PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

उपचार नपाउँदा जनकपुरमा एक जनाको मृत्यु, बुवाको बिलौना, 'छोराको डायलिसस् गर्न डाक्टरको खुट्टै ढोग्यौं'



सुमित मिश्र

उपचार नपाउँदा जनकपुरमा एक जनाको मृत्यु, बुवाको बिलौना, 'छोराको डायलिसस् गर्न डाक्टरको खुट्टै ढोग्यौं'

जनकपुरधाम : जनकपुरको प्रादेशिक अस्पतालमा उपचार नपाएर थप एक जनाको मृत्यु भएको छ। मिर्गौलाको समस्या भएका धनुषाको सबैला नगरपालिका वडा २ का ३२ वर्षीय प्रमोद महतोको अस्पतालमा डायलासिस हुन नसक्दा मृत्यु भएको हो।

मंगलवार दिउँसो एम्बुलेन्समा डायलासिस गराउन जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा चिकित्कले कोरानाको आशंका भन्दै उपचार गर्न नमान्दा उपचार नपाएर उनको मृत्यु भएको प्रमोदको बुवा जेगेन्द्र महतोले बताए।

प्रमोदलाई डायलासिस कक्षमा उपचारका लागि लाने प्रयास गर्दा अस्पतालका सुरक्षागार्ड तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमण हुन सक्ने भन्दै बिरामीको अवस्था देखेर उनलाई भित्र छिर्न नदिएको प्रमोदको बुवा जेगेन्द्रले आरोप लगाए। उनले त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई पटकपटक उपचारका लागि बिन्ती गरे पनि उपचार नगरेको आरोप लगाए।

प्रमोदको बुवा जेगेन्द्रले भने, ‘सिकिस्त भएका छोराको अवस्था जटिल हुँदै गएपछि छिटो डायलासिस गर्नुपर्ने भन्दै डाक्टरसमक्ष पटकपटक गुहार गरेपनि नसुनेपछि गाउँका ठूलाबडा नेतालाई समेत फोन गरेर डाक्टरलाई उपचार गर्न भनाउँदा समेत डाक्टर तथा स्वास्थ्यकर्मीले भर्ना लिन मानेका थिएनन्। अन्त्यमा उपचार हुन नसक्दा छोरै गुमाए।’

आफूहरुलाई गेटबाट भित्र पस्नै नदिएको उनले बताए। जोगेन्द्रले भने, ‘धेरैबेर हुन लागेपछि छोराको अवस्था झन बिग्रिदै गयो। उसको जिउ फुलेर एकदमै मोटो देखिन थाल्यो र पटक पटक बान्ता आउन थाल्यो। डाक्टरको खुट्टासमेत ढोग्यौ तर डायलासिस गर्न कसैले मानेनन्।’

करिब एक वर्ष पहिले काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पतालमा चेकजाँच गराउँदा प्रमोदको मिर्गौलामा समस्या देखिएको थियो। मिर्गौलामा समस्या देखिएपछि उनी उपचार र औषधी सेवन गरिरहेका थिए। निरन्तरको उपचार र औषधी सेवनले प्रमोदको स्वास्थ्य अवस्थामा केहि सुधार भएको थियो। डाक्टरले अझै केहिदिन डायलासिस गर्नुपर्छ भनेका थिए। तर प्रादेशिक अस्पतालमा आउँदा उनको डायलासिस हुन नसक्दा बुधबार मृत्यु भएको हो।

मंगलबार प्रादेशिक अस्पतालमा उपचार गर्न नमानेपछि घर फर्केका उनका बुवाआमा बुधवार दिउँसो करिब २ बजे प्रमोदको उपचारका लागि उनलाई एम्बुलेन्समा राखेर धरान लगिदै गर्दा बाटोमै मृत्यु भएको उनको बुवाले बताए।

यता प्रादेशिक अस्पताल जनकपुरले एक विज्ञप्ती जारी गर्दै यसमा आफुहरुको कुनै कमजारी नरहेको जनाएको छ। अस्पताल प्रशासनले मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा आएपनि विना कुनै कगजातसहित आएकोले जाँच गरेर विभिन्नि जाँच गराउन भन्दा अस्पताललाई विना कुनै जानकारी विरामीलाई अन्यत्र लगेको विज्ञप्तीमा जनाएको छ। प्रमोद काठमाडौँस्ति एक बैंकमा कार्यरत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell