PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

लकडाउन तस्करको लागि मौका बन्दै, सीमामा प्रहरीकै पेस्तोल लुटेर राज चलाउँदै



सुमित मिश्र

लकडाउन तस्करको लागि मौका बन्दै, सीमामा प्रहरीकै पेस्तोल लुटेर राज चलाउँदै

जनकपुरधाम : लकडाउनमा सर्वसाधारणलाई घरबाट अत्यावश्यक कामको लागि पनि बाहिर जान कठिनाइ छ। प्रहरीले सडकमा निस्कनसाथ सोधपुछ गर्ने, चेतावनी दिनेदेखि ढाड सेकिने गरी लाठी चलाउँछ।

तर, यति कडाइमा पनि सीमा क्षेत्रमा भने तस्करकै राज चल्छ।

लकडाउनमा धनुषाका तस्करहरुको धन्दा फस्टिएको छ। कमाई चर्को छ। विशेषगरी ग्रामीण क्षेत्रहरुमा तस्करले ओसारपोसार गर्ने सरसामान छ्याप्छ्याप्ती बिक्री भइरहेका छन्। लकडाउनमा जिल्लाको पूर्वी क्षेत्र दुहवि, इनरुवा, महिनाथपुर, खजुरी, महुवा, मुखियापट्टी मुसहरनीया लगायतका सीमानाकाहरुबाट अत्याधिक मात्रामा तस्करी भइरहेको जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्र नै बताउँछन्।

‘हाम्रो कार्यालय अहिले बन्द जस्तै अवस्थामा छ। महामारीको डरले कर्मचारी फिल्डमा जान मान्दैनन्, गए पनि ज्यानकै बाजी खेलेर सीमा क्षेत्रमा जान्छन्, यस्तोमा तस्करहरुले झन् मौका पाएका छन्,’ कार्यालय प्रमुख मिश्रले भने, ‘हामीलाई स्रोतहरुले तस्करी भइरहेको जानकारी पनि गराएका छन्। तर, स्रोत साधनको अभाव र तस्करसँग भिड्ने जनशक्ति अभावले सीमा क्षेत्रमा जान डर लाग्ने गरेको छ।’ अहिले बढीजसो कपडा, हार्डवेयरका सामान, मटर, मरिच, मोबाइलका पार्ट पुर्जा र किरानाका सामानहरु तस्करी भइरहेको मिश्रले बताए। ‘हामी भन्सारका कर्मचारी गाउँ जाँदा तस्करहरुलाई केही डर पनि हुन्थ्यो,’ मिश्रले थपे, ‘तर, अहिले त खुलेआम छ।’

उनले अहिले कोभिड महामारीका कारण अधिकांश बेरोजगार भएको र तस्करहरुलाइ काम गराउने मान्छे खोज्न सजिलो र उनको जनशक्ति बलिया हुँदै गएको बताए। उनले केही ठाँउमा तस्करी रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले राम्रो भुमिका निर्वाह गरे पनि पूर्वी र दक्षिणी सीमावर्ती इलाकामा खासै तत्पर नरहेको बताए।

धनुषा जिल्लामा एउटा भन्सार कार्यालय र आठवटा छोटी भन्सार कार्यालयहरु रहेका छन्। जसमा १८ जनाले मात्रै काम गरिरहेको अवस्था छ। तस्करी नियन्त्रणमा खटिएका प्रहरीहरुकै मिलोमतोमा  लकडाउनको अवधिमा समेत तस्करहरु गाउँघरमा छिर्न पाइरहेको स्रोतको दाबी छ। स्रोतको अनुसार तस्करसँग सादा पोसाकमा खट्ने प्रहरीका घुमुवाहरु सेटिङ गरी समान ओसारपोसार गराउँछन्।

यता  प्रदेश २ सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी कृष्णभक्त ब्रमहचार्यले कोरोना महामारीपछि आफुहरुले सीमा नाकामा  कडाइ गरेको दाबी गर्छन्। उनले भने ‘नाकामा कडाइ गरेका छौ। तस्करहरु छिरेको खबर आए लगत्तै हाम्र टोलीले  उनीहरुलाइ समात्छन् र कारबाहीको प्रकृया अगाडि बढाउँछौ।’

धनुषाको सिमावर्ती क्षेत्रमा भैरहन्छ तस्कर र प्रहरीबिच झडप

धनुषको पुर्वि र दक्षिणि सिमावर्ती क्षेत्रमा प्रहरी तस्कर बिच प्रयः झडप भैरहन्छ। केही दिनअघि धनुषाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने मुखियापट्टी मुसहरनियास्थित नाकामा तस्कर र प्रहरीबीच झडप भयो। सो क्रममा तस्करले एक प्रहरीको पेस्तोल नै लुटेर फरार भएका थिए। तस्करहरुले गस्तीमा रहेका नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षकको चाइनिज पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली म्यागेजिन नै लुटेर फरार भएका थिए। यस्तै हिजो शनिवारमात्रै पुर्वी दक्षिणी सिमावर्ती क्षेत्र धनुषाको विदेह नगरपालिका २ दुहबीमा तस्कर र प्रहरबीच झडप भएको थियो। भारततर्फ मरिच तस्करी गर्न लागेको थाहा पाएपछि नियन्त्रणमा लिन गएका प्रहरी र तस्करबीच झडप भएको थियो।

नियन्त्रणमा लिन गएका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले १ राउण्ड हवाइ फायरसमेत गरेको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए।

राजश्व संकलन न्युन

मासिक ५ करोड रुपैंयाभन्दा बढी राजश्व संकलन गरिने धनुषाको छोटी भन्सार कार्यालय जटहीमा यस आर्थिक हालसम्म लगभग ३ करोड ८६ लाख जतिको राजस्व पैठारी जाँचपासबाट असुल भएको मिश्रले जनाएका छन्। उनले यो रकम अत्यन्तै कम भएकोसमेत जनाए। उनले यो आर्थिक वर्षमा ३५ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य रहेको उल्लेख गर्दै लकडाउनले चुनौति थपिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell