PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

सेनाको निगरानीमा रहेको आइसोलेसनमा संक्रमितलाई जाँच्न पठाउँछन् स्विपर, बेथिति बाहिर ल्याउनेलाई ज्यानमार्ने धम्की



सुमित मिश्र

सेनाको निगरानीमा रहेको आइसोलेसनमा संक्रमितलाई जाँच्न पठाउँछन् स्विपर, बेथिति बाहिर ल्याउनेलाई ज्यानमार्ने धम्की

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित रहेको आइसोलेसन सेन्टरमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको एक भिडियो बाहिर आएको छ।

'एसियाकै सर्वोत्कृष्ट आइसोलेसन' भनी प्रदेश सरकारले प्रचारबाजी गर्दै आएकोमा आइसोलेसनमा स्विपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको भिडियो बाहिर आएपछि चौतर्फी आलोचना भइरहेको छ।

प्रदेश दुई सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको नगराइन नगरपालिकास्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा रहेको उक्त आइसोलेसनमा कोराना संक्रमित भइ ६ दिनदेखि रहेका एकजना सञ्चारकर्मीले आइसोलेसन सेन्टरको व्यवस्थापन पक्षले बिरामीको स्वास्थ्य परीक्षण गर्न स्विपरलाई भित्र पठाएको बताए।

उनले भने, ‘चिकित्सक डरले भित्र आउँदैनन्। बिरामीको स्वास्थ्य अवस्था बुझ्नुपरे त्यहाँ कार्यरत स्विपरलाई पीपीई लगाएर भित्र पठाइन्छ।’

संक्रमितहरुको स्वास्थ्य अवस्थासम्बन्धी जानकारी लिन आएका व्यक्ति कुनै स्वास्थ्यकर्मी नभई त्यहाँ कार्यरत स्विपर राजा मेस्तर रहेको स्विकार गरेको भिडियोमा देखिन्छ। ती सञ्चारकर्मीले भने, ‘पीपीई लगाएर भित्र आएको व्यक्ति कुनै स्वास्थ्यकर्मी होला भनेर हामीले ठानेका थियौं। ती व्यक्तिले थर्मल गनले पालैपालो सबैको टेम्प्रेचर जाँच्न थाल्यो अनि हामीले उसलाई सोध्यौं कि हाम्रो शरीरको टेम्प्रेचर कति छ? उ त अक्क न बक्क भयो। अनि अन्त्यमा आफै स्विकार गर्‍यो कि म यहाँको स्विपर छु।’ चिकित्सकहरु बाहिर बसेका छन्। डरले कोही भित्र आउन मानिरहेका छैनन्। उनीहरुले नै मलाई तपाईंहरुको शरिरको टेम्प्रेचर जाँच्न पठाएको कुरा उसले स्विकार गरेको उनले बताए।

चिकित्सकलाई देखावटी कारबाही

यता समाजिक संजालमा स्विपरले संक्रमितको जाँच गर्दै गरेको भिडियो बाहिरिएपछि उक्त आइसोलेसनमा रहेको स्वस्थ्यकर्मी  टिमलाइ कारवाही स्वरुप प्रादेशिक अस्पताल झिकाइएको छ। कोभिड १९ धनुषाका संयोजक डा. जामुन सिंहले एक विज्ञप्ती जारी गरी स्पष्टीकरण तथा छानविनका लागि आइसोलेसनको स्वस्थ्यकर्मी टिमलाई झिकाइएको र त्यहाँ नयाँ टिम काम गर्न लगाइएको जानकारी दिएका छन्। समाजिक सञ्जाल र समाचार माध्यममा जारी गरिएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा लापरवाही भएको समयमा काम गर्ने चिकित्सक टिमलाई झिकाएर स्पष्टीकरण तथा सत्थ तथ्य बुझ्ने काम भइरहेको र २४ घण्टा भित्र थप विवरण सार्वजानिक गर्ने समेत बताइएको छ। यद्यपि विज्ञप्ती जारी गरिएको ३६ घण्टा भन्दा बढी हुन लाग्दासमेत केही थप जानकारी गराइएको छैन।

सेनाको निगरानीमा रहेको आइसोलेसनमा संक्रमितलाई जाँच्न पठाउँछन् स्विपर, बेथिति बाहिर ल्याउनेलाई ज्यानमार्ने धम्की https://pahilopost.com/content/20200824170604.html

Posted by PahiloPost on Monday, August 24, 2020

विज्ञप्तीमा स्वस्थ्यकर्मीको टिम नै झिकाइएको दाबी गरिए पनि जामुन सिंहले नै टिमलाइ नझिकाइएको जानकारी दिएका छन्। जामुन सिंहले भने, ‘एक जना स्विपर, एक जना एचए (हेल्थ एसिसटेन्ट) र एक जना अन्य कर्मचारीलाइ त्यँहाबाट बोलाइ क्वारेन्टाइनमा राखिएको छ।’

बेथिति बाहिर ल्याउँदा ज्यान मार्ने धम्की

एसियाकै सर्वोत्कृष्ट आइसोलेसन भनी प्रदेश दुई सरकारले प्रचारबाजी गरेको धनुषाका आइसोलेसनभित्रको बेथिति बाहिर ल्याएपछि संचारकर्मीलाई ज्यान मार्ने धम्की दिइएको छ। धनुषाको नगराईन नगरपालिकाको गँगुलीस्थित नेपाली सेनाले निगरानी गर्दै आइरहेको आइसोलेसनमा रहेका एक सञ्चारकर्मीलाई सेनाले धम्की दिएको हो। आइसोलेसनभित्रको बेथिति समाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि सोही विषयलाई लिएर नेपाली सेनाका केही जवानहरुले स्वीपरमार्फत धम्की दिएको दृश्यसमेत बाहिरिएको हो।

सो आइसोलेसनको सरसफाईका लागि कार्यरत राजा मेस्तर भन्ने सफाई कर्मचारीमार्फत धम्की पठाइएको ती सञ्चारकर्मीले जानकारी दिएका छन्। उनले भने, ‘सफाई कर्मचारीले हामीलाई आइसोलेसनभित्रको कुरो बाहिर नल्याउन, बाहिर ल्याए सेनाले मार्ने धम्की दिएका छन्।’ सफाई कर्मचारी राजा मेस्तर सोमबार सफाईका लागि पुग्दा यी कुराहरु भनेको सो संचारकर्मीले बताए। 

संक्रमित संचारकर्मीलाई धम्की दिइएकोबारेमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई प्रश्न गर्दा उनले भने ‘धम्की दिने सेनालाई स्पष्टीकरण सोध्न कर्नेल साहेबलाई भनी सकेको छु, सेना दोषी ठहरिए कारबाही हुन्छ ढुक्क हुनुस्।’

यसअघि सफाई कर्मचारी संक्रमितहरुलाई चेकजाँच गर्न पुगेको दृश्य बाहिरिएपछि खुबै आलोचना भएको थियो। आलोचनापछि त्यहाँ रहेको चिकित्सकको टोली दुई दिन अगाडि परिवर्तन गरिएको उनले बताए।

यता कोभिड अस्पताल जनकपुरधामका संयोजक डा. जामुन सिंहले त्यहाँ दोषी पाइएका एक जना चिकित्सक, एक जना एसिसटेन्ट र एक जना स्वीपरलाई झिकाइएको जानकारी दिए। जबकि थर्मल गन लिएर संक्रमितलाई जाँच गर्न पुगेको सफाई कर्मचारी नै सोमवार पनि सफाईका लागि पुगेको बताइएको छ।

संक्रमित संचारकर्मीका अनुसार अब चिकित्सक नै संक्रमितहरुलाई चेकजाँच गर्न पुग्छन्। तर दुई दिनदेखि गंगुली आइसोलेसनमा रहेको थर्मल गन काम गर्न छोडिसकेको छ। उनले भने, ‘दुई दिनदेखि थर्मल गनमा ब्याट्री छैन। त्यसैले तापक्रम मापनसमेत दुई दिनदेखि भएको छैन।

यता यस विषयमा जानकारी लिन खोज्दा आइसोललेसनका संयोजक संतोष ठाकुरले आफू थर्मलगनमा ब्याट्री लगाउन आइतवार नै भनिसकेको जानकारी दिए। उनले भने, ‘थर्मल गनमा ब्याट्री लगाउन पैसासमेत दिइ सकेको थिएँ। तर त्यहाँ रहेका कर्मचारीहरुले ब्याट्री किन लगाएनन्। मलाई थाहा भएन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell