आवश्यक कागजी प्रक्रिया पूरा गरी शल्यक्रिया गरिएको थियो।

त्यसपछिको स्थिति समेत परिवारजनलाई अस्पतालले निरन्तर जानकारी गराएको बताइएको छ।

‘पहिलेदेखि नै सिकिस्त रहेको बिरामीको उपचारको क्रममा उनको ब्लड प्रेसर घटिरहेको कुरा परिवारजनलाई जानकारी गरायौं। र, उपचारको क्रममा बिरामीको मृत्यु भएपश्चात केहि युवाहरुले अस्पतालमा आई तोडफोड समेत गरेको तथा उनीहरुले विभिन्न किसिमको धाकधम्की दिँदै आएको अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell