PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खल्लो बनेको तीजमा सदाबहार गीत 'तीजको रहर आयो बरिलै...' को सम्झना



स्वेच्छा राउत

खल्लो बनेको तीजमा सदाबहार गीत 'तीजको रहर आयो बरिलै...' को सम्झना

काठमाडौँ : विश्वव्यापी बनेको कोरोना भाइरसका कारण यसपालाको तीज खल्लो बनेको छ। एक किसिमको सांगीतक पर्व नै हो तीज। तीज भन्नासाथ धेरै गुञ्जिएको गीत 'तीजको रहर आयो बरिलै..' नसम्झने को होला?

कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले छुट्टै आनन्द पाउँथिन्। त्यो समय उनलाई तीज खुब रमाइलो लाग्थ्यो। बाल कलाकार बनेर नेपाली रङ्गमञ्च छिरेकी उनले 'कन्यादान' फिल्ममा पनि काम गर्ने अवसर पाइन्। 

फिल्ममा एउटा तीजको गीत थियो, तीजको रहर आयो बरिलै। गीतमा बसुन्धरा भुसाल पनि नाचिन्। गीत सार्वजनिक भएदेखि उनको तीज खुब विशेष बन्यो। मन्दिर पूजा गर्न जाँदा उनलाई दर्शकहरुले घेर्न थाले। तीजको रहर आयो बरिलै बोलको गीतमा उनीसँगै नाच्न थाले। 


​'कन्यादान फिल्मको त्यो गीत हिट भएपछि त तीजको दिन पशुपतीमा लाइन बस्नै परेन।' दर्शकहरुले आफ्नो लाइनमा राखेर दर्शन गराएको उनले खुशी हुँदै सुनाइन्। 

गीत सुपरहिट भयो र सदाबहार पनि। 

​बसुन्धरा भुसाललाई लाग्छ, नेपाली समाजका विवाहित महिलाको मन बोल्ने शब्दकै कारण गीत चल्यो। मौलिकतामा मिठास मिसिएकोले गीत लोकप्रिय बन्यो। धेरै वर्षसम्म तीजमा त्यही गीतले नेपाली नारी नचायो र आज पनि नचाइरहेछ। परार यसको रिमिक्ससमेत बन्यो। त्यसमा पनि भुषाल छुटिनन्। गीत लेख्ने, गीतमा संगीत भर्ने र गाउने भन्दा पनि गीतमा देखिनेको फ्यान धेरै भए। 


तीजको लहर आयो बरिलै त फिल्मको गीत थियो। विक्रम संवत् २०४४ सालमा पहिलो पटक हरिदेवी कोइरालाले तीज गीतको एल्बम निकालिन् जसमा नारी वेदना, दुःख, दिदी बहिनी माइती भेट्दाको खुशी व्यक्त भएको पाइन्थ्यो। धेरै वर्ष उनकै गीतले तीजमा नारीहरु नाचे गाए। आज पनि तीज गीत भन्ना साथ हरिदेवी कोइराला सम्झने धेरै छन्।

केही वर्ष यता सयौं तीज गीत सार्वजनिक हुन्छन् जसले गर्दा कुन गीत कहिले आयो, कसले गायो याद हुन छोड्यो। त्यसैले हिट भएका गीत गाउने र गीतको भिडियोमा देखिएकाहरु मात्र चर्चामा आउँछन्। चर्चाकै लागि गाउने ट्रेन्ड बढिरहँदा चर्चाको लागि के गर्ने त? भन्ने प्रश्न पनि सँगसँगै आउँछ। 

अहिले तीज गीत सस्तो लोकप्रियताका लागि बन्न थालेको तर्क राख्छिन् गायिका टीका पुन मगर। अश्लील शब्द, द्विअर्थी भावका संवाद, राजनीतिलाई गाली, अश्लिलता झल्कने भिडियो- धेरै तीज गीतका ट्याग बनेको छ। 

पुन भन्छिन्,'सांस्कृतिक महत्व तीज गीतमा लोप हुँदैछ। नामनै बिकाउन मात्र अश्लील शब्द राखेर गाउन थाल्ने बढे।'

उनी तीज गीतमा मौलिकता नै खोज्छिन्। यो वर्ष उनले ल्याएका गीतहरु 'हो मेरो सारी', 'मेरो कानैको झुम्का हरायो', 'नाच्ने हो मज्जाले' आदि लोक भाकामा छन्। 

उनी आफ्नो तीज गीतमा सांस्कृतिक महत्वको आँच आउन नदिन शब्द चयन सोचेर गरेको बताउँछिन्। 

तीजको नाममा भड्किलोपना र अश्लीलता प्रस्तुत हुन थाले। माइती र चेलीको सम्बन्ध झल्काउनु तीज गीतको विशेषता हो। तर दोहोरीलाई पनि तीजको कोसेली भन्न थालेपछि पुरुषलाई पनि तीज लाग्न थालेको छ जसका कारण तीज गीतको मौलिक र सांस्कृतिक महत्व हराउँदैछ। 

लोक गीत गायिका देवी घर्ती पनि अश्लीलता र भड्किलोपन बढ्नुलाई कुरीति हो भन्छिन्। उनले यो साल २० भन्दा बढी तीज गीत गाइन्। सबैमा शब्द र मौलिकतालाई ध्यान दिएको बताउँछिन्। उनको एल्बम 'माइतीले नौगेडी लाइदिए', 'माइतीको देश' जस्ता गीतहरुमा तीजको विशेषतानै झल्किन्छ। 

देवीले भनिन्,'अहिले आएका गीतहरुको आलोचना हुनु स्वभाविक हो। आलोचना भएन भने सुधार्ने ठाउँ नि हुँदैन। यसमा सबैको ध्यान जान अति आवश्यक छ।'

तीज गीतकै नाममा गायिका ज्योति मगरको 'मुखमा हाल्छु म केरा काटेर', 'दर खाँदा नि रक्सी खाइन्छ' जस्ता गीत निकै अपाच्य सुनिन्छ। आधुनिकताको नाममा मौलिकता र सभ्यताको ख्याल नराखी गाइएका यस्ता गीतका भिडियो पनि भड्किलो छन्। तर ज्योति मगर भन्छिन्,'दर्शकले जे रुचाउँछन् त्यही प्रस्तुत गर्ने कलाकारको काम हो।'

ज्योतिले भने जस्तै कतै दर्शक, स्रोतालेनै अश्लिल र भड्किलो शब्द, भिडियो भएका गीतलाई बढी हाइप गरेको त होइन? 

तीजको तिनवटा गीत गाएर, उत्कृष्ट नवगायिकाको मनोनयनमा पनि परेकी गायिका तिर्सना बुढाथोकी तीज शब्दको प्रयोग हुनुलाई गलत भन्छिन्। पहिलोपोस्टसँगको कुराकानीमा भनिन्,'मलाई पर्सनल्ली हट गायिका भन्छन् तर तीज जस्तो सभ्यता, संस्कार जोडिएको कुरामा अश्लीलता मिसाउनुको म सँधै विरोध गर्छु।'

गीतसँगै भिडियोमा देखिने भड्किलोपनले तीजसँग जोडिएका परम्परागत र सांस्कृतिक महत्वहरुमा असर गरेको छ। गायक गायिका भन्छन्, यसमा भिडियो निर्देशकको पनि हात हुन्छ। 

नृत्य निर्देशक स्मृति तिमिल्सिना भन्छिन,'गीतले जस्तो माग्छ त्यस्तै प्रस्तुति दिने हो। द्वअर्थी गीतमा मौलीकता झल्काउ भन्नु मुर्ख सुनिन्छ।'

निर्देशक शंकर बिसीलाई पनि लाग्छ भिडियोलाई निर्देशक भन्दा पहिले गीतको शब्दले निर्देशन गर्छ। 

सामाजिक साथै सांस्कृतिक विशेषता बोकेको तीजलाई व्यवसाय गर्ने मौका बनाइएको अहिलेको तीज गीत सुन्दा र हेर्दा प्रष्ट हुन्छ। युट्युबमा भ्यु बढाउनु र सामाजिक संजालमा चर्चा कमाउनुनै धेरै सिजनल गायक गयिकाको उदेश्य रहेको जिकिर गर्छिन् गायिका अनिता चलाउने।

(तीजको सन्दर्भमा पुन: प्रकाशित। )



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell