PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपालमा ४४ जिल्लाका कोभिड संक्रमितको मृत्यु, केन्द्र र प्रदेशको तथ्याङ्क किन बाझ्यो?



नेपालमा ४४ जिल्लाका कोभिड संक्रमितको मृत्यु, केन्द्र र प्रदेशको तथ्याङ्क किन बाझ्यो?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ। आइतवार मात्र मन्त्रालयले तीन जनाको मृत्यु कोभिड-१९ बाट भएको पुष्टि गर्‍यो।

मन्त्रालयको तथ्यांक १ सय ४९ भए पनि सम्बन्धित प्रदेशका मन्त्रालय र स्वास्थ्य निर्देशनालयको तथ्यांकले मृत्यु हुनेको संख्या १ सय ५४ पुगिसकेको छ।

'जिरो डेथ'को रणनीति लिएको भन्ने सरकारको फितलो व्यवस्थापनका कारण हिजो आज दैनिक कोभिड-१९ का संक्रमितको मृत्यु हुँदै गएको छ। मृत्यु भएका ८ जना भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा समावेश गरिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार साँझसम्म प्रदेश १ मा १७, प्रदेश २ मा ६४, वागमती प्रदेशमा ३१ जनाको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा ८, प्रदेश ५ मा १७, कर्णालीमा ४ र सुदुर पश्चिममा ८ जनाको मृत्यु भइसकेको छ।

प्रादेशिक तथ्यांक अनुसार यो विवरण भने मिल्दैन। प्रादेशिक विवरण अनुसार प्रदेश १ मा मृत्यु हुनेको संख्या १८ छ। जसमध्ये प्रदेशमा मृत्यु भएका ४ जना प्रदेश २ का नागरिक हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ मा मृत्यु हुनेको संख्या ६४ उल्लेख गरे पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले ६२ रहेको उल्लेख गरेको छ।

त्यस्तै, वागमती प्रदेशमा मृत्यु हुनेको संख्या ३१ छ। जसमध्ये काठमाडौंमा मृत्यु भएका चिनियाँ नागरिक पनि समावेश गरिएको छ।

गण्डकी प्रदेशले मृत्यु हुनेको संख्या सात रहेको उल्लेख गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा ८ रहेको छ। त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएकी म्याग्दीकी एक शिशुलाई प्रदेशले समावेश गरेको छैन। त्यस्तै गोरखाका एक जना आत्महत्याको प्रयास गरी उपचारका क्रममा मृत्यु भएका एक संक्रमितलाई प्रदेश र केन्द्र दुवैले समावेश गरेका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा प्रदेश ५ मा १७ जनाको मृत्यु भएको उल्लेख छ। तर, स्वास्थ्य निर्देशनालय बुटवलको तथ्यांकमा मृत्यु हुनेको संख्या २३ छ। मन्त्रालयको तथ्यांकमा समावेश नभएका मध्ये तीन जना आत्महत्या गरेका हुन्। त्यस्तै एक जना दाङको भारतमा मृत्यु भई नेपाल शव ल्याई स्वाब परीक्षण गरेका व्यक्तिलाई पनि प्रदेशले तथ्यांकमा राखेको छ। त्यस्तै आइतवार मृत्यु भएका रुपन्देहीका दुई जनालाई पनि स्वास्थ्य मन्त्रालयले सूचीमा राखेको छैन।

कर्णालीमा प्रदेशको तथ्यांक अनुसार ६ संक्रमितको मृत्यु भएको छ। दुई जना संक्रमितले आत्महत्या गरेका छन्।

त्यस्तै, प्रादेशिक विवरण अनुसार सुदुर पश्चिममा मृत्यु हुनेको संख्या १० पुगेको छ। दुई जना आत्महत्या गरेका संक्रमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समावेश गरेको छैन।

तथ्यांक मिल्दैन केन्द्र र प्रदेशको

केन्द्र र प्रदेशको मृत्यु र संक्रमितको तथ्यांक मिल्दैन। काठमाडौंमा संक्रमण पुष्टि भएका र यतै बसोवास गर्दै आएकालाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थायी बसोवासका आधारमा तथ्यांक राख्दा यस सम्बन्धी जानकारी प्रदेशले पाउने गरेका छैनन्।

प्रदेशमा उनीहरुको उपस्थिति नागरिकताको स्थायी ठेगानाका रुपमा भए पनि उनीहरुको उपस्थिति त्यहाँ नहुँदा तथ्यांक प्रदेशसम्म पुग्न सकेको छैन। र, मन्त्रालयको तथ्यांकमा प्रदेशको विवरण मेल खाएको छैन।

काठमाडौंमा मृत्यु भएका चारमध्ये दुई जनालाई प्रदेश २ ले आफ्नो तथ्यांकमा राखेको छैन। उनीहरु यतै बसोबास गर्दै आएका र काठमाडौंमै संक्रमण पुष्टि देखिएको कारण प्रदेशको तथ्यांकमा उनीहरु छुटेका छन्। त्यस्तै प्रदेश १ ले पनि आफ्नो प्रदेशभित्र मृत्युलाई समावेश गरेको छैन।

४४ जिल्लामा मृत्यु

प्रादेशिक तथ्यांक अनुसार हालसम्म ४४ जिल्लामा कोभिड-१९का संक्रमितको मृत्यु भइसकेको छ। प्रदेश १ को झापा मोरङ र सुनसरीमा संक्रमितको मृत्यु भएको छ।

प्रादेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा मोरङमा १२ जना र सुनसरीमा २ जनाको मृत्यु भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा झापामा पनि एक जनाको मृत्यु भएको पुष्टि गरे। जसलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयले समावेश गरेको छैन।

प्रदेश २ ले आइतवार साँझसम्म ६२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा प्रदेशका सबै जिल्लामा संक्रमितको मृत्यु भएको छ। जसमध्ये सबैभन्दा बढी पर्सामा २८ जनाको मृत्यु भएको उल्लेख छ।

त्यस्तै, धनुषामा ११ जनाको मृत्यु भएको तथ्यांकमा छ। बारामा ७, सप्तरीमा ५ तथा सिराहा, सर्लाही र रौतहटमा ३/३ र महोत्तरीमा १/१ जनाको मृत्यु भएको उल्लेख छ।

वागमती प्रदेशले जिल्लागत रुपमा मृत्यु भएका संक्रमितको विवरण आफ्नो सिच्योसन रिपोर्टमा उल्लेख गरेको छैन। पहिलोपोस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङलाई आधार मानेर राखेको तथ्यांकमा वागमतीमा ९ जिल्लामा संक्रमितको मृत्यु भएको छ। वागमतीका १३ जिल्लामध्ये नुवाकोट, सिन्धुली, रसुवा र रामेछाप जिल्लामा मृत्यु दर्ता भएका छैनन्।  

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ६ जिल्लामा कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ। बाग्लुङ म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा र गोरखाका संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

प्रदेश ५ को १२ जिल्ला मध्ये ११ जिल्लामा संक्रमितको मृत्यु भएको छ। प्रदेश ५ मा बाँके र रुपन्देहीका ४/४, अर्घाखाँची र गुल्मीका ३/३. दाङ र कपिलवस्तुका २/२ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै पाल्पा, प्युठान, बर्दिया, नवलपरासी पश्चिम र रोल्पाका १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय बुटवलको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, कर्णालीमा ६ जनाको मृत्यु भएकामा सुर्खेत, दैलेख र डोल्पामा संक्रमितको मृत्यु भएको छ।

सुदुरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ। जसमध्ये कैलाली अछाम बझाङ र बाजुराका रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell