PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

कोरोना रोकथामबारे मुख्यमन्त्री राउत र काँग्रेस नेताहरुको सवालजवाफ, परीक्षणको दायरा बढाउन स्कुल अफ डेमोक्रेसीको माग



सुमित मिश्र

कोरोना रोकथामबारे मुख्यमन्त्री राउत र काँग्रेस नेताहरुको सवालजवाफ, परीक्षणको दायरा बढाउन स्कुल अफ डेमोक्रेसीको माग

जनकपुरधाम : नेपाली काँग्रेस एवं स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोस्न टिमले प्रदेश २ सरकारसँग कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ। शक्रवार नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोस्न टिमका सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकासमन्त्री नवलकिशोर साह र सचिवलाई भेटेर विभिन्न प्रश्नहरुको गर्दे कोरोना परीक्षणको दायार बढाउन माग गरेका हुन्।

‘कोरोना महामारीमा उपचार नपाएर प्रदेशका नागरिकहरु ज्यान गुमाइ रहेका छन्, महामारीको पाँच महिनाको अवधिमा प्रदेश सरकारले के कामहरु गर्‍यो ?,’नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता यादवको प्रश्न थियो मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री साहलाई।

‘कोरोनाकै बाहनामा अस्पतालहरुले बिरामी जाँच्न मानिरहेका छैनन्, यहाँसम्म कि तपाईंहरुकै मातहतमा रहेको प्रादेशिक अस्पतालमा बिरामीले उपचार पाउन छोडिसके, के हेरेर बस्नु भएको छ?’ यादवले अर्को प्रश्न गरे।

मुख्यमन्त्री राउतले कोरोना महामारी नियन्त्रण र रोकथामका साथै सर्वसाधारणलाई सहज तरिकाले उपचार उपलब्ध गराउन प्रदेशभित्र प्रशासनिक सुधारको आवश्यक्ता रहेको प्रष्टीकरण दिए। कोरोना नियन्त्रणको लागि आफूहरुले प्रयास गरेपनि कतिपय ठाउँमा त्रुटिहरु भएको उनले स्विकारे।

‘संक्रमण न्यूनीकरण गर्न स्वाब परीक्षण बढाउनतर्फ हामी लागि परेका छौं,  चाँडै प्रदेशको आठवटै जिल्लामा पीसीआर मेसिन जडान हुन्छ,’ राउतले भने। सुरुमा अन्यौलताका कारण मेसिन खरिद गर्न ढिलाइ भएको भन्दै राउतले अब त्यो अन्यौलता हटिसकेको र गुणस्तरीय मेसिन खरिद गर्न सामाजिक विकास मन्त्रालयलाइ निर्देशन दिएको मुख्यमन्त्री राउतले बताए।

कांग्रेस नेता जीवनाथ चौधरीले सोधे, ‘प्रदेश अस्त–व्यस्त भएजस्तो तपाईंलाई लागेको छैन?’ जवाफमा मुख्यमन्त्री राउतले भने,‘प्रदेश अस्त–व्यस्त भएको यसलाई म स्वीकार गर्छु। सुधारतर्फ हामी लागेको छौं।’

स्वास्थ्य विभाग नै माफिया तन्त्रबाट सञ्चालित भइरहेकोले आफूहरुलाई कोरोना महामारीमा काम गर्न समस्या भइरहेको मुख्यमन्त्री राउतको भनाइ थियो।

यस्तै मुख्यमन्त्री राउतले प्रदेशको अस्थाइ राजधानी जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालको मेसुको कार्य शैलीबाट आफू सन्तुष्ट नरहेको बताए। ‘उहाँको काम गर्ने शैली ठीक भएन, मैले पटक–पटक भनिसकेको छु, विकल्प खोज्ने बेला आएको छ,’ राउतले भने।

‘काम गर्ने मेसु नभएपछि कारबाही किन गर्नुहुन्न? तपाईंहरुकै अधिकार क्षेत्रभित्रको यो अस्पताल होइन र?,’ तरुण दल धनुषाका उपसभापति राकेशविक्रम साहले थपे,‘तपाईंहरुकै पार्टीको एकजना अध्यक्षको भाइ रहेकोले मेसुलाई कारबाही नगरी आमजनताको जीवनसँग खेलवाड गरि रहनु भएको छ।’

साहको प्रश्नमा सामाजिक विकासमन्त्रीले भने, ‘मैले हिजै फोन गरेर उहाँलाई विदामा बस्न भनिसकेको छु। अस्पतालमा अहिलेसम्म केही सुधार भएको छैन्? मान्न सकिन्न, विगतभन्दा अहिले सुधार त भएकै हो।’

अस्पतालहरुमा जनशक्ति नहुँदा समस्या खेप्नुपरेको उनले बताए।

‘जनशक्ति आपूर्ति गर्ने काम सरकारको र सरकारले नै गर्नु पर्दछ, बहाना बनाएर पन्छिने समय अहिले होइन्,’ टोलीका सहभागीहरुले मन्त्री साहलाई भने।

पाँच महिनाको अवधिमा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि के–कस्तो तयारी भएको छ भन्ने टोलीका सदस्यहरुको प्रश्नमा सामाजिक विकासमन्त्री साह मौन बसेका थिए।

तर, कोरोना संक्रमित र संक्रमण नरहेका बिमारीको उपचारका लागि सरकारले व्यवस्था गर्न लागेको मन्त्री साहले जानकारी गराए। ‘हामी जानकी मेडिकल कलेजसँग आजै सम्झौता गरिरहेका छौं,’ उनले भने,‘सम्झौता भइसकेपछि कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल र संक्रमण नरहेका अन्य बिरामीहरुको उपचार जानकी मेडिकल कलेजमा हुनेछ। सकभर आजै सम्झौता हुन्छ।’

मन्त्री साहको उत्तरपछि महामारीले प्रदेश नै आक्रान्त भइसकेको अवस्थामा पछिल्लो चार महिनादेखि सरकारले जानकी मेडिकल कलेजसँग किन सम्झौता नगरेको भन्दै टोलीका सदस्यहरुले आक्रोश व्यक्त गरेका थिए।

टोलीमा सहभागी तत्कालीन जनकपुर अञ्चल अस्पतालका मेसु एवं वरिष्ठ फिजिसियन डा.गौरांग मिश्रले प्रदेशमा कोरोना नियन्त्रण र रोकथाम गर्न जाँचको दायरा बढाउनुका साथै चाँडै नतिजा आउने गरी पीसीआर मेसिनको व्यवस्था गर्न सुझाव दिएका थिए।

‘गुणस्तरीय र न्यूनतम चार घण्टाभित्र नतिजा दिनसक्ने पीसीआर मेसिन जडान गर्न सकिए धेरै हदसम्म संक्रमण रोक्न सकिन्छ,’ डा.मिश्रले भने,‘पाँच दिनपछि नतिजा दिने हो भने मृत्युपछि बिरामी संक्रमित रहेको बुझ्न सकिन्छ।’ महामारीको बेला खरिद ऐन संशोधन गरेरै भएपनि तत्काल गुणस्तरीय र चाँडै नतिजा दिनसक्ने पीसीआर मेसिन खरिद गर्नुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री साहसँग भेट गर्न पुगेको टोलीमा नेपाली कांग्रेसका नगर सभापति मनोज साह, स्कुल अफ डेमोक्रेसीका निर्मल चौधरी, दीपक ठाकुर, शोभाकान्त पाण्डेय(गुड्डु) लगायतका व्यक्तिहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell