PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास, किटानी जाहेरी परे पनि समातिएनन् आरोपित



सुमित मिश्र

बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास, किटानी जाहेरी परे पनि समातिएनन् आरोपित
प्रतीकात्‍मक तस्विर

जनकपुरधामः महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि भएको बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास भएको छ। घटनाको एक महिना हुन लाग्दा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। पीडित परिवारले भने दुई जनाविरुद्ध किटानी जाहेरी नै दिएको छ।

घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले ढिलाइ गर्दा स्थानीय राजनीतिक दलका कार्यकर्ताको पहलमा घटना लेनदेनमा मिलाउने समेत प्रयास भइरहेको छ। पीडित परिवारलाई ६ लाख रुपैयाँ दिएर घटना मिलाउन भएको प्रयासबारे एक अडियो समेत बाहिरिएको छ।

साउन १० गते राति करिब ९ बजे महोत्तरीको रामगोपालपुर नगरपालिका कञ्चनपुरकी बोल्न नसक्ने ३५ वर्षीय महिला गाउँ नजिकै सामूहिक बलात्कारको सिकार भएकी थिइन्।

पीडित पक्षले महोत्तरीको औरही नगरपालिका–९ भवानीपुरका २६ वर्षीय जितु मण्डल र सोही उमेरका खुर्के मुखियाविरुद्ध किटानी जाहेरी दिएको छ। स्थानीय राजनारायण मण्डल घटनाकै प्रत्यक्षदर्शी भएको समेत बताइएको छ।

प्रत्यक्षदर्शी भनिएका मण्डलको दाबी छ, ‘उखु खेतमा महिला चिच्याएको सुनेर एक जना साइकलवाला हामीलाई भन्न आयो। पीडितका श्रीमानसँगै हामी केही घटनास्थलमा पुगेपछि उनीहरू भागे।’

बलात्कृत महिला तीन सन्तानकी आमा हुन्।

पीडितका पतिले किटानी जाहेरी दिँदा पनि आरोपित पक्राउ नपर्नु दुखद भएको बताए।

‘आर्थिक रूपमा हामी निकै कमजोर छौँ। दैनिक मजदुरी नगरे दुई छाक खाना पुग्दैन’,मण्डलले भने, ‘राजनीतिक दल र पैसाको आडमा घटनालाई ढाकछोप गर्न खाजिँदैछ।’

यता इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रमुख प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनास्थलबाट आरोपितले लगाएको कपडा र मोबाइल समेत बरामद भएको बताए।

‘६ लाखको बार्गेनिङ, आरोपित भारतमा’

घटना मिलाउन ६ लाखमा बार्गेनिङ भइरहेको टेलिफोन संवाद बाहिरिएको छ। उक्त संवादमा आरोपित दुवै भारतमा रहेको समेत भनिएको छ। संवादमा एक स्थानीय नेता तथा एक वडाध्यक्षका सहयोगी रहेका छन्।

 

बलात्कार जस्तो जघन्य अपराधको घटना मिलाउन स्थानीय जनप्रतिनिधिदेखि राजनीतिक दलका नेतासम्म लाग्नु सामाजिक अपराध रहेको ओरेक धनुषाकी संयोजक रोजलिङ सिंह बच्छारले बताइन्।

यता प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले विभिन्न कारणले आरोपित पक्राउ पर्न नसकेको बताए। खोजीमा टोली परिचालन भए पनि पक्राउ नसकिएको सिंहको भनाई छ। चाँडै कानुनी दायरामा ल्याउने उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell