PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्वास्थ्यकर्मीलाई होस्टलमा आश्रय दिँदा 'समस्या' उब्जेको बानेश्वरको त्यो ‘अमानवीय’ घटना



स्वेच्छा राउत

स्वास्थ्यकर्मीलाई होस्टलमा आश्रय दिँदा 'समस्या' उब्जेको बानेश्वरको त्यो ‘अमानवीय’ घटना

शनिवार बिहान एक्कासी बानेश्वरको लर्डबुद्ध होस्टल बाहिर मानिसको ठूलै झुण्ड देखियो। होस्टलमा सिभिल अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मीहरू बसेको थाहा पाए पछि उनीहरू त्यहाँ पुगेका थिए। उनीहरूको माग थियो – ‘हाम्रो टोलमा स्वास्थ्यकर्मीहरू नराखियोस्। कोरोना भाइरसको संक्रमण फैलने जोखिम हुन्छ।’

त्यसरी आएका ३०/४० जना स्थानीयको नेतृत्व गरेका थिए, बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुदर्शन गौतमले। वडा कार्यालय वा टोल विकास समितिको अनुमति लिएर मात्र होस्टलमा स्वास्थ्यकर्मी राख्नु पर्ने उनीहरूको तर्क थियो।

टोलभरका मानिस उर्लिएर आउँदा होस्टल सञ्चालक रोहित राना मगर आत्तिए। प्रश्न र गाली गलौजबीच आफ्नो कुरा प्रष्ट्याउने मौका समेत पाएनन्।

उनले त यस आपतकालमा स्वास्थ्यकर्मीलाई राख्न आफ्नो ५ महिना यता बन्द होस्टल खोलिदिएका थिए।

निषेधाज्ञाका कारण टाढाबाट धाउने सिभिल अस्पतालका स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीलाई आवतजावत अप्ठ्यारो भयो। उनीहरूलाई राख्न अस्पताल प्रशासनले ठाउँ खोजिरहेको थाहा पाए पछि उनले आफ्नो होस्टल खोलेका हुन्।

पहिलोपोस्टसँगको कुराकानीमा रोहितले भने, ‘उहाँहरूको पनि समस्याको समाधान हुने। मलाई पनि व्यवसायिक हिसाबमा केही राहत हुन्छ भन्ने लागेको थियो। तर, स्थानीयका लागि त अस्पतालको कर्मचारी राखिनु नै जोखिमपूर्ण विषय रहेछ। विरोध गर्दै आइपुग्नु भयो।’

आफ्नो कुरा राख्न ठाउँ नपाएपछि विरोधका बीच फोटो तथा भिडियो खिचे। सामाजिक सञ्जालमा सेयर गरे। फोटो भिडियो भाइरल भयो। काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा पर्ने बानेश्वर, मिलनचोकका स्थानीयविरुद्ध आम मानिसले प्रश्न गरे। घटना अमानवीय र असभ्य भएको भन्दै टिका टिप्पणी भए।

 

जे भयो त्यसको आलोचना भयो। होस्टलमा बसेका सिभिल अस्पतालका स्वास्थ्यकर्मीले आत्तिँदै अस्पताल प्रशासनमा सम्पर्क गरे। आफूहरू बसेको होस्टल घेरिएको जानकारी गराए। अस्पतालबाट तत्काल अन्य कर्मचारी घटनास्थलमा पुगे।

‘हाम्रा स्वास्थ्यकर्मी होस्टल भित्रै भएकाले सुरक्षित हुनुहुन्थ्यो। स्थानीय मानिस उहाँहरू त्यहाँ राखिनुको विरोध जनाउँदै पुग्नु भएको रहेछ। दुर्व्यवहार केही भएको थिएन तर त्यसरी हुल हुम्मत गरेर जाँदा डाक्टरहरू आत्तिनु भयो’, सिभिल अस्पतालका प्रशासन प्रमुख रञ्जना नेपालले बताइन्।

स्थानीयबासीले आफ्नो टोलमा रहेको होस्टलमा डाक्टर, नर्स राख्न नदिनु अमानवीय भएको तर्क गर्छिन् रञ्जना। शारीरिक दुर्व्यवहार नभए पनि त्यस्तो हर्कतले मानसिक तनाव दिएको बताउँछिन् उनी।

स्वास्थ्यकर्मीहरूलाई घरबाट अस्पताल आवतजावत गर्न अप्ठ्यारो सिर्जना भएपछि अस्पतालले उनीहरूलाई नजिकै राख्ने तयारी थालेको थियो। तर, डाक्टर, नर्स वा अस्पतालका अन्य कर्मचारी राख्ने भने पछि कुनै पनि होस्टल वा होटल सञ्चालक सहजै राजी भएनन्। रोहितले भने स्वास्थ्यकर्मीका लागि भने पछि प्रस्ताव नकार्न सकेनन्।

‘किनकि म आफै ल्याब टेक्निसियन हुँ। स्वास्थ्यकर्मी भएको नाताले पनि यस विषम् परिस्थितिमा उहाँहरूले निर्वाह गरिराख्नु भएको भूमिका सँगै उहाँहरूको समस्या र आवश्यक सेवा सुविधाबारे नजरअन्दाज गर्न सकिँन’, रोहितले होस्टलमा डाक्टर नर्सलाई ठाउँ दिनुको कारण बताए।  

भदौ ३ गते अस्पताल र होस्टलबीच औपचारिक सम्झौता भयो। भदौ ४ गतेदेखि लर्ड बुद्ध ब्वाइज होस्टलमा बस्न थालेका हुन् अस्पतालका स्वास्थ्यकर्मीहरू।

शनिवार होस्टलबाहिर ठूलो संख्यामा मानिसहरू आएर कराइराख्दा आफूले भित्र रहेका स्वास्थ्यकर्मीले भोग्नु परेको तनाव र पीडा समानुभूत गरेको बताउँछन् रोहित। ‘दिनरात नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण बोक्ने माध्यम मानियो। चित्त मेरो होस्टल घेरिनुभन्दा बढी स्वास्थ्यकर्मी राखिनुको विरोध हुनाले दुख्यो’, उनले भने।

काठमाडौं वडा नम्बर ३१ का वडाध्यक्ष नारायण भण्डारी भने यसलाई सामान्य विषयको संज्ञा दिन्छन्। स्थानीयबासीहरूले त्यहाँ स्वास्थ्यकर्मी नभइ कोरोना संक्रमित राखिन लागेको बुझेका कारण होस्टल घेर्न गएको बताए। होस्टल बाहिर पुगेर प्रश्न गरे पनि कुनै किसिमको दुर्व्यवहार नभएको तर्क अघि सार्छन् भण्डारी।

‘होस्टल सञ्चालकले टोल सुधार समितिसँग अनुमति नमाग्नु समस्या बन्यो’, वडाध्यक्ष भन्छन्, ‘पछि उहाँले नै सामान्य विषयलाई अतिरञ्जित गर्नुभयो।’

आइतवार बिहान भने अस्पताल प्रशासनले कामपा वडा नं ३१ को कार्यालयमा पत्र पठायो। लगत्तै वडाध्यक्षले स्थानीयबासी, होस्टल सञ्चालक, अस्पतालको प्रशासकीय अधिकृत, प्रहरीलगायतको बैठक बोलाए।

सिर्जित समस्याको कारण ‘मिस कम्युनिकेसन’ भएको निस्कर्ष निकाले उनीहरूले। वडाध्यक्षले भने, ‘होस्टल सञ्चालकले बलभद्र टोल सुधार समितिका अध्यक्षलाई औपचारिक जानकारी नगराउँदा असमझदारी सिर्जना भएको रहेछ। समस्याको समाधान भयो। अब स्थानीयबासीले नै सेवामा खट्नु भएका स्वास्थ्यकर्मीलाई सहयोग पुर्‍याउने प्रतिवद्धता जनाउनु भएको छ।‘

अस्पतालकी प्रशासकीय अधिकृत रञ्जना नेपाल भने घटना सुन्दा सामान्य लागे पनि विषय जटिल भएको बताउँछिन्।

 भन्छिन्,’स्वास्थ्यकर्मी नभइ कोरोना संक्रमित नै राखेको भए पनि त्यसरी मानिस बसेको घर घेर्न जानु निन्दनीय छ। जे नहुनु पर्ने त्यही भयो। अब अवरोध हुँदैन भन्ने आशा छ।‘

दोषीले आत्मआलोचना गरेपछि असमझदारीको अन्त्य भयो। तर, घटनाले स्वास्थ्य सेवामा सक्रिय स्वास्थ्यकर्मीलाई निरुत्साहित पारेको र असुरक्षा महसुस गराएका उनले बताइन्।

सम्बन्धित संस्था, व्यक्ति र निकायबीचको बैठक पछि उक्त क्षेत्रमा त्यस्तो अमानवीय घटना नघट्ने बताएका छन्। सार्वजनिक संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय समुदाय र स्थानीय सरकारले महामारीको अवस्थामा स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग पुर्‍याउन तयार भएको र स्वास्थ्यकर्मीहरूको आवासलाई सुरक्षित र तनावरहित बनाउन प्रतिवद्ध रहेको जानकारी गराउँदछौं।’

होस्टल सञ्चालक रोहित राना मगर भने सन्देहमा छन्। उनीलाई धम्कीसहित गरिएको दुर्व्यवहारबारे वक्तव्यमा केही पनि लेखिएन। सोध्छन्, ‘हाल ममाथि टोल सुधार समितिमा जानकारी नदिइ स्वास्थ्यकर्मी राखेको दोष छ। घटनालाई अतिरञ्जित गरियो भनिएको छ। भोलि अस्पतालका कर्मचारी यहाँबाट निस्किए पछि पनि मैले त यहीं होस्टल चलाउनु पर्छ। त्यो वातावरण पो बन्ने हो कि होइन डर छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell