PahiloPost

Nov 30, 2020 | १५ मंसिर २०७७

संक्रमणमुक्त उर्बिनको अस्पताल अनुभूति : त्यहाँको ओछ्यान न्यानो छैन



स्वेच्छा राउत

संक्रमणमुक्त उर्बिनको अस्पताल अनुभूति : त्यहाँको ओछ्यान न्यानो छैन

काठमाडौं : गत साउन २३ गते उर्बिन सापकोटालाई कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी पाटन अस्पतालमा उपचाररत् थिए। हाल उनी संक्रमण मुक्त भएका छन्। तेस्रो पटकको स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। रिपोर्ट आएकै राति अर्थात् बिहीवार उनी डिस्चार्ज भए।

उनको स्वास्थ्यमा केही सुधार भयो। तर, उनी त निमोनियाको दाग बोकेर फर्किएका छन्। त्यसैको असर हुनसक्छ छाती दुख्‍न छाडेको छैन। घाँटी खसखसाउँदो छ। ज्वरो चाहिँ छैन।

लक्षण देखिएका बिरामीको हकमा संक्रमण मुक्त हुनु भनेको स्वस्थ हुनु होइन रहेछ भन्ने बुझेका छन् उनले। त्यसैले आफ्नो शरीरमा देखिएका अन्य समस्याका लागि औषधी जारी राखेका छन्।

यो पनि  : पाटन अस्पतालमा छट्पटाइरहेका कोभिड-१९ संक्रमित उर्बिनको कथा

‘संक्रमण मुक्त भइयो। अब अरु स्वास्थ्य समस्यालाई बिस्तारै हराउन सक्छु भन्नेमा ढुक्क छु,’ उनले भने।

चिकित्सकले ‘स्वास्थ्यस्थितिमा सुधार हुन समय लाग्न सक्छ’ भनेकाले पनि उनी केही ढुक्क छन्।

+++

अस्पतालमा रहँदा स्वास्थ्य केही स्थिर भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जाल उर्बिनको समय कटाउने माध्यम बन्यो। समाचार पढे। साथीभाइहरूसँग च्याट गरे। तीमध्ये निकै कमलाई उनमा कोरोना संक्रमण देखिएको थाहा थियो।

एकदिन आफूले भोगिरहेको पीडा र चाडै ठीक हुने आशा व्यक्त गर्दै टिकटक बनाए। अस्पतालको शय्याबाटै। त्यसपछि भने मेसेज र फोन कल सम्हाल्नै सकेनन्।

@urbinsapkota

##Corona_virus सँग मेरो हरेक दिनको लडाइँ आफुले आफैलाई जन्माउँने संघर्ष गर्दै।यहाँको सेवा देखेर लाग्दैछ कोहि यो अस्पताल नआउँन् ##patan_hospital

♬ original sound - aryan28069232

‘आफूलाई माया गर्ने मानिस त कति रहेछन् कति। त्यो प्रेमले पनि आशावादी बनायो। झन् बलियो बन्ने हिम्मत दियो,’ उनले सुनाए।

शारीरिक पीडा, मानसिक तनावबीच आफैलाई भुलाउन मनोरञ्जनात्मक सामाग्रीहरूलाई निकै उपयोगी पाए उनले। समाचारहरूले भने केही अत्याएको सुनाए।

अस्पतालमा रहँदा र बाहिर निस्किँदा कस्तो व्यवहारको सामना गर्नुपर्ला? भन्ने डर थियो उनमा। अब त्यो डर हट्यो। भक्तपुरस्थित मानव सेवा आश्रममा भौतिक दूरी कायम गरी बसेका छन्। त्यहाँ आश्रितहरू उनीलाई परबाट हेर्छन्। हाल खबर सोध्छन्। मुस्कान साट्छन्। धेरैमा उनी फर्कनुको खुशी छ। उनीहरूलाई थाहा छैन उर्बिन कहाँबाट फर्किएका हुन्। बस् उनलाई आँखा अगाडि देख्दा फुरुङ्ग छन्।

+++

उर्बिन केही समय आराम गर्छन्। पुन: एक पटक कोरोना भाइरस परीक्षण गरेर मात्र नियमित क्रियाकलापमा फर्कने योजना बनाएका छन्।

पुराना दिनमा फर्कनुको अर्थ काम नपरी जहाँ पनि पुग्नु, बाहिरको खानु, जथाभावी छुनु भने नभएको बताउँछन् उनी। ‘दोस्रो जीवन पाएँ। अब झुक्किएर पनि आफूलाई हानी हुने काम गर्दिँन,’ उनले भने।

सबैलाई व्यवस्थित बन्न सुझाव छ उनको। अनावश्यक घरबाट ननिस्कन भन्छन्। काम परेर हिँड्नेहरूले केही समय ‘एक्लो’ बन्न सुझाउँछन्। कोभिड-१९ बाट आफू र आफ्नालाई जोगाउन सके बाचुन्जेल ‘एक्लो’ हुननपर्ने तर्क राख्छन्।

मास्क, सेनिटाइजर, पञ्जाजस्ता सामाग्रीको प्रयोगमा पनि जोड दिन पर्ने बताउँछन् उनी।

‘लक्षण र स्वास्थ्यमा खराबी नदेखिएका बिरामी हुन् भने चाहिँ अस्पतालभन्दा पनि घरमै बस्नु उचित हुन्छ,’ उनको अनुभूति बोल्यो, ‘अस्पतालको ओच्छ्यान न्यानो हुँदैन। त्यसैले सकेसम्म अस्पताल जानुपर्ने अवस्था नै ननिम्त्याउन पनि सतर्क रहनुस्।‘

+++

दुई वर्षअघि क्लिनिक बन्द गरेर काभ्रेपलाञ्चोकबाट काठमाडौं हान्निएका थिए उर्बिन, विदेश जाने योजना बुनेर। तर, मानव सेवा आश्रममा केही समय सेवा गरेपछि उनको मन दिन दु:खीहरूको सेवामै रमायो। कोरोना भाइरस संक्रमण फैलिएयता आश्रममा स्वयं सेवकहरू धेरै थिएनन्। उनको व्यस्तता बढ्यो। सबैतिर उनी लगायत केही साथी खट्दै आएका थिए। त्यसपछि घरमा आमाबुबासँग बिरलै कुराकानी हुन्थ्यो।

कोभिड संक्रमण भएको खबर पुगेपछि भने आमाबुबाले फोन गरिरहे। घर फर्कन आग्रह गरिरहे। स्पर्श र सान्त्वना बिनाको अस्पतालको शय्यामा छट्पटाइ रहँदा उर्बिनले पनि खुब सम्झिए आमाबुबालाई। ठीक भए पछि एक पटक भेट्न जान चाहन्छन्।

‘अवस्था केही सहज भएपछि भेट्न जान्छु। अनि फर्कन्छु। किनकि मेरो आवश्यकता आश्रममा बढी छ। आफूले केही दिन भोगेको पीडाले बुझायो - मैले आश्रित बुबाआमाहरूका लागि अझै धेरै गर्नु छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell