PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने, जग्गा प्राप्ति सम्झौतामा हस्ताक्षर



ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने, जग्गा प्राप्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं : ओमानस्थित नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावास भएका देशमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम राजधानी मस्कटमा भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको हो।

ओमानका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद बिन नासिर बिन मोहम्मद अल बहेबी र नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत  शर्मिला पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौताअनुसार ओमानको कूटनीतिक हाताभित्र चार हजार १०० वर्गमिटर क्षेत्रफलको जग्गा २० वर्षलाई भाडामा लिइएको छ। उक्त अवधिपछि आपसी सहमतिमा सम्झौताको अवधि बढाइने जनाइएको छ। 

भवन निर्माणपछि खाडी क्षेत्रमा  रहेका करीब १५ लाख नेपालीको सुरक्षा तथा स्थायित्वमा योगदान दिने विश्वास लिइएको छ। यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास  ओमान हुने जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell