PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउनदेखि निरन्तर चलेका 'होम डेलिभरी' सेवामाथि प्रहरीको निगरानीः औषधिलाई छाडियो अन्य नियन्‍त्रणमा



स्वेच्छा राउत

लकडाउनदेखि निरन्तर चलेका 'होम डेलिभरी' सेवामाथि प्रहरीको निगरानीः औषधिलाई छाडियो अन्य नियन्‍त्रणमा

काठमाडौँः प्रहरीले उपत्यकामा अनलाइनमार्फत् सामान बेच्ने कम्पनीमाथि धरपकड गरेको छ। बिहीबार प्रहरीले उपत्यकाबाट सामान डेलिभरी गर्न हिँडेका ६३ जनालाई सवारी साधनसहित नियन्त्रणमा लिएको हो।

इ-कमर्स कम्पनीको कार्यालयमा नै पुगेर प्रहरीले सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको हो।

दिउँसो करिब साढे ३ बजे शंखमुलस्थित ‘सस्तोमेला’ को कार्यालयमै पुगेर प्रहरीले संस्थापक समिता ओझालाई नियन्त्रणमा लियो।

‘म दिउँसो कार्यालयमा काम गर्दै थिएँ। अचानक प्रहरी आएर आफूसँग हिँड्ने निर्देशन दिनुभयो। कारण सोध्दा निषेधाज्ञाको समयमा सामान बेच्न, डेलिभरी गराउन नपाउने बताउनुभयो’, समिताले भनिन्।

उनका अनुसार चैत ११ गते लकडाउन भएयता कम्पनीले कुनै पनि अवरोध बिना सामान ग्राहकको घरघर पुर्‍याउँदै आएको थियो। खाद्यान्न एवं अन्य दैनिक उपभोग्य बस्तु डेलिभरी गर्न कुनै पनि रोक नहुने बताइएको थियो।  

‘पर्मिट लिएरै काम गरेका थियौँ। अहिले पक्राउ गर्नुको कारण नियम उल्लङ्घन गरेको बताइएको छ’, उनी भन्छिन्,’प्रहरीले २ घण्टाअघि नियम परिवर्तन भएको बताए। परिवर्तन भएको नियमबारे जानकारी दिनु पर्दैन? कम्तिमा एक दिनअघि जानकारी दिए हामीले पनि त सेवा बन्द गर्थ्यौँ।'  

जिल्ला प्रशासन कार्यालयले साउन ३० गते देखि निषेधाज्ञा घोषणा गर्दै जारी गरेको विज्ञप्तिमा इ-कमर्स कम्पनीहरूले दिँदै आएको सेवा सम्बन्धी केही पनि उल्लेख गरेको छैन।

ग्यापु अनलाइनका संस्थापक ज्ञानेन्द्र खड्काले निषेध गरिएको क्रियाकलापहरूमा अनलाइन सामान बिक्री एवं डेलिभरी नभएको बताउँदै भने,’खाद्यान्न डेलिभरी रोक्नु भनेको अत्यावश्यक सेवामा रोक लगाउनु हो। ग्यास र पानीलाई मात्र अत्यावश्क मानेर हुँदैन। प्रहरीले यति बुझ्नुपर्थ्यो।'

ग्यापु अनलाइनका ५ जना डेलिभरी ब्वाइ प्रहरी नियन्त्रणमा भएको उनले जानकारी दिए।

तर, औषधिसम्बन्धी सेवालाई भने रोकिएको छैन। डेलिभरीमा खटिएका आफ्ना कर्मचारी पनि जाँचमा परेका तर प्रहरीले रोकावट नभएको अनलाइन फार्मेसी इजी केयरका संस्थापक सुप्रीत बाँस्कोटाले बताए। 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले घरघरमा हुने डेलिभरी निषेधाको सूचीमा पर्ने बताए। ’उहाँहरूले सामान डेलिभरी गरिरहेको थाहा पाएपछि नियन्त्रणमा लिएका हौँ’, राठौरले भने।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा नमानेका कारण ‘होम डेलिभरी’मा संलग्नहरूलाई पक्राउ गरेको बताए। भने,’हामीले जारी गरेको निषेधाज्ञामा होम डेलिभरी भन्ने शब्द नै छैन। उहाँहरूले निषेधाज्ञा मान्नु भएन।‘

निषेधाज्ञा सुरु भएको १२ औँ दिनमात्र प्रहरीले होम डेलिभरीमा खटिएका सवारी साधनलाई देख्नु अविश्वसनीय भएको बताउँछन् ग्यापुका निर्देशक।

उनले भने,’आज आएर निर्वाध चलेका निजी सवारीसाधन देखेका छैनौँ। फाट्टफुट्ट चलेका डेलिभरीका सवारीसाधन देख्यौँ भन्ने कुरा पत्याउन मुस्किल छ। हामीलाई कम्तिमा एकदिन अघि सूचना दिएको भए हुन्थ्यो।‘

'सस्तोडिल' कम्पनीका संस्थापक अमुन थापाले भनेका छन्,’इ-कमर्स कम्पनीका युवा व्यवसायीहरूले आफ्नो जीवन जोखिममा पारेर सेवा दिँदै आएका छन्। देशको हितका लागि। प्रहरीले जे गर्‍यो त्यो निन्दनीय छ। यसरी कुनै जानकारी बिना जथाभावी पक्राउ गर्न मिल्दैन।'

दिउँसो साढे ३ बजे पक्राउ परेका समिता लगायत बिगमार्टका केही कर्मचारी अझैसम्म तिनकुने प्रहरी चौकीमा छन्। हाल ५६ सवारी साधनसहित ५३ जना प्रहरीको नियन्त्रणमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell