
जनकपुरधाम : धनुषा जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएपछि पुनः एक हप्ताका लागि निषेधाज्ञाको समयअवधि थपिएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि भदौ २१ गतेसम्मका लागि थप गरिएको जानकारी दिए।
प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको प्रजिअ भट्टराईले जानकारी दिए।
लकडाउनको अवधिमा व्यापारीले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने छन्। व्यापार व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानीटाइजरको अनिवार्य प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने तथा क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने प्रजिअ भट्टराईले स्पष्ट पारे।
प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कसपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ। प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
धनुषामा आइतवारसम्म १ हजार ४ सय ४७ जना संक्रमित भइसकेका छन् भने १२ जनाको मृत्युसमेत भइसकेको छ।