PahiloPost

Nov 24, 2025 | ९ मंसिर २०८२

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाको अनुभव साट्न राष्ट्रिय परिसंवाद हुँदै



भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाको अनुभव साट्न राष्ट्रिय परिसंवाद हुँदै

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ। भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा संलग्न विभिन्न निकाय एवम् साझेदार संघसंस्था, विज्ञलगायत सरोकारवाला व्यक्तिलाई एउटै मञ्चमा ल्याएर परिसंवाद गर्न लागिएको हो। पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलता, उपलब्धि एवम् कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौँमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो।

परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्र क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवम् सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवम् सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुनेछन्।

कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन दर्ता प्रक्रियामार्फत् भाग लिन  सक्नेछन्। त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell