PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

‘अंशकै लागि आमा बेपत्ता पारे, त्यसपछि हत्या गरे,’ न्याय खोज्दै जेठीपट्टीका दिदीबहिनी



सुमित मिश्र

‘अंशकै लागि आमा बेपत्ता पारे, त्यसपछि हत्या गरे,’ न्याय खोज्दै जेठीपट्टीका दिदीबहिनी

जनकपुरधाम : सर्लाहीका सविताकुमारी यादव र आशाकुमारी यादव अहिले आफ्नी आमालाई न्याय दिलाउन संघर्ष गरिरहेका छन्।

सविता र आशा जनकपुरधाममै रहेको बेला आमा कौशिला देवी अपहरणमा परिन्।  गत फागुन २९ गते अपहरणमा परेकी कौशिलाको शव भारतको बिहार राज्यको मलाही भन्ने स्थानमा फेला परेको थियो।

कौशिलालाई माइतीबाट १ बिघा २५ धुर जग्गा दिइएको थियो। सोही जग्गाका लागि आमाको ‘हत्या’ भएको सविता र आशाको दाबी छ। त्यसैले न्याय खोज्दै सविताले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समेत जाहेरी दिइसकेकी छिन्। आमाको हत्यारालाई कानूनी दायरामा ल्याइयोस् भन्दै विभिन्न निकायको ढोका ढक्ढकाउँदै छन्।

न्यायका लागि संघर्ष गरिरहेकी हरिपूर्वा नगरपालिका वडा नम्बर २ की २८ वर्षीया सविता र २२ वर्षीया आशा अहिले भने आफ्नै घरबाट पलायन हुन बाध्य बनेका छिन्। हाल उनीहरु जनकपुरधाममा बस्दै छन्।

कसरी बेघर भइन दिदीबहिनी?

कौशिला देवी र नागो रायबाट पहिलो सन्तानको रुपमा सवितालाई पाए। दोस्रो सन्तानको रुपमा आशा। त्यसपछि जन्मेका दुई छोराको मृत्यु भयो।

नागोले छोरा पाउने आशमा महोत्तरी श्रीपुर कविलाशाकी मनपुरणी देवीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याए। कान्छी श्रीमतीबाट नागोले दुई छोरा र दुई छोरी पाए। त्यसपछि दुःखका दिन शुरु भएको बताउँछिन् सविता।

भनिन्, ‘हामी पढ्नेलेख्ने भईसकेका थियौँ, आमाले हामीलाई पढाउन चाहन्थे तर बुवा हामीलाई पढाउने पक्षमा थिएनन्।’

बुवा नागो आफूहरुको पढाईलेखाईका लागि खर्च दिन तयार नभएपछि आमाले छोरीहरुलाई पढाउनुपर्छ भन्दै आफ्नो अंशवण्डाका लागि जिल्ला अदालत सर्लाहीमा मुद्दा हालिन्।

‘बुवाको ७ बिघा जग्गामा पनि अंश हुन्छ भन्दै मुद्दा चलिरहेको थियो,’ आशाको भनाई छ।

आमाले अंश त पाइनन् बरु घरबाटै बहिष्कृत हुनुपर्‍यो।

आशाले भनिन्, ‘आमालाई बुवाले घरबाट निकालेपछि आमासंगै जनकपुरधाममा बस्न थाल्यौँ। मुद्दा ७ वर्षदेखि चलिरहेको छ। छिनोफानो हुनेवाला नै थियो। लकडाउनले अदालतको फैसला आउन सकेको छैन।’

सविताको बुवा नागोलाई फोक्सोको क्यान्सर थियो। आफ्नो अन्तिम समय आएको भन्दै बुवाले आफूहरुलाई घरमै बस्न आग्रह गरको सविता बताउँछिन्।  बुवा आफै आएर घर जान आग्रह गरेपछि उनीहरुले अस्वीकार गर्न सकेनन्।

भनिन्, 'आमासहित हामी घर गएको ७ महिनापछि गत भदौमा बुवा बित्नु भयो। बुवा बितेदेखि नै कान्छी आमाले हामीलाई प्रताडित गर्ने कुनै मौका छोड्दैन थिइन्।’

कौशिला सर्लाही हरिपूर्वामा रहेको घरमै बसिन्। सविता र आशा भने पढाईका लागि जनकपुरधाम फर्किए।

एक दिन सविताले आमाको मोबाइलमा फोन लगाइन्। तर फोन उठेन । पूरै दिन फोन नउठेपछि सविता हरिपूर्वा पुगिन्। घर पुगेर आमा कहाँ गइन् भनेर सोध्दा कान्छी आमाले 'आफूहरुलाई थाहा छैन, चाबी चप्पल यतै छ' भनेर जवाफ फर्काएको उनको भनाइ छ।

नभन्दै त्यसको दुई दिनपछि आफ्नो आमाको शव भारत विहारको मलाही भन्ने स्थानमा भेटिएको उनी बताउँछिन्। त्यसको केही दिन नबित्दै विभिन्न ठाउँबाट आमाको जस्तै तिमीहरुको हत्या हुन्छ भन्दै धम्की आउन थालेको उनीहरुको दाबी छ। त्यसपछि सुरक्षित महसुस नहुँदा उनीहरु आफ्नै घरबाट पलायन भएर जनकपुरमा बस्दै आएका छन्।

प्रशासन मौन

सविताको आरोप छ, ‘आमाको हत्या कान्छी आमालगायत गाउँकै काकाहरु मिलेर गरेका छन्।’

त्यसैले उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कान्छी आमा मनपुरणी देवीसहित केही व्यक्तिबिरुद्ध जाहेरी दर्ता गराई सकेकी छिन्। तर अपराधीहरु अहिले पनि खुलेआम घुमिरहेको र आफूहरुको हत्या पनि गरिदिने धम्की आईरहेको सविताको दाबी छ।

त्यसै कारण ज्यान जोगाउनकै लागि अहिले जनकपुरधाममा नै बसिरहेको उनीहरुको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले यो अनुसन्धानको विषय भएको बताए। पोखरेलले भने, ‘हामी दुई दिनमा दोषीलाई समातौँ वा २० वर्षपछि यो हाम्रो अनुसन्धानको विषय हो। कसैले भनेकै आधारमा हामीले कसैलाई उठाएर ल्याउने विषय होइन यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell