ऋषि धमलाले दुर्गेश थापालाई स्वर साम्राट नारायण गोपालको गीत गाउन भने। दुर्गेशले भजन शिरोमणि भक्तराज आचार्यको – मुटु जलिरहेछ… सुनाए।
न ताल मिल्यो न सुर।
थाहा नहुनु र गाउन नजान्नु ठूलै गल्ती रहेछ भन्ने दुर्गेशले बुझे अन्तर्वार्ता सार्वजनिक भएपछि मात्र। अनि दुर्गेश ट्रोलको शिकार बने। जुन उनका लागि सह्य थिएन। तर, सहनुको विकल्प पनि थिएन। अन्तर्वार्ताको भिडियो मिम पेजको ब्यापार गर्ने विषय बन्यो। व्यक्तिगत खाताबाट भएको आलोचना सेयर हुँदै उनको फेसबुक टाइमलाइनसम्म घुमीफिरी आइरहन्थ्यो। दुर्गेश स्वयंको पोस्ट र भिडियोहरूमा जिस्काउन आउनेहरू पनि उत्तिकै बढ्न थाले।
‘कमजोरीमाथि प्रश्न उठ्छ भन्ने थाहा थियो तर त्यसरी प्रहार हुन्छ भन्ने सोचेको थिइनँ,’ दुर्गेश थापाले पहिलोपोस्टसँग भने, 'मैले गल्ती गरेको थिएँ तर गल्तीको सजाय मानसिक प्रहार हुन सक्दैन।'
उनले अन्तर्वार्तामा आएका नकारात्मक टिप्पणी, व्यङ्ग्य र गाली मात्र हेरेनन्। अग्रज कलाकारहरूले आफ्नो अन्तर्वार्तालाई लिएर जनाएको आलोचनात्मक प्रतिक्रिया समेत हेरे।
- उनको गायनमाथि गायक रामकृष्ण ढकालले भनेका थिए -दुर्गेशजीलाई त्यति थाहा नहुनु नौलो विषय होइन। तर, नजानेको विषयमाथि नबोलेको भए हुन्थ्यो।
- संगीतकार आलोक श्रीले भने :एउटा प्रश्नको जवाफ गलत दिनुभयो भन्दैमा उहाँ नराम्रो हो भन्न मिल्दैन। उहाँको आफ्नै स्रोता छन्।
- ‘संगीतको विधामा लाग्नु भएपछि आफ्ना अग्रजबारे ज्ञान राख्नुपर्छ। यही क्षेत्रमा बस्ने भएपछि केही अध्ययन चाहिँ गर्नु पर्छ,’ अञ्जु पन्तले सुझाव दिइन्।
‘उहाँहरूको कुरा सुनेपछि आफ्नो कमजोरीबारे प्रष्ट भएँ। मैले सिक्नुपर्ने धेरै छ भन्ने महसुस भयो,’ दुर्गेशले भने, ’तर, त्यसको मतलब मैले गरिरहेको काम चाहिँ खत्तमै हो त?’
आफैसँग प्रश्न गरेको बताउँछन् उनी। ‘आफ्नो काम केही मानिसले भने झै खत्तम हो भनेर स्वीकार्नु आफ्नो गीत मन पराएर रमाउने दर्शक स्रोताको अपमान गर्नु हो भन्ने महसुस गरेँ। त्यसैले राम्रो/नराम्रो दुबे प्रतिक्रियालाई तटस्थ रहेर हेरेँ। नयाँ गीतको तयारी गरेँ,’ उनले भने।
दुर्गेश अनुभवका कुराहरूलाई नै गीतमा उतार्न मन पराउँछन्। त्यसैले आफू ट्रोलको शिकार भएकै विषय उनको नयाँ गीतको ‘थिम’ बन्यो।
अन्तर्वार्ता सार्वजनिक हुनुअघि उनको प्रस्तुतिमा ताली बजाउनेहरूले खिल्ली उडाउन थालेका थिए। ती व्यङ्ग्यात्मक प्रतिक्रियाहरूमध्ये एक थियो – आलुजस्तो गायक। उक्त शब्दले उनलाई निकै दिन पिरोल्यो। त्यो पीरलाई कसरी ‘रिलिज’ गर्ने त?
पीरको त्यही कारणलाई गीतको शीर्षक बनाए। आम मानिसदेखि संगीत क्षेत्रमा सक्रियहरूले सोधेका, सुर न ताल कसरी गायक? कागजस्तो स्वर भएको नि गायक हुन्छ? लगायत प्रश्नहरूको जवाफ दिन चाहन्थे उनी। उनका भावना शब्दमा उतार्न सहयोग पुर्याए उनका दाजु एवं संगीतकर्मी वसन्त थापाले। गीतमा संगीत पनि वसन्त थापाकै छ।
गीतमा दुर्गेशले आफ्नो पारिवारिक पृष्ठभूमिका कारण संगीत सिक्न नपाएकोदेखि प्रकृतिलाई आफ्नो संगीत भएको समेत बताएका छन्। भनेका छन् : कहाँबाट सिक्नु मैले सुर ताल, नगर सवाल।
गीत रच्दै गर्दा गाउँमा बाजा बज्दा गाउँदै रमाउँदै हिँडेको सम्झिए। गोठालो जाँदा वनमा अनि खेतालो जाँदा खेतमा गुन्गुनाएको सम्झिए। रत्यौलीमा भाँडाकुडा ठटाएर रमाएको पनि सम्झिए। ती प्रसङ्ग पनि जोडे। साथै नारायण गोपालको गीत गाउन नआउँदैमा आफ्नो क्षमतामाथि नै प्रश्न गर्नेहरूका लागि जवाफ पनि जोडे : अरुलाई पच्छ्याउनु चलन चल्ती हो, उजस्तै नहुनु मेरै गल्ती हो।
‘मैले गीतमा आफ्नो भावना मात्र पोखिनँ, गल्ती र कमजोरी पनि स्वीकारेँ,’ उनले भने, 'आफ्नो शैली मर्न नदिइ गीत सार्वजनिक गरेँ।'
गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबमा नेपाल ट्रेन्डिङको नम्बर ४ मा आयो। ३ लाख ६५ हजारभन्दा बढी पटक हेरियो। गीतको भिडियोमा प्राय प्रतिक्रिया सतारात्मक छ।
‘म ट्रोलमा छाएपछि थोरै हच्किएको थिएँ। तर मेरो गीत सुन्ने बेग्लै जमात छ, उहाँहरूको लागि भए पनि मैले गाउनुपर्छ भन्ने भएको हो,’ उनले थप प्रष्ट्याए।
उसो त आफूलाई गायकभन्दा बढी ‘स्टेज प्रफर्मर’ भन्न रुचाउँछन् उनी। स्टेजबाट कोरसमा, कोरसबाट म्यूजिक भिडियोहरूको लिड मोडल भएका हुन् उनी। नाच्दानाच्दै गाउने रहर जाग्यो उनमा।
'रहरले गाउन लगायो। दर्शक/स्रोताले गायक बनाइ दिए,' उनले भने।
रहरै रहरले यस क्षेत्रमा लागेको भएर पनि अग्रज र आफ्नो विधा बाहेकका गीतबारे ज्ञान नभएको स्वीकार्छन् उनी। स्वीकारोक्तिसँगै अब संगीत सिक्नुपर्छ, यही क्षेत्रमा टिक्नुपर्छ भन्ने महसुस पनि गरेका छन्।
यसअघि उनले ‘बिच्च बिच्चमा ३’ सार्वजनिक गरेका थिए उनले। वसन्त थापाकै शब्द तथा संगीत रहेको गीत पनि विवादित बन्यो। उक्त गीत तीजको कोसेली भनेर सार्वजनिक गरिएता पनि गीतले सरकारलाई व्यङ्ग्य गरेको थियो। भ्रष्टाचार, विस्तारवाद, देशद्रोह, बलात्कारलगायत विषय विरुद्धको उक्त गीतमा सारी लगाउनु र सांसद सरिता गिरीमाथि प्रश्न गर्नु विवादको विषय बनेको थियो।
‘तीजको गीतमा वेदना गाइन्छ भन्ने विश्वास स्थापित थियो। हामीले प्राय नेपालीको वेदना गायौँ। गलत भन्नेले त्यो गीतलाई पनि गलत भने नि,’ दुर्गेशको गुनासो छ।
फरक विधाका गायक र गीतको फरक स्रोता हुन्छन् भन्ने उनको विश्वास हो। ‘र्यापकै स्रोतामध्ये पनि कसैलाई यमबुद्धको गीत सुन्न मन लाग्ला कसैलाई भिटेनको। प्रकाश सपुतको गीत सुन्नेलाई मेरो गीत मन नपर्ला। अब स्रोतालाई प्रश्न गर्ने त? मेरो गीत किन नसुनेको भन्दै?,' उनको प्रश्न छ।
‘आलुजस्तो गायक’ गाएर आफूलाई लागेको कुरा अभिव्यक्त गरेको बताउँछन् उनी। गीतको कूल खर्च नै करिव १० लाख गरेको उनको दावी छ।
२०६२ सालमा भारतीय सेनाबाट भागेर काठमाडौँ आएका हुन् उनी कलाकार बन्न। दाजु वसन्त थापा संगीत क्षेत्रमै संघर्ष गर्दै थिए। उनी पनि दाजुसँगै लागे। डान्स बारमा काम गरे। कोरसमा नाचे। ६ वर्ष त घर नै फर्केनन्।
पहिलोपटक वसन्त थापाको गीत 'हाम्ले माया गरेको जुनले मात्रै देख्छ' भन्ने गीतमा लिड मोडलका रुपमा 'ब्रेक' पाए। त्यसपछि त म्युजिक भिडियोहरुको अफरै अफर।
नाच्दानाच्दै आफ्नो गाउने रहर पूरा गर्न निकाले गीत 'मुद्दा हाल्दिन्छु...।' गीत हिट भयो। उक्त गीतको सफलताले स्टेज कार्यक्रम टन्नै दिलायो। उनी हौसिए। एकपछि अर्को गीत निकाले। चर्चा चुलिँदै गयो।
गत वर्ष निकालेको ‘बिच्च बिच्च’मा त भाइरल नै भयो।
आलोचना मिश्रित चर्चा कमाइ रहे।
‘आलोचना भएन भने त का जाँगर कसरी जोगाउने? अब आफूलाई परिस्कृत गर्दै अघि बढ्ने हो,’ उनले भने।