PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वारेन्टाइनमा बस्नु नपर्ने, विदेशमा अलपत्र परेकाको खर्च सरकारले व्यहोर्ने



पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु होटल क्वारेन्टाइनमा बस्नु नपर्ने, विदेशमा अलपत्र परेकाको खर्च सरकारले व्यहोर्ने

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नुनपर्ने बताएका छन्।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जानपाउने बताएका हुन्।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टाइनमा ७ दिन राख्ने निर्णय गरेको थियो।

‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने। त्यसका लागि नियमित उडानहरु खोल्ने तयारी भएको छ भदौ १६  बाट। कुन कुन देशहरु भन्ने भोली फाइनल सूची सार्वजनिक हुन्छ।’ उनले भने।

हाललाई मलेसिया, युएइ, दक्षिण कोरिया, जापान, हङकङ लगायतका देशबाट नेपालीहरुलाई फर्काइने सम्भावना रहेको छ।

स्वदेश फर्कन चाहने र पीसीआर परीक्षण गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ। त्यसमा उनीहरुले नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ। नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाएमा १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता सहित घर जान दिइने भट्टराईले बताए।

भट्टराईले पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने समेत बताए। यसरी पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले भने अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाई छ।

अर्को देशबाट आएर क्वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टाइनमा बस्न सकिने बताए।

भने, ‘७ रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ। यदि एक कोठामा २ जना बस्ने हो भने। सिंगल बस्ने हो भने १७ हजार ५ सय  हुन्छ। दिनको १५ सयको हाराहारीमा हुन्छ।’

यसरी आउनेहरुलाई राखिने होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्ने उनले बताए। होटलहरुमा बस्नेको लागि खुला ठाउँ, सफा कोठा, टिभी र वाई फाई, एट्याच बाथरुम, तातोपानी पिउने व्यवस्था र दिनको ४ पटक खाजा र खानाको व्यवस्था हुनुपर्ने भट्टराईले बताए।

त्यो भन्दा महंगोमा बस्छौँ भन्नेका लागि २५ सय र ४ हजार भन्दा बढीका होटलहरु समेत रहेको उनले बताए।

अलपत्र परेकाको खर्च सरकारले गर्ने

विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए।

भने, ‘मान्छेहरुले भन्छन् सरकारले खर्च व्यहोर्नुपर्छ भनेर। हो सरकारले व्यहोर्ने हो। तर कसका लागि भन्दा सक्दै नसक्नेका लागि। विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ। यहाँ आएर होटल क्वारेन्टाइनको खर्च पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ। त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कुटनीति नियोगसँग समन्वय गरेर लिष्ट फाइनल गर्छ।’

त्यस्तै कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने कम्पनीले नै टिकट र क्वारेन्टाइनबस्दा लाग्ने खर्च व्यहोर्नुपर्ने उनले बताए। पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार उद्धार गर्ने भट्टराईले स्पष्ट पारे।

एयरलाइन्सले खर्च व्यहोर्नुपर्ने

पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टाइन खर्च व्यहोर्नुपर्ने भट्टराईले बताए।

हाललाई खुल्ला गर्न लागिएको उडान नेपाल घुम्न आउने पर्यटकका लागि नभएको उनले बताए। अब संचालनमा आउने उडान विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारीहरुका लागि मात्रै भएको उनले बताए।

परिस्थिति अनुकुल भएपछि अन्य देशहरुको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell