PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

पुजारी हत्याकाण्ड सेलाउन नपाउँदै रौतहटमा एक महिलाको हत्या



सुमित मिश्र

पुजारी हत्याकाण्ड सेलाउन नपाउँदै रौतहटमा एक महिलाको हत्या

जनकपुरधाम : रौतहटमा पुजारी हत्या तथा एक युवकको हत्या घटना सेलाउन नपाउँदै फेरि एक महिलाको हत्या गरिएको छ। जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ मा उखुबारीमा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको हो।

गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका सकल बैठाकी श्रीमती ४० वर्षिया मिन्त्री देवीको शव उखुबारीमा फालिएको अवस्थामा भेटिएको नगर प्रमुख श्याम यादवले जानकारी दिए। आइतबार दिउँसो २ बजे लक्ष्मीपुरमा रहेको उखुबारीमा केही स्थानीयहरु पुग्दा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नगर प्रमुख यादवले सो महिलालाई बलात्कार पछि हत्या गरिएको हुन सक्ने आशंका रहेको बताए। ‘घाँस काट्न गएको बखत केही व्यक्ति मिलेर सो महिलाको हत्या गरी उनको शव फालेको आशंका गरिएको छ,’ उनले भने, ‘उनको हात तथा खुट्टामा छिचोलेको दाग देखिएको छ, त्यसैले उनको बलात्कार पनि गरिएको हुन सक्छ।’

महिलाको शवलाई पोष्टमार्टमाका लागि सोमबार काठमाडौँ पठाइएको नगर प्रमुख यादवले बताए।

मृतक महिला श्रीमान र आफ्नो तीन छोरासंगै काठमाडौं बस्दै आएका छन्। देशमा लकडाउन लागेपछि उनी आफ्नो तीनै छोरासहित गाउँ फर्केका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell